Logo

प्रतिबद्धताकै हारहारीमा फिर्ता हुँदै वैदेशिक लगानी, माघमा सवा ३ अर्ब रुपैयाँ विदेश फिर्ता

प्रतिबद्धताकै हारहारीमा फिर्ता हुँदै वैदेशिक लगानी, माघमा सवा ३ अर्ब रुपैयाँ विदेश फिर्ता



काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रतिबद्धताकै हाराहारीमा नेपालबाट रकम विदेश जान थालेको छ । गएको माघ महिनामा नेपालमा झण्डै ४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा करिव सोही अनुसारको लगानी बाहिरिएको हो । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनामा २५ परियोजनामार्फत ३ अर्ब ९७ करोड २३ लाख ५३ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो ।

laxmi

यो प्रतिवद्धता मध्येबाट पनि १५ ओटा परियोजनामार्फत १ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत हुँदा बाँकी २ अर्ब ५८ करोड १६ लाख रुपैयाँ भने सेयर सब्सक्रिप्सन एग्रिमेन्ट(एसएसए), सेयर पर्चेज एग्रिमेन्ट(एसपीए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) का १० परियोजनामार्फत आएको हो । यदि नेपालमा संचालित उद्योग परियोजना वा कम्पनीमा विदेशी लगानीकर्ताहरुले केहि सेयर किन्ने, आफ्नो प्रविधि लगाउने वा जगेडा नै खरिद गरेको लगानी एसएसए, एसपीए र टीटीए समावेश गरिन्छ । यसरी माघ महिनामा प्रस्ताव आएको विदेशी लगानीलाई आधार मान्दा नेपालमा ८ सय ६३ जनाले रोजगारी पाउने बताइएको छ ।

उद्योग विभागका अनुसार चालु आवको हालसम्म अर्थात गत साउनदेखि माघ मसान्तसम्म २ सय १६ परियोजनामार्फत २७ अर्ब ७६ करोड रुपैयाँ बराबरको लगानीप्रतिवद्धता आएको छ । चालु आवमा आएको लगानी प्रस्तावमार्फत ८ हजार ६ सय ५ जनाले रोजगारी पाउने बताइएको छ । यसरी विभागमा आएको प्रस्ताव सबै भित्रिन्छ भन्ने त छैन तर, नेपालमा विदेशी लगानीकर्ताले देखाएको आकर्षणलाई भने यसले सपोर्ट गर्छ ।

विभागका अनुसार चालु आवको पहिलो ७ महिनामा र माघमा पनि नेपालमा आउने विदेशी लगानी प्रस्ताव घटेको छ । विदेशी लगानी प्रतिवद्धता आएको भनिरहँदा नेपालबाट विदेशी लगानीकर्ताले लैजाने रकम पनि कम छैन । अर्थात उद्योग विभागको तथ्यांकलाई केलाउँदा चालु आवको माघसम्म होस या माघ महिनाको मात्रै होस जति विदेशी लगानी प्रतिवद्धता आएको छ करिव करिव त्यति नै लगानी लिनका लागि लगानीकर्ताले स्वीर्कति लिएको पनि देखिन्छ ।

माघमा मात्रै सवा ३ अर्ब लगानी फिर्ता

गएको माघ महिनामै सवा ३ अर्ब रुपैयाँ बराबरको लगानी फिर्ताको प्रस्ताव उद्योग विभागमा पुगेर स्वीकृत भएको छ । विभागअन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाका प्रमुख पवनकुमार गुप्ताका अनुसार माघ महिनामा मात्रै डलर, भारु र नेरु गरी कुल ३ अर्ब २५ करोड ६७ लाख रुपैयाँ बराबर लगानी फिर्ताको सिफरिस गरिएको छ । यो रकम सोही महिनामा आएको कुल विदेशी लगानी प्रतिवद्धताभन्दा ७० करोड रुपैयाँले मात्रै कम हो ।

गुप्ताका अुनसार नेपालमा लगानी गरी उद्योगधन्दा चलाईरहेका विदेशी लगानीकर्ताहरुले विभिन्न शीर्षकमा लगानी लैजाने स्वीकृति विभागसँग माग्छन् । सोही अनुसार विभागले माघ महिनामा रोयल्टीवापत ८० करोड ८७ लाख ५० हजार रुपैयाँ नेरु, १६ करोड ३९ लाख ८६ हजार भारु र ९८ हजार २ सय ९३ अमेरिकी डलर फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको छ । यस्तै यसै अवधिमा विभागले लाभांशवापतको पनि २ अर्ब १७ करोड २८ लाख रुपैयाँ बराबर लैजान पाउने गरी विदेशी लगानीकर्तालाई स्वीकृति प्रदान गरेको छ ।

यस्तै चालु आवको हालसम्म विभागले १३ अर्ब १७ करोड १७ लाख ७० हजार रुपैयाँ बराबर लाभांशवापत विदेश लैजाने विदेशी लगानीकर्ताहरुलाई स्वीकृति प्रदान गरेको छ । यसै अवधिमा विदेशी लगानीकर्ताहरुले रोयल्टीवापत १ अर्ब ७३ करोड ६३ लाख नेरु, ३० करोड २७ लाख ४० हजार भारु र ८ लाख ९८ हजार ७ सय ३६ अमेरिकी डलर बराबर लैजानसमेत स्वीकृति पाएका छन् ।

तथ्यांक हेर्दा चालु आवमा र पछिल्लो माघ महिनामा पनि जति वैदेशिक लगानी प्रतिवद्धता आउँछ करिव त्यहि बराबरको लगानी विदेश गएको छ । अर्थात नेपालको कुल भुक्तानी सन्तुलनमा वैदेशिक लगानीको हिस्सा ज्यादै न्यून रहेको पुष्टि हुन्छ । माघ महिनामै विभागले ७२ विदेशी लगानीकर्ताहरुलाई, २४ जना प्रतिनिधि र ४७ जना आश्रितका लगि भिसा सिफारिससमेत गरेको छ । चालु आवको ७ महिनामा विभागले क्रमशः ९ सय ४६, १ सय २२, ३ सय १७ जनाको भिसा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL