Logo

हवाई टिकटमा भ्याट : ट्राभल व्यवसाय धराशायी हुने चिन्ता, पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने

हवाई टिकटमा भ्याट : ट्राभल व्यवसाय धराशायी हुने चिन्ता, पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने



काठमाडौं । हवाई टिकटमा भ्याट कार्यान्वयन भए ट्राभल व्यवसाय धराशायी हुने चिन्ता व्यवसायीमा बढेको छ । सरकारले हवाई टिकटमा बजेटमार्फत १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)को नीति लागू गरेसँगै व्यवसायीमा चिन्ता छाएको हो । सरकारले नयाँ बजेटमार्फत (साउन एक गतेदेखि) यो व्यवस्था लागु गरेको थियो । हाल भने हवाई टिकटमा भ्याट लगाउने निर्णयविरुद्ध नाट्टाले सर्वोच्चमा रिट दायर गरेपछि सर्वोच्चले तत्काल यसको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोहीअनुसार हवाई टिकटमा भ्याट केहिदिन कार्यान्वयन भएर रोकिएको अवस्थामा छ ।

laxmi

यता व्यवसायीहरु भने हवाई टिकटमा भ्याट कार्याव्यन भएमा यसै त महंगो नेपाली हवाई भाडा थप महंगो हुने र नेपालको पर्यटन व्यवसायमै असर पर्ने बताइरहेका छन् । हवाई टिकटमा थप १३ प्रतिशत भ्याट थपिँदा हवाई टिकट नै महंगो हुने हुँदा त्यसको असर नेपालको पर्यटन क्षेत्रमा पर्ने व्यवसायी बताउँछन् । हाल नेपालको हवाई भाडा विश्वकै महंगो हवाईभाडाभित्र पर्दछ र त्यसमाथि सरकारले भ्याट थपको व्यवस्था गरेपछि भाडा झन महंगिने ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टो)नेपालका पूर्व अध्यक्ष यम बहादुर खड्का बताउँछन् ।

सरकारले बजेटमार्फत ल्याएको यो व्यवस्थाले बजारमा के होला भन्ने प्रश्न उब्जिएको सोट्टो नेपालका पूर्व अध्यक्ष खड्का बताउँछन् । उनका अनुसार यदि विश्वका अन्य देशका लागू नभई नेपालमा मात्रै लागू भएको खण्डमा यसले धेरैजसो टिकटहरु विदेशबाटै काटिने र नेपालको ट्राभल व्यवसाय नै धराशायी हुने उनी बताउँछन् । हाल नेपालमा धेरैजसो टुर्स एन्ड ट्राभल कम्पनीहरुका विदेशमा पनि एजेन्ट छन् । यदि नेपालबाट हवाई टिकट काट्दा महंगो भएको अवस्थामा उनीहरुले आफ्नो विदेशमा भएका एजेन्टमार्फत टिकट कटाउने अवस्था सिर्जना हुने उनको भनाई छ । हाल यो अवस्थाको सिर्जना भइसकेको पनि उनले बताए । बिषयमा अझै पर्यटन व्यवसायी, वायुसेवा कम्पनी तथा स्वयं पर्यटकहरु नै अन्यौलग्रस्त अवस्थामा रहेको उनको भनाई छ ।

यता नेपाल उद्योग तथा व्यवसायी महासंघका महासचिव तथा गोचुली ट्राभलका संस्थापक भगिरथ सापकोटा भने सरकारले यसबारेमा पर्यटन व्यवसायीहरुसँग छलफल नै नगरी व्यवस्था लागू गरेको बताउँछन् । ‘भ्याट लागू गरिएको खण्डमा सबैभन्दा पहिलो र यो नियम लागू गर्नैपर्ने सम्बन्धित भनेका ट्राभल एजेन्सीहरु हुन्,’ उनले भने, ‘कम्तिमा यस क्षेत्रका व्यवसायीहरुसँग छलफल गरेर यसको फाईदा बेफाईदाका बारेमा बहस गर्नुपर्दथ्यो ।’ उनले पनि यो व्यवस्थाले पर्यटन क्षेत्रमा ठुलै हलचल ल्याउने बताए । विदेशी एयरलाइन्स र आन्तरिक एयरलान्सको टिकट महंगो भए यसैपनि विदेशी पर्यटक घट्ने उनको भनाई छ । आन्तरिक हवाई टिकट पनि महंगिए अब अत्यावश्यकबाहेक प्रायले हवाई सुविधा प्रयोग घटाउने अनुमान गरिएको उनको भनाई छ । यसले सरकारले नेपालमा धेरै पर्यटक भित्रयाउने भन्दै बनाएका योजनाको विपरित सन्देश जाने पनि व्यवसायी बताउँछन् ।

यस्तै नेपाल एशोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्सीज (नाट्टा) का अध्यक्ष रमेश थापा अब नेपालबाट विक्री हुने टुर प्याकेज महंगो हुने र सोहीअनुसार पर्यटन आगमन पनि घट्ने अवस्था आउन लागेको बताउँछन् । उनले सरकारले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नुको सट्टा उल्टै हवाई भाडामा भ्याट लगाएर झन निरुत्साहन गरेको बताए । ‘हवाई भाडा बढेपछि स्वतः पर्यटन आगमनमा गिरावट आउँछ,’ उनले भने, ‘यसले त झन पर्यटन प्रवद्र्धन भन्दा निरुत्साहनलाई जोड दियो ।’

यसरी सरकारले हवाई टिकटमा भ्याट लगाउँदा नेपालबाट विदेश जाने हवाई सेवाको पनि एकतर्फी भाडा महंगो हुने बुद्ध एयरका प्रवक्ता रुपेश जोशी बताउँछन् । सरकारको यो नीतिले नेपालको हवाई सेवा झन महंगो भएको उनको भनाई छ । नेपालको हवाई सेवा महंगो भएपछि आन्तरिक पर्यटन प्रवाहमा पनि गिरावट आउने उनी बताउँछन् । सरकारले एकाएक यससँग सम्बन्धित व्यवसायीहरुसँग समन्वय र छलफल नै नगरी हवाई सेवामा भ्याटको व्यवस्था लागू गरिदिँदा नेपालका टुर्स एन्ड ट्राभल कम्पनीहरुको व्यवसाय नै धरापमा परेको व्यवसायीहरु बताउँछन् ।

नेपालमा हवाई सेवा महंगो भएपछि नेपालबाट विदेश जाने नेपालीहरु र स्वयं विदेशीहरु ने विदेशका एजेन्टहरुमार्फत टिकट कटाउन बाध्य हुन्छन् । जसका कारण नेपालमा टुर्स प्याकेज बेचिरहेका कम्पनीहरुको व्यवसाय नै चौपट हुने अवस्था आउने सोट्टो नेपालका पूर्व अध्यक्ष यम बहादुर खड्का बताउँछन् । यसले नेपाली कम्पनीहरुको करिव ८० प्रतिशत व्यवसाय नै चौपट हुने उनको भनाई छ । मंगलबार नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाइएको लगायतका विषयमा परिसंघले ध्यानाकर्षण गराएको थियो । मन्त्री किरातीले नेपाल गन्तव्य महँगो भइरहेको अवस्थामा हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने विषयमा आफूले असहमति राखेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL