Logo

३४ अर्ब लगानी भएका स्वदेशी जुत्ताचप्पल उद्योग समस्यामा, चोरी पैठारीका कारण स्वदेशी उद्योग संकटमा

३४ अर्ब लगानी भएका स्वदेशी जुत्ताचप्पल उद्योग समस्यामा, चोरी पैठारीका कारण स्वदेशी उद्योग संकटमा



काठमाडौं । वार्षिक ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा परेका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आज पत्रकार सम्मेलन गरी वार्षिक दुई करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको बताएका हुन् ।

laxmi

पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले चोेरी पैठारीबाट करोडौँ जोर जुत्ताचप्पले आयात हुँदा नेपालमा उत्पादित जुत्ताचप्पलले बजार पाउन छाडेको बताए ।

“देशको मागलाई धान्न सक्ने गरी नेपालमा जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रितरूपमा दक्षिणतिरको खुला सीमाबाट चोरी पैठारी र न्यून बिजकीकरणका कारण नेपाली व्यवसायी मारमा परेका छन्”, उनले भने ।

एशोसिएशनका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा पाँच करोड ६५ लाख जोर जुत्ताचप्पल उत्पादन भएको थियो भने विदेशबाट दुई करोड ५९ लाख ८७ हजार एक सय ६३ जोर आयात भएको थियो । यस्तै दुई करोड २५ लाख १२ हजार आठ सय ३७ जोर जुत्ताचप्पल चोरी पैठारीबाट आएको छ ।

एकतिहाइ महिलासहित करिब ५५ हजार श्रमिक कार्यरत रहेको जुत्ताचप्पल उद्योग नेपालमा एक हजार पाँच सयभन्दा बढी रहेको अध्यक्ष घिमिरेको भनाइ छ । आर्थिक वर्ष २०७८÷७९ मा नेपालबाट रु एक अर्ब ८८ लाख ३४ हजार एक सय १७ मूल्य बराबरको जुत्ताचप्पल निर्यात भएको थियो ।

एशोसिएशनका उपाध्यक्ष सुरज बन्जाडेले रु तीस अर्ब व्यवसायीको लगानी र रु चार अर्बभन्दा माथि बैंक लगानी रहेको नेपालको जुत्ताचप्पल क्षेत्रलाई बचाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले भन्सार नाकामा गस्ती बढाउनका साथै सीमानाका रहेका जिल्ला प्रशासन प्रमुखलगायत राजस्व अनुसन्धान कार्यालयले बढी सक्रियताका साथ चोरी पैठारी नियन्त्रणमा लाग्नुपर्ने माग गरे ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सबै सरकारी निकायमा कार्यरत कर्मचारीले अनिवार्यरूपमा नेपालमा उत्पादित जुत्ताचप्पल प्रयोग गर्न एशोसिएशनले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL