Logo

निक्षेप सम्बन्धी विवादास्पद विज्ञापनबाट पछि हट्यो बोर्ड, निक्षेपकर्तालाई दिग्भ्रमित पारेको स्वीकार

निक्षेप सम्बन्धी विवादास्पद विज्ञापनबाट पछि हट्यो बोर्ड, निक्षेपकर्तालाई दिग्भ्रमित पारेको स्वीकार



काठमाडौं । केही समयअघि सहकारीलाई लक्षित गर्दै निक्षेप सम्बन्धी विवादास्पद विज्ञापन प्रकाशन गरेको विज्ञापन बोर्डले हाललाई उक्त विज्ञापन स्थगित गरेको छ । बोर्डले गत बिहीबार ‘बचत गर्दा ध्यान दिऔं’ शिर्षकमा सहकारीमा पैसा राख्दा गुम्ने अवस्था आएको भन्दै त्यस्ता संस्थामा पैसा नराख्न आग्रह गर्दै विज्ञापन प्रकाशित गरेको थियो । उक्त शिर्षकको विज्ञापनमा सहकारी संस्थाहरुले सहकारीको भविष्य नै अन्यौलमा पार्नेगरी विज्ञापन प्रकाशित गरेको भन्दै आलोचना गरेका थिए ।

laxmi

त्यसपश्चात बोर्डले पुनः बिहीबार नै एक सूचना जारी गर्दै त्यसमा केहि परिमार्जन गरेको थियो । जसमा अघिल्लो विज्ञापनमा ‘सहकारीलगायत वित्तीय संस्थामा बचत गर्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नको सट्टा ‘बैंक, वित्तीय संस्था तथा सहकारीमा रकम जम्मा गर्दै हुनुहुन्छ ?’ भन्ने शिर्षक राखियो । अर्थात परमार्जित विज्ञापनमा बैंक तथा वित्तीय संस्था पनि थपियो । उक्त शिर्षकको तल भने बढी व्याजको लोभमा नफसौं, त्यस्ता संस्थाको वित्तीय विश्वसनियताको परिक्षण गरौं र व्याजको लोभमा सावाँसमेत नगुमाऔं भन्ने शब्दावली राखिएको थियो ।

यस्तो विज्ञापनले सहकारी तथा बैंक वित्तीय क्षेत्रलाई अविश्वास गरेको भन्ने द्विविधा उत्पन्न भएपछि बोर्डले उक्त विज्ञापन हटाएको बोर्डका विज्ञापन तथा कार्यक्रम शाखाका कार्यक्रम अधिकृत दिनेश लुईँटेलले बताए ।

उनका अनुसार यो विज्ञापन प्रकाशन पछि धेरै क्षेत्रबाट गुनासो आएपछि यसलाई स्थगित गरिएको हो । खासगरी बोर्डले प्रकाशित गरेको विज्ञापनको आशय नै सहकारी तथा बैंक वित्तीय क्षेत्रमै पैसा बचत गर्दा ध्यान दिउँ भन्ने थियो । अर्थात यस्ता संस्थामा बढी व्याजको लोभमा पर्न नहुने, पैसा जम्मा गर्दा ध्यान दिनुपर्ने, यस्ता संस्थामा पैसा जम्मा गरेर सावाँ नै गुमाउने खतरा हुने भन्ने बुझाई आम मानिसमा परेको थियो । सोही अनुसार विज्ञापन बोर्डमा धेरै गुनासो आएपछि विज्ञापन प्रकाशन नै स्थगित गरिएको बोर्डका एक अधिकारीले बताए ।

पछिल्लो समय केहि सहकारी क्षेत्रमा बचतकर्ताहरुबाट बढी व्याजको लोभ देखाई मनग्य पैसा उठाएर भाग्ने समस्या निम्तिएको छ । केहि सहकारीहरुले बचतकर्ताको पैसा लिएर भागेपछि सहकारी विभागले केहि मापदण्डहरु तोकेर निर्देशिकासमेत जारी गरिसकेको छ । यता सहकारी विभाग भने बचतकर्ताले उचित संस्था नछान्दा, सहकारीका संचालकले आफुखुसी निर्णय गर्दा र संस्था पारदर्शी नहुँदा यस्तो समस्या निम्तिएको बताउँदै आएको छ ।

तर सरोकारवालाहरुले भने अहिलेको अवस्थामा विद्युतीय कारोबार गर्दै बैंकमा पैसा राख्न आम नागरिकलाई आह्वान गर्नुपर्नेमा बोर्डको उक्त सूचनाले बैंक तथा सहकारीमा भएको पैसासमेत निकाल्ने अवस्था सिर्जना भएको आरोप लगाएका छन् । ‘सरकारले आफ्ना नागरिकलाई सुसुचित गराउनु राम्रो हो,’ एक सरोकारवालाले भने, ‘तर बोर्डले प्रकाशित गरेको विज्ञापनले जनताले सहकारी वा बैंकमा निक्षेप नै राख्न हुन्न भन्ने खालेको सन्देश गयो ।’

प्रतिक्रिया दिनुहोस्
MBL