Logo

दासढुङ्गा–मुग्लिन खण्डको तनहुँतर्फ निर्माण कार्य सुरु गर्न माग

दासढुङ्गा–मुग्लिन खण्डको तनहुँतर्फ निर्माण कार्य सुरु गर्न माग



काठमाडौं । तनहुँको देवघाट गाउँपालिकाका जनप्रनितिधि र राजनीतिक दलका नेताहरुले दासढुङ्गादेखि मुग्लिनसम्म त्रिशूली नदीको किनारमा तनहुँतर्फ राष्ट्रिय राजमार्ग निर्माण गर्न माग गरेका छन् ।

laxmi

तनहुँको देवघाट गाउँपालिका–५ का अध्यक्ष पूर्णबहादुर कुँवरको नेतृत्वमा नेकपा (एमाले) देवघाटका अध्यक्ष केशवचन्द्र न्यौपाने, स्थानीय समाजसेवी कुलचन्द्र न्यौपाने लगायतले सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखलाई भेटी नारायणगढ–मुग्लिन सडकको विकल्पमा तनहुँतर्फ अर्काे राजमार्ग निर्माण गर्न माग गरेका हुन् ।

नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष पहिराले दुःख दिन थालेपछि सरकारी तहबाट नै नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ । उक्त सडकको पहिलो विकल्पमा पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारि तनहुँतर्फ त्रिशूलीको किनारै किनारको नयाँ सडक निर्माण गर्न सकिने सम्भावना छ ।

सडक विभागले डिभिजन सडक कार्यालय भरतपुरलाई अहिलेको सडकपारि त्रिशूली किनारै किनार तनहुँतर्फ नयाँ सडक बनाउन सकिने गरी गृहकार्य सुरु गर्न निर्देशन दिएको डिभिजन सडक कार्यालयका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए । देवघाटका प्रतिनिधिसँगको भेटमा डिभिजन सडक कार्यालयकाका प्रमुख पौडेलले उक्त सडकको सर्भे र डिपिआरका लागि २० लाख विनियोजन गरिएको जानकारी गराए ।

पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने गरी गृहकार्य सुरु भएको पौडेलले बताए । सुरुमा नयाँ सडक बनाउनुपर्ने ठाउँलाई राष्ट्रिय सडक कायम गरिनुपर्ने भएकाले अहिले त्यो निर्णयको प्रस्ताव मन्त्रिपरिषद्मा लैजान टिप्पणी तयारीको काम भइरहेको उनको भनाइ छ ।

वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । त्यसमा पनि गैँडाकोटदेखि दासढुङ्गासम्मको १६ किलोमिटर अहिले पनि कालोपत्र सडक नै छ ।

अब दासढुङ्गादेखि मुग्लिनसम्मको २० किलोमिटर सडक बनाउने हो भने नारायणगढ–मुग्लिन सडककै कारण यात्रुले भोग्नुपरेको समस्या समाधान हुने विश्वास गरिएको छ । सडक डिभिजन कार्यालयका प्रमुखसँगको भेटमा देवघाटका जनप्रतिधि र राजनीतिक दलका नेताहरुले अहिले मुग्लिन–नारयणगढ सडकमा वर्षाको समयमा दिन दिनै पहिरो गएर ठूलो समस्या भोग्नुपरेको हुँदा वैकल्पिक सडक निर्माणका लागि तत्काल पहल थाल्न अनुरोध गरेको नेकपा (एमाले) देवघाटका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

तनहुँको क्षेत्रमा अर्काे राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडि परेको तनहुँको देवघाट तथा आँबुखैरेनी गाउँपालिकाका धेरै बस्तीलाई विकासको मूलधारमा ल्याउन सकिने देवघाट–५ का वडाध्यक्ष कुँवरको भनाइ छ । उक्त वैकल्पिक राजमार्गका बारेमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सर्भे र डिपिआरका लागि बजेट विनियोजन गरि सर्भे र डिपिआरसमेत भइसकेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL