Logo

काँगेलडाँडा विमानस्थल बर्षौदेखि प्रयोगहीन, राज्यको करोडौं लगानी खेर

काँगेलडाँडा विमानस्थल बर्षौदेखि प्रयोगहीन, राज्यको करोडौं लगानी खेर



काठमाडौं। सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन नसकेको हो ।

राज्यको करोडौं लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो । लामो समय प्रयोगविहीन भएसँगै सो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ । करिब आधा दशकपछि २०७७ मंसिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीय समेत उडान परीक्षणमै सीमित हुँदा अहिले निराश बनेका छन् ।

प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । टावर तथा घेराबार समेत जीर्ण बन्दै गएको सो विमानस्थल सञ्चालनमा आउने स्थानीयले आशा मारिसकेका छन् ।

विमानस्थल सञ्चालनमा ल्याउन सक्दो कोशिस गरेको भए पनि सफल नभएको थुलुङ दूधकोसी गाउँपालिकाले जनाएको छ । विसं २०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६२÷६३ देखि उडान सेवा सुरु भएको थियो । विसं २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL