SCT


GBIME

रुपन्देहीको मैनिहिया सबस्टेशन सञ्चालन, २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार


बिजखबर संवाददाता
9 July, 2022 1:23 pm

sub_station

काठमाडौं । बाह्र वर्षअघि थालनी गरिएको गोरुसिङ्गे–बुटवल–लुम्बिनी १३२ केभिएले पूर्णता पाएको छ । आयोजनाअन्तर्गतको मैनिहिया सबस्टेशनको सुरुआतसँगै रुपन्देहीको दक्षिणी क्षेत्रमा भइरहेको विद्युतीय समस्या समाधान हुने देखिएको छ । बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभिए आयोजना २०६७ सालमा सुरु भई ०७२ सालमै सक्नुपर्ने आयोजना थियो तर समयमै काम सुरु हुन सकेको थिएन ।

NLIC
Lamxi_bank

विसं २०७२ चैतमा विधिवतरुपमा सुरु गरिएको काम पनि विभिन्न अवरोधका कारण रोकिँदै आएको थियो । मैनिहिया सबस्टेशनको सुरुआतसँगै रुपन्देहीको दक्षिणी क्षेत्रको विद्युत अनियमितता धेरै हदसम्म समाधान हुने नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखा प्रमुख अवधेककुमार दुवेले बताए । विभिन्न विवादका कारण समयमै काम हुन नसकेको उक्त आयोजना पूरा गर्न रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका घनश्याम भुसालको मुख्य सक्रियता रहेको स्थानीयवासी मनोज रिजालले बताए । प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किमी बुटवल–लुम्बिनी प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ । मैनहियामा १३२–३३–११ केभीको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३–११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन् ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले बताए । स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिनेछ । त्यसमध्ये चार वटा फिडरको लाइन तानिसकिएको उनको भनाइ थियो । अठार किमी प्रसारण लाइनमा ५७ वटा टावर निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किमी भूमिगत गरिएको छ ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पत्तिया बनेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत् व्यापार अझ सहज हुनेछ ।

आयोजनाको कूल लागत भने रु एक अर्ब १९ करोड रहेको छ । आयोजनाको सुरुआती चरणमा योगीकुटीबाट सिद्धार्थ राजमार्ग हुँदै सिधै ठुटिपीपलसम्म र त्यहाँबाट मैनिहिया लैजाने योजना थियो तर स्थानीयवासीले विरोध गरेपछि मार्ग बदलिएको थियो । मार्ग परिवर्तन हुँदा मगरघाटबाट शुद्धोधन गाउँपालिकाको विभिन्न क्षेत्र हुँदै सियारीको मैनिहियास्थित सबस्टेशनमा पुर्याएको छ ।

त्यस क्रममा पनि विभिन्न व्यक्ति र समूहले अवरोध गरेका थिए । बुटवलका केही व्यवसायीले भैरहवातर्फ सबस्टेशन बनाउन दिनुहुँदैन भनेर खुलेरै यसको विरोध गर्दै खम्बासमेत ढालिदिएकाले आयोजनाको काममा अवरोधसमेत भएको थियो । अन्ततः उक्त आयोजनाले १२ बर्ष पछि भए पनि पूर्णता पाएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले मैनिहिया सबस्टेशन सञ्चालनसँगै उद्योगी व्यवसायीमा खुसीको सञ्चार भएको बताए ।

उनले भने, “लुम्बिनी करिडोरमा रहेका उद्योगले भोग्नुपरेको ऊर्जा सङ्कट हटाउन र भैरहवा लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले भोगिरहेको विद्युत् अनियमितता कम गर्न बुटवल गोरुसिङ्गे लुम्बिनी १३२ केभिएको सञ्चालनले पक्कै सहजता ल्याउँछ ।” व्यवसायीले दुम्कीबासको समस्या अदालती प्रक्रियाबाट समाधान भए पनि अब स्थानीय तहमा त्यसको समन्वय गरी छिट्टै काम सुरु गर्नुपर्नेमा जोड दिए ।

भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट विस्तार भइरहँदा दुम्कीबासमा निर्माण गर्ने दुई वटा टावरका विषयमा स्थानीयवासीले अवरोध गरी सर्वोच्च अदालतमा रिट दायर गरेकाले २०७७ देखि उक्त आयोजना रोकिएको थियो । यही असार १२ गते सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलाशले टावर बनाउन बाटो खोलिदिएको छ । योसँगै अब भरतपुर–बर्दघाट २२० केभी आयोजनाले छिट्टै पूर्णता पाउने भएको छ । उक्त आयोजनाले पूर्णता पाएसँगै हाल चालू अवस्थामा रहेको भरतपुर–बर्दघाट १३२ केभीको सिङ्गल सर्किटका कारण विद्युत्को आपूर्तिको कमी भइरहेका बेला २२० डबल सर्किटको सञ्चालनबाट उक्त समस्या पूरा हुने जनाइएको छ ।

डबल सर्किटको सुरुआतसँगै तामाकोसी र मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् पनि बर्दघाट पश्चिमतर्फ ल्याउन बाटो खुल्ने विद्युत् प्राधिकरणका अधिकारीहरुले बताएका छन् । यतिबेला भरतपुर–बर्दघाट १३२ केभी सिङ्गल सर्किट र कालीगण्डकीको उत्पादन पश्चिम क्षेत्रमा प्रवाह भइरहेको छ । लुम्बिनी करिडोरमा रहेका सिमेन्ट तथा छड उद्योग, विश्वपर्यटनको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल, व्यावसायिक तथा आधुनिक सहर भैरहवा र घनाबस्तीका कारण यो क्षेत्रमा विद्युतीय खपत बढिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL