Logo

एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री, एकैजनाले कमाउँछन् लाखौं

एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री, एकैजनाले कमाउँछन् लाखौं



काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड रुपैयाँ आम्दानी गरेको छ । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोड रुपैयाँसम्म आम्दानी गरेका छन् । जिल्लामा सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला खेति गर्ने किसान १० नं वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका मुक्ति अधिकारीले जानकारी दिए ।

‘वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरुले न्यूनतम ५० हजारदेखि अधिकतम पचाँस लाखसम्म आम्दानी गर्नुहुन्छ’, उनले भने ।

पाँच–सात लाखदेखि १५–२० लाख रुपैयाँ आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन् । कोदो तथा मकै खेतिबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेति गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन् ।

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्नेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उनको भनाइ छ ।

गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य गत वर्षको जति पनि नहुदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउछन् । प्रतिकेजी ५५ रुपैयाँबाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी ९० रुपैयाँमा बिक्री भइरहेको छ ।

अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन् । जिल्लामा यस वर्ष १ अर्ब २५ करोड रुपैयाँको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL