Logo

नेपाली पर्यटक लक्षित अफर दिँदै सौराहाका होटल, पर्यटक आउनेमा व्यवसायी आशावादी

नेपाली पर्यटक लक्षित अफर दिँदै सौराहाका होटल, पर्यटक आउनेमा व्यवसायी आशावादी



काठमाडौं । गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् ।

आन्तरिक पर्यटकलाई लक्ष्य गरी सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्न थालिएको हो । होटल नचल्दासमेत कोठा सरसफाइ गरिरहनुपर्ने हुन्छ । सौराहाका युवा व्यवसायी सुमन घिमिरेले कोभिडका समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए । यी पाहुना यस वर्ष आउनेछन् । उनले भने, “गएको असारमा मलाई बैंकको ब्याज, किस्ता र अन्य खर्चमा समस्या भएन,” उनका पाहुनाले असारअघि नै रकम जम्मा गरिसकेका छन् । यस वर्ष उनीहरू भ्रमणमा आउनेछन् ।

जङ्गल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैँ–तिहार सौराहा अफर सार्वजनिक गरेका छन् । दुई रात तीन दिनको यो प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने छ । होटल एशोसिएशन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेष्टमा पनि यो प्याकेज घोषणा गरिएको छ । विष्टले भने, “हामीले दशैँ–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ ।” उहाँको प्याकेजमा एक रात दुई दिनको रु चार हजार ४४४ पर्दछ । जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्ट पर्दछन् । यससँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्दछ ।

होटल सेभेनस्टारले दशैँ–तिहार अफर ४० प्रतिशत छुट गरेको छ । कोठामा यो छुट गरिएको हो । होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा पनि १० प्रतिशत छुट गरिएको बताए । कर्पोरेट कार्यक्रममा पनि विशेष छुट दिइएको उनले जानकारी दिए । छुटसँगै कार्यक्रम आइरहेका दुवाडी बताउँछद्धन् । उनले भने, “कर्पोरेट कार्यक्रम, विवाहसँगै कोठा बुकिङ हुन थालेका छन् ।” भारतीय र मारवाडी समुदायको विवाहको बुकिङ भएको दुवाडीको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताउँछन् । उनले भने, “अब पर्यटक आउँछन् भन्नेमा हामी आशावादी रहेका छौँ ।” राष्ट्रियरूपमा नै सौराहामा अन्य समयको तुलनामा अफरमार्फत आन्तरिक पर्यटकलाई छुटको व्यवस्था भएको सन्देश पुर्याइदिन उनको आग्रह छ । आन्तरिक पर्यटक भित्र्याउन सकेमा होटल टिक्ने उनी बताउँछन् । सौराहामा ११० होटल र १०० हाराहारी रेष्टुराँ रहेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छुटका अफर ल्याउने विषयमा छलफल थालिएको बताए । कोभिड घटेको र चाडपर्व आएकाले अब पर्यटक आउनेमा आफूहरू आशावादी भएको खतिवडाको भनाइ छ । उनले भने “जे–जति नोक्सान हामीले व्यहोर्यौँ अब नहोलाजस्तो लाग्छ ।” आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको उनले जानकारी दिए । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई अधिकांश होटलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको बताए । कतिपयले प्याकेज बनाएका छन् भने कतिपयले एकमुष्ट छुट दिएको उनको भनाइ छ ।

गत वर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान व्यहोरेका व्यवसायीले अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित बनाएर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिरहेको उनी बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीबाहेकका सबै गतिविधि सञ्चालनमा रहेका छन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । निकुञ्जको मुख्य प्रवेशद्धार सौराहा हो । यो देशकै पर्यटकीय गन्तव्य हो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL