Logo

काठमाडौं महानगर गौरवका १० र स्वर्णिम २५ योजना सार्वजनिक, ५ अर्व ८० करोड बजेट खर्च गरिँदै

काठमाडौं महानगर गौरवका १० र स्वर्णिम २५ योजना सार्वजनिक, ५ अर्व ८० करोड बजेट खर्च गरिँदै



काठमाडौं । चालु आर्थिक बर्षमा काठमाडौँ महानगरपालिकाले १० वटा गौरवका योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ ।

laxmi

आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधार कार्यको प्राथमिकता गौरवका योजनामा समेटिएका छन् । यस्तै आम नागरिकको प्रत्यक्ष चासोका रुपमा रहेका निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा परेका योजनालाई स्वर्णिम योजनाका रुपमा राखिएको छ ।

गौरवका योजनाका लागि ३ अर्व ८० करोड रुपैयाँ र स्वर्णिम योजनाका लागि २ अर्व बजेट बिनियोजन गरिएको छ । नागरिकका दैनिक जीवन र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनको प्राथमिकीकरण गरेका हौँ, महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी भन्छन् , ‘कतिपय योजना निर्माण सम्पन्न भइसके पछि त्यसको मर्मत गरे मात्र पुग्छ । कतिपय योजनालाई निरन्तर चलाउनु पर्छ । यस्ता प्राथमिक योजनालाई पनि प्राथमिकीकरण गरेर कार्यान्वयनमा लैजान र नतिजालाई सूचकका आधारमा मापन गर्न सकिने प्रणालीका लागि योजना वर्गीकरण गरेका हौँ ।’

यी योजनाहरु १३ औँ नगर सभाको अधिवेशनमा विनियोजन वियेधकमा पेश भएका थिए । छलफलपछि सभाले योजना पारित गरेको हो । गौरवका योजना यी योजनाहरु आउँदो ३ बर्षभित्र सम्पन्न हुनेछन् ।

१. उज्यालो सहर, मेरो महानगर ३ बर्षभित्र सबै सडकमा बत्ती जडान गरिसक्ने लक्ष्यसहितको यस योजनाका लागि ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । यसमा १०० स्थानमा हाइमास्ट लाइट जडान गरिनेछ ।

२. महानगरले देख्छ सबै सडक, गल्ली जस्ता सार्वजनिक स्थानमा ३ बर्षभित्र सीसीटिभी क्यामरा जडान गरिसक्ने यस योजनाका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ ।

३. धुलोरहित सडक सबै सडक र पेटीहरुलाई धुलोरहित बनाउने यो योजनाको लक्ष्य हो । यसका लागि १ अर्व बजेट विनियोजन भएको छ ।

४. रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि ३ बर्षभित्रमा १० हजार व्यक्तिलाई रोजगारमूलक तालिम दिएर उनीहरुको सिप र क्षमता बढाउने, उनीहरुलाई आय आर्जन र रोजगारी सिर्जनामा आवद्ध गराउने यसको लक्ष्य हो । यस कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

५. मेरो रहर, सुन्दर र हरित सहर पार्क र आइल्याण्ड निर्माण तथा मर्मत गर्ने, हरियाली प्रवर्धनका लागि विरुवा रोप्ने यसअन्तर्गतका क्रियाकलाप हुनेछन् । यसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

६. संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन मूर्त अमूर्त कला, संस्कृति र सम्पदाको पुनर्जीवन र पर्यटन प्रवर्धनका लागि ३ बर्षसम्म विशेष कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि हरेक बर्ष ५० करोड रुपैयाँ खर्च गरिनेछ ।

७. सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा स्वास्थ्य क्लिनिकलाई स्वास्थ्य प्रवर्धन केन्द्र रुपमा रुपान्तरण तथा नभएका स्थानमा स्थापना गरेर महानगरबासीलाई सहज, सरल स्वास्थ्य सेवा प्रवाह गर्न यस योजनाअन्तर्गत कार्यक्रम सञ्चालन हुनेछन् । यसका लागि ३५ करोड रुपैयाँ विनियोजन भएको छ ।

८. सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनस्र्थापना जल सम्पदासँग जोडिएका महानगरभित्रका ढुङ्गेधारा, हिटी र पोखरी जस्ता ५० वटा सम्पदा पुनस्र्थापना हुनेछन् । यसका लागि २० करोड रुपैयाँ विनियोजन भएको छ ।

९) सुशासनका लागि अनलाइन सेवा महानगरको केन्द्रमा रहेका विभाग तथा वडाबाट प्रवाह हुने सेवालाई अनलाइन प्रणालीमा सुधार, विकास र विस्तार गरिनेछ । यस शीर्षकमा १५ करोड रुपैयाँ विनियोजन भएको छ ।

१०. गरि खाने शिक्षा, महानगरको इच्छा सामुदायिक विद्यालयको पूर्वाधार सुधार र गुणस्तरीय शिक्षा प्रवर्धन गर्न गरि खाने सिप तथा क्षमता विकास गर्ने खालको शैक्षिक क्रियाकलापका सञ्चालन हुनेछन् । यसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वर्णिम योजना २५ वटा स्वर्णिम योजनामध्ये सार्वजनिक निर्माण विभाग र सम्पदा तथा पर्यटन विभागले कार्यान्वयन गर्नु पर्ने ३/३ वटा योजना छन् । यससँगै सम्पदा तथा पर्यटन विभागले सामाजिक विकास विभागसँग संयुक्त रुपमा कार्यान्वयनमा ल्याउनु पर्ने एउटा योजना छ । स्वास्थ्य विभागसँग २ वटा आफैँ र एउटा महानगर प्रहरी बलसँगको सहकार्यमा कार्यान्वयन गर्नुपर्ने योजना छन् ।

यस्तै प्रशासन विभागले कार्यान्वयन गर्नु पर्ने २ वटा योजना छन् । शिक्षा, कृषि तथा पशुपंक्षी, कानुन तथा मानव अधिकार, सार्वजनिक निजी साझेदारी, राजस्व, वातावरण व्यवस्थापन, सहकारी, सामाजिक विकास, सहरी व्यवस्थापन विभाग र सहरी योजना आयोगले कार्यान्वयन गर्नु पर्ने १/१ वटा योजना छन् ।

१. सुन्दर विद्यालय परियोजना विद्यालयलाई कलात्मक, सुन्दर र हरियाली प्रवर्धन गर्नु यसअन्तर्गतका क्रियाकलाप हुन् । यस योजनाका लागि शिक्षा विभागअन्तर्गत ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । २) स्वच्छ भान्सा कार्यक्रम सहरी जीवनलाई स्वस्थ्यकर बनाउन भान्सा सुधार गर्नु यसको मुख्य क्रियाकलाप हो । व्यक्तिगत र संस्थागत भान्साहरुलाई स्वच्छ बनाएर खानेकुराबाटै निदानात्मक, प्रवर्धनात्मक र उपचारात्मक सेवा उपलब्ध गराइनेछ । स्वास्थ्य विभागले सञ्चालन गर्ने यस कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

३. खेलकुद पूर्वाधार परियोजना यो परियोजना सार्वजनिक निर्माण विभागले सञ्चालन गर्छ । खुल्ला चौर, गौचरणलगायत स्थानको पूर्वाधार सुधार गरेर खेल खेल्न योग्य स्थान बनाइनेछ । यस कार्यका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
४. एग्रो पुलिङ् परियोजना महानगरबासीलाई स्वस्थ्य, स्वच्छ तथा गुणस्तरीय खाद्यान्न, तरकारी र फलफुल उपयोग गर्न सघाउनु यस परियोजनाको मुख्य क्रियाकलाप हो । कृषि तथा पशुपंक्षी विभागले सञ्चालन गर्ने यस कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

५. पूर्वाधार एम्बुलेन्स महानगरभित्रका पूर्वाधारमा देखिएका समस्या तत्काल मर्मत सम्भार गर्न स्वचालित संयन्त्रको परिचालन यसको मुख्य काम हो । सार्वजनिक निर्माण विभागले सञ्चालन गर्ने यस कार्यक्रमका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL