Logo

निजी क्षेत्रको सहभागितामा सामाजिक सुरक्षा कोषको ८ अर्ब रुपैयाँ परिचालन गरिँदै, उच्च प्रतिफलका आयोजनामा लगानी गरिने

निजी क्षेत्रको सहभागितामा सामाजिक सुरक्षा कोषको ८ अर्ब रुपैयाँ परिचालन गरिँदै, उच्च प्रतिफलका आयोजनामा लगानी गरिने



काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषको रकमलाई उच्च प्रतिफल दिने आयोजनामा लगाउने भएको छ । पछिल्लो समय सामाजिक सुरक्षामा राष्ट्रको आर्थिक भार उच्च रुपमा थपिँदै गएपछि सामाजिक सुरक्षा कोषको रकमलाई उच्च प्रतिफल दिने आयोजनामा लगाएर प्राप्त प्रतिफलबाटै नै सामाजिक सुरक्षाका कार्यक्रममा योगदान दिइने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

‘अबका दिनमा सामाजिक सुरक्षा कोषको रकमलाई निजी क्षेत्र सहितको सहभागितामा उच्च प्रतिफल दिने ठूला आयोजनाहरुमा लगानी गर्नेछौं,’ अर्थमन्त्री शर्माले भने, ‘त्यसरी गरिएको लगानीबाट प्राप्त हुने प्रतिफलबाटै सामाजिक सुरक्षाका कार्यक्रमहरु संचालन गरिने छ ।’

हाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम संचालनमा ल्याएको छ । जसका श्रमिक तथा कर्मचारीले विभिन्न शिर्षकमा गरी यहि भदौ २६ गतेसम्ममा ७ अर्ब ८६ करोड रुपैयाँ योगदान गरिसकेका छन् । हाल उक्त कोषमा औषधि उपचार, दुर्घटनादेखि लगानी प्रतिफलसम्म गरी विभिन्न ८ योजना अन्तरगत श्रमिक तथा कर्मचारीले योगदान गर्दै आएका छन् ।

उक्त कोषमा योगदान गर्ने कर्मचारीमध्ये ८ हजार ८ सय ८१ जनाले २८ करोड २९ लाख रुपैयाँ दावी भुक्तानी पाईसकेका छन् । भोलीका दिनमा विभिन्न शीर्षकमार्फत योगदान कर्तालाई औषधि उपचार, क्षतिपूर्तिका साथै लगानी प्रतिफल समेत दिनुपर्ने भएकाले उक्त कोषमा जम्मा भएको रकमलाई उच्च प्रतिफल दिने आयोजनामा लगानी गर्न लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको हो ।

हाल कोषमा ८ अर्ब रुपैयाँ मात्रै जम्मा भएपनि श्रमिक तथा कर्मचारीले नियमित रुपमा योगदान गर्ने हुँदा ठूलो रकम जम्मा हुने छ । जसबाट लगानी गरेर उच्च प्रतिफल प्राप्त गर्नुका साथै स्वदेशी पुँजीबाटै ठूला आयोजनाहरु निर्माण गर्न सकिने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

हाल उक्त कोषमा जम्मा भएको रकमलाई विभिन्न बैंकहरुमा मुद्दती निक्षेपमा राखेर ब्याज खाने काम मात्रै भइरहेको र त्यसबाट उच्च प्रतिफल नआउने हुँदा सोही अनुरुप लगानी गर्न लागिएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए । ‘अहिले अर्थमन्त्रालयले उक्त कोषमा जम्मा भएको रकमलाई कुन कुन क्षेत्रमा लगानी गर्न उच्च प्रतिफल दिन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहेको छ,’ उनले भने, ‘यस विषयमा राष्ट्र बैंक, श्रम मन्त्रालय, अर्थ मन्त्रालय लगायतका सरोकारवाला निकाय भनेर कुन कुन क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ सो विषयमा मस्यौदा तयार गर्ने छौं ।’

साथै सामाजिक सुरक्षा कोषको लगानीको कार्यक्षेत्रको सम्बन्धमा संसदबाटै पास गरेर कार्यान्यनमा लगिने समेत प्रवक्ता आचार्यले जानकारी दिए । यस अघि सामाजिक सुरक्षा कोष ऐन पनि ससदबाटै पास गरिएको र अबका दिनमा केकस्ता क्षेत्रमा लगानी गर्ने भन्ने विषयमा पनि संसदबाटै पास गराएर कार्यान्यनमा लगिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL