Logo

काठमाडौंको फोहर नियमित उठेपनि पुनः अवरोधको सम्भावना, दुर्गन्ध रोक्न फोहर पुर्ने माटो नपाउँदा समस्या

काठमाडौंको फोहर नियमित उठेपनि पुनः अवरोधको सम्भावना, दुर्गन्ध रोक्न फोहर पुर्ने माटो नपाउँदा समस्या



काठमाडौं । पछिल्ला केहिदिनदेखि काठमाडौं उपत्यकाभरी फोहर थुप्रिएको थियो । सामान्यतया बर्षाको मौसममा बाटो विग्रने, डम्पिङ साइटका स्थानीयले अवरोध गर्नेलगायतका क्रियाकलापले प्रत्येक बर्ष नै काठमाडौं महानगरपालिकाले यसै समयमा दुःख बेहोर्दै आइरहेको छ ।

laxmi

यसबेला पनि काठमाडौंको डम्पिङ साइट बन्चरेडाँडाका स्थानीयहरुले अवरोध गरेपछि करिव १ हप्ता नै काठमाडौं महानगरपालिकालाई फोहर विसर्जन गर्न हम्मेहम्मे पर्याे । पानी पर्ने र घाम लाग्ने सँगसँगै हुँदा डम्पिङ साइट वरपर फोहरको दूर्गन्ध फैलन्छ । यसो हुँदा स्थानीयहरु चिढिन्छन् र प्रत्येक बर्ष यसै समयमा फोहर विसर्जन कार्यमा अवरोध सिर्जना गरिदिन्छन् । यसैका कारण काठमाडौं उपत्यकाको फोहर विसर्जनमा बाधा उत्पन्न हुन्छ र करिव एक हप्ता फोहर नै नउठ्ने समस्या पैदा हुन्छ ।

यसपल्ट पनि उस्तै भएपछि काठमाडौं महानगरपालिकाले फोहर फाल्दै माटोले पुर्दै गर्ने नीति अवलम्बन गर्याे । तर, स्थानीयले माटो लिनकै लागि पनि अवरोध खडा गरिरहेको काठमाडौं महानगरपालिका वातावरण विभागका निर्देशक रबिनमान श्रेष्ठले बताए । उनका अनुसार काठमाडौंबाट हाल बन्चरेडाँडामा दैनिक २ सय ३० गाडी फोहर गइरहेको छ । यो भनेको दैनिक करिव २ हजार टन फोहर हो । यसरी दैनिक २ हजार टन फोहर बन्चरेडाँडामा फाल्दा घाम र पानी परेका बेला यो फोहर गन्हाउँछ र स्थानीयलाई वरपर बस्नै नसकिने अवस्था सिर्जना हुन्छ । यसैको समाधानका लागि भन्दै फोहर फाल्दै माटोले पुर्दै गर्ने उपाय अवलम्बन गरिएको थियो ।

तर, स्थानीयले हाल माटो लिने कार्यमै अवरोध सिर्जना गरिदिएपछि फोहर छोप्न नपाएको र फोहर गन्हाएको निर्देशक श्रेष्ठले बिजखबरलाई बताए । यसअघि स्थानीयले ककनी गाउँपालिकासँग गत बर्ष गरेको सम्झौता नै कार्यान्वयन नगरेको भन्दै फोहर विसर्जनमा नै अवरोध खडा गरिदिएका थिए । गत बर्ष काठमाडौं महानगरपालिकाले ककनी गाउँपालिकासँग फोहर विसर्जन स्थल वरपरका स्थानीयलाई राहत हुनेगरि सम्झौता गरेको थियो । तर, त्यो सम्झौता कार्यान्वयन नभएपछि ककनी गाउँपालिकाले प्रति फोहरका गाडीवापत १ हजार देखि १ हजार ५ सय रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो । तर, यसविरुद्ध सर्वाेच्चमा रिट परेपछि सर्वाेच्चले शुल्क लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपश्चात काठमाडौ महानगरपालिका र स्थानीयबीच दूर्गन्धित क्षेत्रमा औषधि छर्किने, फोहरलाई दैनिक माटोले पुर्नेलगायतका कुरामा सहमति मिलेपछि काठमाडौंको फोहर उठ्न थालेको हो ।

तर, फोहर पुर्ने माटोको स्रोतमै स्थानीय र सरकारका अन्य निकायले अवरोध खडा गरिदिँदा भने पुनः फोहर विसर्जन हुननसक्ने अवस्था आएको वातावरण विभागका निर्देशक श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल फोहर बिसर्जन गरेलगत्तै माटोले पुर्ने गर्नाले वरपर फैलिएको दुर्गन्ध केही नियन्त्रण भएको छ । तर, स्थानीयले माटोको स्रोतमा नै अवरोध पुर्याएर माटो ल्याउन नदिनाले पुनः दुर्गन्ध फैलने निश्चित छ ।

‘स्थानीयहरु फोहरको दुर्गन्ध नआउँदासम्म मात्रै मौन बस्ने हुन्,’ उनले भने, ‘पुनः माटो नपाएर फोहर पुर्न सकिएन भने दूर्गन्ध फैलनेछ र पुनः स्थानीयले फोहर विसर्जनमा अवरोध खडा गर्ने अवस्था निम्तिने देखिन्छ ।’ हाल फोहर पुर्नका लागि लिने गरिएको माटोको स्रोतमा कतिपय स्थानमा स्थानीयले अवरोध गर्ने र कतिपय स्थानमा बन क्षेत्र भन्दै माटो नै लिन नदिने अवस्था सिर्जना भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL