Logo

कस्तो होला सम्मुख आएको मुख्य पर्यटकीय सिजन ? व्यवसायी भन्छन-उत्साहित छौं, इन्क्वायरी र बुकिङ बढेको छ

कस्तो होला सम्मुख आएको मुख्य पर्यटकीय सिजन ? व्यवसायी भन्छन-उत्साहित छौं, इन्क्वायरी र बुकिङ बढेको छ



काठमाडौं । केही वर्षयता कोरोना महामारीका कारण संकटग्रस्त बनेको पर्यटन क्षेत्रका लागि मुख्य पर्यटकीय सिजन आगामी महिना शुरु हुँदैछ । कोरोना अघि पर्यटकीय सिजन शुरु हुनु ३ महिनाअघि देखि नै व्यवसायीहरु होटलका कोठा बुक गर्न, ट्रेकिङ, टुर प्याकेज र अन्य पर्यटकीय गतिविधिको चाँजोपाँजो मिलाउन व्यस्त रहन्थे । तर, विगत ३ वर्षयता कोरोनाका कारण पर्यटन व्यवसायीहरु नै पलायन हुनुपर्ने अवस्था सिर्जना भयो ।

laxmi

खर्बौ रुपैयाँ लगानी गरेर निर्माण गरिएका पर्यटकीय पूर्वाधार पर्यटकको अभावमा बन्द हुँदा व्यवसायी ठूलो घाटामा परे । जसका कारण निराश पर्यटन व्यवसायीहरु अहिलेसम्म पनि नेपालमा पर्यटन कोरोना अघिको पूर्ववत अवस्थामा फर्किने आशामा बसिरहेका छन् ।

यसै सन्दर्भमा यो वर्षको मुख्य पर्यटकीय सिजन सम्मुख आएको छ । यो वर्ष भने पर्यटन व्यवसायीहरुमा नयाँ उत्साह देखिएको छ । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रमा केही सकारात्मक संकेत देखिँदैछन् । कोरोना महामारीको घट्दो डर, खोपको उपलब्धता र नेपाल सरकारका नीतिकै कारण पछिल्लो समय यस क्षेत्रमा सकारात्मक संकेत देखिएको सम्बन्धित व्यवसायीहरु बताउँछन् ।

गत बर्षको तुलनामा यो बर्ष होटलमा आउने अकुपेन्सी र सोधपुछ बढेको होटल महासंघ नेपाल (हान)का प्रथम वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् । उनका अनुसार महासंघसँग आवद्ध होटलहरुका लागि पछिल्लो समय अर्थात २०७९ को बर्ष सुरुवात भएयता नै पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । आन्तरिक र बाह्य (खासगरी भारतीय) पर्यटकको चहलपहल बढ्दा यो बर्षको सुरुवातीदेखि अर्थात नयाँ बर्षदेखि नै पर्यटन क्षेत्रमा चहलपहल सुरु भएको उनको भनाई छ ।

यता अध्यागमन विभागकै तथ्यांकअनुसार पनि कोरोना अघिको तुलनामा चालु बर्षको केहि महिनामै उल्लेख्य रुपमा पर्यटक आवागमन बढिसकेको छ । हुन त विश्वभर फैलिएको कोरोना महामारीले घुम्ने कल्चरमै असर गरिसकेको थियो ।

धेरैजसो मानिसहरु घरबाट बाहिर निस्कनै डराईरहेका थिए । विस्तारै विश्वका धेरैजसो स्थानमा खोपको उपलब्धता र यसको नियन्त्रणका कारण पर्यटन क्षेत्र पनि पुरानै लयमा फर्किने तरखर गरिरहेको सम्बन्धित जानकारहरु बताउँछन् । हालसमम पनि विश्वका धेरैजसो स्थानमा कोरोना महामारीको अवस्था डरलाग्दो नै छ । सोही अनुसार निश्चित पर्यटकहरु मात्रै देशविदेश घुम्न निस्केका छन् ।

यसरी सिमित पर्यटकहरु मात्रै घुम्न निस्किँदा कुन देशले कति पर्यटक तान्न सक्छ सोही अनुसारको आवागमन बढ्ने हान उपाध्यक्ष शाह बताउँछन् । उनका अनुसार कोरोना महामारीको डर केहि हराएसँगै नेपाल सरकारले विमानस्थलमा कोरोनाको फारम भर्नुपर्ने, क्वारेन्टाईन वस्नुपर्नेलगायतका बाधाहरु हटाईदिएकाले पनि पर्यटक आवागमन बढिरहेको छ । जुन आगामी दिनका लागि खुसीको संकेत हो ।

ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी यसवर्ष तुलनात्मक रुपमा राम्रो हुने अपेक्षा रहेको बताउँछन् । ‘यो सिजनका लागि सबै व्यवसायी उत्साहति छौं । कोरोनाविरुद्ध खोपको उपलब्धता, सावधानी र विशवभर यात्रा प्रतिबन्ध हटेकाले विदेशी पर्यटक नेपाल भित्रिनेमा आशावादी छौं । यसको संकेत अहिले पर्यटकको आगमन दर, इन्क्वायरी र बुकिङबाट पनि महसुस गरेका छौं’, सुवेदीले भने ।

अध्यागमन विभागका अनुसार जुन महिनामा मात्रै नेपालमा ४६ हजार ९ सय ५७ जना पर्यटक भित्रिएका थिए । यता चालु अंग्रेजी बर्ष २०२२ को ७ महिनामा मात्रै विभिन्न देशबाट करिव ३ लाख पर्यटक भित्रिसकेको विभागको तथ्यांकमा उल्लेख छ । पर्यटक आए अनुसारको बुकिङ र इन्क्वायरीसमेत भईरहेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाटा)का अध्यक्ष रमेश थापाले बताए । उनका अनुसार पछिल्लो समय भारतीय पर्यटक आवागमन उच्च बढेकाले पनि पर्यटन क्षेत्रमा चहलपहल भएको हो । ‘हाम्रो संघमा आवद्ध सबै साथीहरुले अघिल्ला बर्षहरुको तुलनामा यो बर्ष खासगरी पर्यटकीय चहलपहल बढेको बताउनुभएको छ,’ उनले भने, ‘यसरी हेर्दा पर्यटकको आवागमन बढीरहेको देखिन्छ ।’

खासगरी भदौ महिनाको सुरुवातिदेखि पुषसम्मलाई पर्यटन सिजन मानिन्छ । यही सिजनमा पानी कम पर्ने, कुहिरो नलाग्ने तथा टाढाटाढाका दृष्यहरु पनि देखिने भएपछि धेरैजसो पर्यटक नेपाल घुम्न आउने गरेका छन् ।

होटल व्यवसायी तथा अन्य पर्यटन सम्बद्ध व्यवसायीहरुले आगामी सिजनका लागि विशेष प्याकेजकोसमेत व्यवस्था गरेको बताएका छन् । नेपाल सरकारले समेत आगामी १० बर्षको रणनीति नै बनाएर पर्यटन प्रवद्र्धन गर्ने नीति अघि सारेको छ । जसका कारण नेपाली पर्यटन क्षेत्रमा सकारात्मक सन्देश गएको हानका उपाध्यक्ष विनायक शाह बताउँछन् । तर, रणनीति अघि सारेपनि सबै क्षेत्रका निकायहरु मिलेर पर्यटन क्षेत्रको प्रवद्र्धनमा लाग्नुपर्ने उनको भनाई छ ।

‘नेपालमा वैदेशिक मुद्रा संचिति बढाउने प्रमुख स्रोत पर्यटन पनि हो यसलाई सबैले मनन् गर्नुपर्छ,’ उनले भने, ‘यसमा पर्यटन सम्बद्ध व्यवसायी र मन्त्रालयको मात्रै मुख ताक्नुभन्दो रणनीति अनुसारको बजेट निकासादेखि रकमान्तरमा अर्थ मन्त्रालयले पनि जोड दिनुपर्छ ।’

पुनः कोरोनाको त्रास

विस्तारै लयमा फर्किँदै गएको नेपाली पर्यटन क्षेत्रमा पछिल्लो समय पुनः कोरोनाको डर थपिएको छ । प्रत्येक दिनजसो परिक्षण गरेको १४ देखि १५ प्रतिशत नागरिकमा कोरोनाको संक्रमण पुष्टि हुनुले यस क्षेत्रमा केहि डर पुनः थपिदिएको छ । तर, हाल नागरिकहरु सचेत भएसँगै यसको डर पहिलेको जस्तो भने छैन ।

अध्यागमन विभागले पनि एयरपोर्टमा कडाई गर्न छोडेको, क्वारेन्टाईनको व्यवस्था हटाईएको लगायतका व्यवस्थाले पर्यटन आवागमनमा असर नगर्ने नाटाका अध्यक्ष रमेश थापा बताउँछन् । उनका अनुसार पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको दर अझै बढ्दै गएमा भने समस्या निम्तिन सक्छ । तर, यही बेलामा सरोकारवालाहरुले बेलैमा ध्यान पुर्याएर यसको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने उनको भनाई छ ।

यता हानका उपाध्याक्ष शाह पनि कोरोना नियन्त्रण बेलैमा गर्न नसकेमा यसले पुनः पुरानै रुप लिएपछि थप डर पैदा हुने पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन सक्ने बताए । उनका अनुसार कोरोनामा सबै नागरिकहरु ह्याविट्याट भईसकेपनि यसको नियन्त्रणका लागि भने लाग्नैपर्छ । उनले हाल सबै पर्यटन व्यवसायीहरु आगामी सिजनका लागि तयारी अवस्थामा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL