Logo

चक्रपथ विस्तार : चीनले कलंकीदेखि महाराजगंजसम्म मात्रै सडक विस्तार गर्ने, धोवीखोलासम्मको टुंगो लागेन

चक्रपथ विस्तार : चीनले कलंकीदेखि महाराजगंजसम्म मात्रै सडक विस्तार गर्ने, धोवीखोलासम्मको टुंगो लागेन



काठमाडौं । दोस्रो खण्डको चक्रपथ विस्तारमा लामो समयदेखि कायम अन्यौल थप बढेको छ । चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकीदेखि धोबीखोलासम्म विस्तार गर्ने भनिएको सडक अब चिनियाँ पक्षले महाराजगंजसम्म मात्रै गर्ने भएको छ । यसअघि धोवीखोलासम्मै सडक विस्तार गर्ने तयारी भएपनि सडक विस्तारको जिम्मेवारी पाएको चिनियाँ पक्षले भने महाराजगंजसम्म मात्रै विस्तारको काम गर्ने बताइएको छ ।

आयोजनाका अनुसार हालसम्म चिनियाँ टोलीसँग महाराजगंजसम्मका लागि मात्रै सम्झौता र सहमति भएको छ । जसका कारण चिनियाँ ठेकेदार कम्पनीले महाराजगंजसम्म मात्रै सडक विस्तारको काम गर्ने काठमाडौं चक्रपथ सुधार आयोजना प्रमुख अर्जुन सुवाल बताउँछन् । उनका अनुसार चिनियाँ पक्षसँग हालसम्म महाराजगंजसम्मका लागि मात्रै विस्तारको सम्झौता भएकाले उक्त स्थानसम्म मात्रै चिनियाँले विस्तार गर्ने छ ।

नेपाल सरकारले भने उक्त सडकलाई चावहिलको धोबीखोलासम्मै विस्तार गर्ने इच्छा जाहेर गरेपनि सम्झौता वा सहमति भने हालसम्म नभइसकेको उनले बताए । ‘हामीले एकचोटी इमेलमार्फत नै धोबीखोलासम्म विस्तार गर्नेगरी चिनियाँ टोलीलाई प्रस्ताव गरेका थियौं,’ उनले भने, ‘तर, हालसम्म चिनियाँ टोलीले यसमा कुनै प्रतिक्रिया जनाईसकेको छैन ।’ तर, अझै पनि सरकारले चिनियाँ टोलीलाई धोबीखोलासम्मै सडक विस्तार गर्नेगरी अनुरोध गर्ने उनको भनाई छ ।

सम्झौताअनुसार कलंकीदेखि महाराजगंजसम्मको सडक विस्तारको लागि नेपाल सरकारले उक्त क्षेत्रको सडकको सीमाभित्र पर्ने संरचनाहरु हटाईसकेको छ । केहिदिन अघि मात्रै उक्त क्षेत्रका घरटहरा, विजुलीका तार, पोल, खानेपानी र ढलको पाईपलगायत सडक विभागको नेतृत्वमा सबै निकायले हटाइसकेका छन् ।

हाल साईट क्लियर भइसकेपछि उक्त क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) बनाउनका लागि पनि चिनियाँ पक्षलाई पत्राचार गरिसकिएको छ । चिनियाँ पक्षले २०७५ सालमै पहिलो खण्डको काम सक्काएपछि लगत्तै दोस्रो खण्डको काम सुरु गर्ने बताएको थियो । तर, उक्त क्षेत्रको साईट क्लियरको जिम्मा भने नेपाल सरकारको थियो ।

नेपाल सरकारले उक्त क्षेत्रको साईट क्लियर समयमै नगरेपछि चिनियाँ पक्षले यसको डिजाईनसमेत बनाएको छैन । अहिले साईट क्लियर भईसकेपछि सडक विभागले चिनियाँ पक्षलाई डिजाईन बनाएर काम सुरु गर्न पत्राचार गरेपनि चिनियाँ कुन कम्पनीले डिजाईन बनाउने भन्नेबारे निर्णय नभईसकेको सुवालले बिजखबरलाई बताए । ्

महाराजगंज चोकको विवाद

चिनियाँ पक्षसँग गरिएको सम्झौताअनुसार कलंकीदेखि महाराजगंजसम्मको सडक विस्तारभित्र महाराजगंज चोक पनि परेको छ । तर, उक्त चोकको विवाद हालसम्म कायम रहेकाले अझै आयोजनाको सडकको लम्बाई घट्ने देखिन्छ । महाराजगंज चोकको सडकको दायाँबायाँ घर हटाउन पहल गरिएपनि हालसम्म सार्थक देखिएको छैन । यता चिनियाँ पक्षले साईट क्लियर नभएसम्म डिजाईन नबनाउने भन्दै अटेर गरिरहेका बेला महाराजगंजको झमेलाले थप अन्यौल बनाएको छ ।

सडक विभागले पनि साईट क्लियर नभएको उक्त क्षेत्रलाई यत्तिकै छोडेर अन्य स्थानमा विस्तारको काम अघि बढाउन आग्रह गरेको विभागका महानिर्देशक अर्जुनजंग थापा बताउँछन् । उनका अनुसार चिनियाँ पक्षले उक्त क्षेत्रको अन्य स्थानमा सडक विस्तार गर्दैगर्दा विवाद मिले उसैलाई विस्तार गर्ने दिने नभए नेपालले विस्तार गर्नेगरी आग्रह गरिएको हो । यो आग्रहमा चिनियाँ पक्षले सहमति जनाईसकेको उनले बताए ।

यसरी महाराजगंजदेखि धोबीखोलासम्मको दुरी छोटिएसँगै महाराजगंजको पनि केही मिटर दुरी छोटिने छ । यसपछि चिनियाँ पक्षले कलंकीको मकालु पेट्रोल पम्पदेखि महाराजगंज नपुग्दै केही वरसम्ममात्रै सडक विस्तार गर्नेछ ।

चीन र नेपाल सरकारबीच अनुदानमा सडक बनाउन द्धिपक्षीय सम्झौता(एमओयु) २०७५ सालमै भईसकेको छ । उक्त सम्झौता अनुसार करिव ८ दशमलव १६ किलोमिटर सडक खण्डको एक चरणको सर्वेसमेत गरिएको थियो । उक्त सर्वेअनुसार सडक विस्तारका लागि करिव ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । यस्तै समायावधि पनि ३ बर्ष लाग्ने अनुमान गरिएको थियो । यसअघि पहिलो खण्ड कलंकी कोटेश्वर खण्ड विस्तार गरेको चिनियाँ पक्षले साईट क्लियर नभएपनि झमेला भएको भन्दै दोस्रो खण्डमा साईट क्लियर नगरी काम सुरु नगर्ने शर्त राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL