Logo

मलेसियामा नेपाली कामदार अलपत्र पर्ने क्रम बढ्दो, तोकिएको सेवासुविधा नदिने ५२ कम्पनीलाई दूतावासले राख्यो कालोसूचीमा

मलेसियामा नेपाली कामदार अलपत्र पर्ने क्रम बढ्दो, तोकिएको सेवासुविधा नदिने ५२ कम्पनीलाई दूतावासले राख्यो कालोसूचीमा



काठमाडौं । विभिन्न देशका नेपाली दूतावासले नेपाली श्रमिक लैजाने ६५ रोजगारदाता कम्पनीलाई कालोसूचीमा राखेका छन् ।नेपाली श्रमिक लिएर अलपत्र पार्ने क्रम बढेसँगै मलेसिया, दुबई, कतार, साउदी अरेबिया र माल्दिभ्सका ६५ कम्पनी कालोसूचीमा परेका हुन् ।

laxmi

पछिल्लो समय नेपाली युवाहरु खाडी मुलुकमा गएर अलपत्र पर्ने दर बढ्दो छ । नेपालबाट श्रम सम्झौता गरेर गएका श्रमिकहरुलाई सम्झौतापत्रमा तोकिए बमोजिम सेवा सुविधा नदिने, भनेबमोजिम ज्याला नदिने, सम्झौताको परिपालनासमेत नगर्ने गरेको पाईएपछि उक्त कम्पनीहरु कालोसूचीमा परेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदी बताउँछन् । ‘धेरैजसो नेपाली श्रमिकहरुलाई विदेशी रोजगारदाता कम्पनीहरुले सम्झौता गरेबमोजिम सेवा सुविधा दिँदैनन् र श्रमिकहरुले दूःख पाउँछन्,’ उनले भने, ‘यस्ता कम्पनीलाई कालोसूचीमा राख्नुको विकल्प हुँदैन ।’

हालै विभागले सार्वजनिक गरेको सुची अनुसार कालोसूचीमा पर्नेमध्ये सबैभन्दा बढी मलेसियन कम्पनीहरु छन् । विभागले मलेसियाका ५२, दुबईका ३, साउदी अरेबियाका ४, कतारका ४ र माल्दिभ्सको एक कम्पनीलाई कालोसूचीमा राखेको हो ।

पछिल्लो समय खाडी मुलुकका केहि कम्पनीहरुले सम्झौता गरेबमोजिकको सेवा सुविधाबाट कामदारलाई बन्चित गरेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । यस्तै उनले आर्थिक मन्दीको असरका कारण पनि धेरैजसो विदेशी कम्पनीहरु कालोसूचीमा परेको बताए । ‘विश्वभर निम्तिएको आर्थिक मन्दीको चपेटामा खाडी मुलुकका कम्पनीहरु पर्दा उनीहरुले सम्झौता अनुसार कामदारलाई पारिश्रमिक दिन सकिरहेका छैनन्,’ उनले भने, ‘यसको प्रत्यक्ष असर नेपाली कामदारलाई परेपछि कालोसूचीमा राखिएको होला ।’

विदेशी रोजगारदाता कम्पनीहरुले नेपाली कामदारको श्रम शोषण गरेको, भनेबमोजिमको तलव नदिएको, घर फिर्तीको समयमा समस्या दिएकोलगायतका गुनासाहरु दूतावासमा आउने गरेका छन् । पछिल्लो समय नेपाली म्यानपावर कम्पनीहरुले अस्वस्थ्य प्रतिस्पर्धाबाट बढ्दो मूल्य तिरेर मागपत्र ल्याउने गरेको र सोही अनुरुप कामदारसँग बढी रकम असुलेर पठाउने गरेकोले पनि समस्या आउने गरेको सम्बद्ध म्यानपावर कम्पनीहरु नै बताउँछन् ।

‘मलेसियाका रोजगारदाता कम्पनीले फ्रिमा दिने मागपत्रलाई एउटै भिसाको १ लाख ५० हजार रुपैयाँभन्दा बढी तिरेर ल्याउने गरेका छन्,’ ती व्यवसायीले भने, ‘तर सम्बन्धित रोजगारदाताले उक्त शुल्क तिरे अनुसारको सेवा सुविधा नपाउँदा पनि समस्या सिर्जना भएको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL