GBIME

आयात बढ्दा समस्यामा अर्थतन्त्र, दैनिक ५ अर्ब ४१ करोडको आयातित सामान उपभोग गर्दै नेपाली


बिजखबर संवाददाता
25 November, 2021 12:32 pm

trade defict

काठमाडौं । नेपालमा पछिल्लो समय बढ्दै गएको आयातका कारण अर्थतन्त्र संकटोन्मुख अवस्थामा पुगेको छ । हाल दैनिक ५ अर्ब ४१ करोड बढीको वस्तु आयात हुँदा नेपालले भने जम्मा ६८ करोडको निर्यात गरेको देखिन्छ । आयात–निर्यातको यो अन्तर थप फराकिलो बन्दै जाँदा नेपाली अर्थतन्त्र थप जर्जर बन्दै गएको छ ।

Bajaj
NABIL
YAMAHA

नेपालले चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा साढे ६ खर्बको वस्तु आयात गर्दा ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसका कारण ४ महिनामै नेपालले ५ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा ब्यहोर्याे । यसरी नेपालले चालु आवको ४ महिनामा मात्रै व्यापारघाटा ५६ प्रतिशत, आयात ६१ प्रतिशत र निर्यात १०४ प्रतिशतले बढाएको देखिन्छ ।

लगातार बढिरहेको आयात र पछिल्लो समय घट्दै गईरहेको विदेशी विनिमय संचितिका कारण नेपालको अर्थतन्त्रमा ठूलो समस्या निम्त्याएको छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा नेपालले हाल दैनिक ५ अर्ब ४१ करोड रुपैयाँ बढीको वस्तु आयात गरिरहेको छ । अर्थात पछिल्लो ४ महिनामा नेपालले गरेको ६ खर्ब ५० अर्ब रुपैयाँको आयातलाई ४ महिनाको १२० दिनले भाग गर्दा उक्त रकम हुन आउँछ । यस अवधिमा नेपालमा पेट्रोलियम पदार्थ, खानेतेल, फलाम तथा फलामजन्य वस्तुहरुको आयात उच्च छ ।

sarbottam

यसरी विदेशी वस्तुहरुको आयात दिनप्रतिदिन बढिरहँदा नेपालमा विदेशी मुद्रा संचिति भने घट्दा यसले अर्थतन्त्रमै नकारात्मक असर पर्ने अवस्था सिर्जना भएको छ । वस्तुको आयात बढ्दा एकातिर प्रत्यक्ष वैदेशिक लगानी त्यहीअनुसार आएको छैन भने रेमिटान्स आप्रवाह पनि घटेको छ । प्रत्यक्ष वैदेशिक लगानीमार्फत आएको प्रतिवद्धताअनुसार रकम भने कममात्र भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ३ महिना (साउनदेखि असोज)सम्म गत आवको यहि अवधिको तुलनामा विप्रेषण आप्रवाह ७ दशमलव ६ प्रतिशतले घटेको छ । विदेश जाने नेपाली बढिरहेपनि उताबाट आउने रेमिटान्समा भने बैंकको ब्याजदरको प्रभाव बढी नै परेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले कुबेलामा गरेको बैंकको ब्याजदरमा हस्तक्षेपले विदेशमा बस्ने नेपालीले रेमिटान्ससमेत नपठाएको अर्थविदहरु बताउँछन् । यकातिर आयात बढ्नुले पनि रेमिटान्समा गिरावट आएको चर्चा चलिरहँदा यसमा खास असर बैंकको ब्याजदरले नै पारेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनका अनुसार विदेशमा बस्ने नेपालीले हाल बैंकमा ब्याजदर कम भएको भन्दै नेपाली बैंकमा पैसा राख्दैनन, बरु एक २ महिनापछि बढ्लाकि भनेर कुरेर बस्छन । यसरी विदेशबाट आउने पैसा नेपालका बैंकमा जम्मा नभए डलरको खाँचो पर्छ । यसरी डलरको खाँचो पर्दा नेपालले वस्तु आयात गर्ने विदेशी मुद्राको संचिति भनेअनुसार हुँदैन ।

राष्ट्र बैैंकको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ३ महिनामा कुल विदेशी संचयमा गत आवको सोही अवधिको तुलनामा ५ दशमलव ७ प्रतिशतको गिरावट आएको छ । गत आवको पहिलो ३ महिनामा नेपालमा १३ अर्ब ९९ अर्ब रुपैयाँ कुल विदेशी विनिमय संचिति रहेको थियो । यस्तै यो अवधिमा विदेशबाट पैसा आउने बाटो पर्यटन, शिक्षालगायतका क्षेत्रहरु कोरोनापछि बौरिन थालेपनि सोहीअनुसारको वृद्धि भने देखिँदैन । बरु नेपाली पर्यटक बाहिर जाने र विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने प्रक्रिया बढेपछि भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) पनि ७६ अर्ब १४ करोड रुपैयाँले घाटामा छ । गत बर्ष शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा थियो ।

यसरी विदेशी मुद्रा आयात घटिरहँदा पनि बढेको आयातको व्यापारले नेपाली अर्थतन्त्रमा असर त पारेको छ नै त्यसमा पनि नेपाल राष्ट्र बैंकको नीति झन तगारो बनेको छ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापाका अनुसार नेपालमा पछिल्लो समय बढिरहेको आयातले नेपाली अर्थतन्त्र बौरिएको जस्तो देखिएपनि बढ्दो विदेशी मुद्रा संचितिको अभाव भने चिन्ताको विषय हो । उनका अनुसार आयातको व्यापार बढीरहँदा विदेशी विनिमय संचिती र भुक्तानीको सन्तुलन (शोधानान्तर)मा गिरावट आउनु भने चिन्ताको विषय हो । यसले नेपालमा आयात गर्न सकिने वस्तुका लागि पर्याप्त विदेशी मुद्राको संचितिमा समस्या निम्त्याउँछ । त्यसैले विदेशी विनिमिय संचिति बढाउन यसका स्रोतहरुमा विशेष ध्यान दिनु जरुरी रहेको उनको भनाई छ ।

स्रोतको व्यवस्थापन

घटिरहेको विदेशी विनिमय संचिति बढाउन यसका स्रोतहरुमा विशेष ध्यान दिन जरुरी रहेको थापा बताउँछन् । रेमिट्यान्स, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी तथा निर्यात व्यापारलाई प्राथमिकतामा दिएर यी स्रोतहरुमा सहजता ल्याएसँगै विदेशी विनिमय संचिति पनि सकारात्मक दिशा उन्मुख हुने उनको भनाई छ ।

पछिल्लो समय नेपालबाट निर्यात हुने वस्तुको वृद्धिदर राम्रै देखिन्छ । यसले अर्थतन्त्रमा सकारात्मकका देखाएकै छ । यता वैदेशिक सहायता र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि भने नीतिगत सरलतासँगै सहजीकरण गरिदिए विदेशी मुद्राको संचिति बढाउन सहयोग पुग्ने उनले बताए । ‘सरकारले वैदेशिक लगानी बढाउन नीतिगत व्यवस्थामा सहजीकरण र सरलीकृत गरेसँगै विदेशी सहायतामा बनिरहेका ठुला आयोजनालाई तीव्र रुपमा निर्माण गरी थप सहायता ल्याउने किसिमका कार्य गर्नुपर्छ,’ उनले भने, ‘यसले विदेशी विनिमिय संचिति बढाउँछ ।’

आयातमा परिमाणात्मक बन्देज गलत

नेपालले पछिल्लो समय धेरै वस्तुहरुको आयातमा परिमाणात्मक बन्देज लगाउँदै आएको छ । यसरी परिमाणात्मक बन्देज लगाईनु गलत रहेको थापा बताउँछन् । । यसले वैदेशिक लगानीकर्ताहरुलाई नकारात्मक सन्देश दिएर निरुत्साहित गर्ने काम गरहेको उनको भनाई छ । यसरी कुनै वस्तुको परिमाणात्मक बन्देज लगाउनुको सट्टा बढी मार्जिन वा शुल्क उठाएर आयात नियन्त्रण गर्नु बुद्धिमता हुने उनको बुझाई छ । ‘मैले अनावश्यक वस्तुहरु पनि भित्रिन दिनुपर्छ भन्न खोजेको हैन । आवश्यक वस्तुहरुको आयातमा परिमाणात्मक बन्देजभन्दा पनि मार्जिन बढी राखेर आयात गर्न दिए यसै पनि यसको आयातलाई केही हदसम्म घटाउन सकिन्छ,’ उनले भने, ‘यसले विदेशी लगानीकर्ता तथा अन्य देशमा नकारात्मक सन्देश जाँदैन र विदेशी लगानीकर्ताहरुलाई नेपालमा आकर्षित गर्न सहज हुन्छ ।’

ब्याजदरमा हस्तक्षेप बेमौसमको बाजा

अहिले भुक्तानी सन्तुलन, विदेशी विनिमय संचिति र रेमिट्यान्स आप्रवाह नै घटिरहेको बेला नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गर्नु पनि गलत रहेको उनको भनाई छ । झन अर्थतन्त्रले महामारीपछि नयाँ उचाई लिन खोजेको बेलामा नै राष्ट्र बैंकले बैंकहरुले लिने ब्याजदरमा हस्तक्षेप गर्दा अर्थतन्त्रमा नकारात्मक असर परेको छ । यसले न भुक्तानी सन्तुलनमा राम्रो गरेको छ न रेमिट्यान्स आप्रबाहमा नै । यसरी राष्ट्र बैंकले नै ब्याजदरमा कसिदिँदा बैंकमा पैसा राख्ने मान्छेले पैसा राख्न नखोजेको उनले बताए । विदेशबाट पैसा पठाउनेले पनि ब्याजदर बढेपछि पठाउने सोच्छन र आज आउने पैसा भोलि मात्रै आउँछ । यसले खासगरी विदेशी मुद्रा संचितिमा नकारात्मक असर पार्छ ।

प्रतिक्रिया दिनुहोस्

MBL