Logo

एक वर्षमा उर्जा क्षेत्रमा १ खर्ब ९ अर्ब लगानी प्रतिवद्धता, वैदेशिक लगानीमा भने उच्च गिरावट

एक वर्षमा उर्जा क्षेत्रमा १ खर्ब ९ अर्ब लगानी प्रतिवद्धता, वैदेशिक लगानीमा भने उच्च गिरावट



काठमाडौं । नेपालको उर्जा क्षेत्रमा मात्रै पछिल्लो १ बर्षमा १ खर्ब ९ बढीको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले दिएको जानकारी अनुसार गत बर्षको साउन १ गतेयता उर्जा क्षेत्रमा मात्रै १ खर्ब ९ अर्ब ९७ करोड ४४ लाख रुपैयाँ स्वदेशी लगानी प्रतिवद्धता आएको हो ।

अघिल्लो बर्षको यही अवधिमा ९९ अर्ब २० करोड रुपैयाँ बराबरको स्वदेशी लगानी यो क्षेत्रमा आएको थियो । जसमा ठूला ३९ परियोजनामार्फत ९८ अर्ब १२ करोड रुपैयाँको प्रतिवद्धता आएको थियो । उक्त समय उर्जा क्षेत्रका ४३ परियोजनामा २ हजार २१ जनालाई रोजगारी दिईने लक्ष्य राखिएको थियो ।

यस्तै यो वर्ष साना आयोजनाका लागि भन्दै १ परियोजनामार्फत ११ करोड ७५ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यस्तै २७ ओटा ठुला परियोजनामा १ खर्ब ९ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको उद्योग विभागले जानकारी दिएको छ । साथै मझौला परियोजना भन्दै विभागमा २ परियोजना दर्ता भएका छन् । जसको कुल लागत ५२ करोड ८५ लाख रुपैयाँ बताईएको छ । यी परियोजनामार्फत १ हजार ४ सय ७ जनाले रोजगारी पाउने बताइएको छ ।

यस अवधिमा यो क्षेत्रमा वैदेशिक लगानी प्रतिवद्धता भने न्यून देखिन्छ । उद्योग विभागका अनुसार पछिल्लो १ बर्षमा उर्जा क्षेत्रमा २७ करोड रुपैयाँ बराबरको मात्रै वैदेशिक लगानी स्वीकृत भएको छ । तर गत बर्षको यही अवधिमा भने उर्जा क्षेत्रमा विभिन्न देशबाट ५ ओटा परियोजनामार्फत ४ अर्ब ९७ करोड ८७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

जसमा ४ ओटा ठुला र १ साना परियोजनामा उक्त लगानी स्वीकृत भएको हो । अघिल्लो बर्षको तुलनामा चालु आवमा नेपालमा आउने विदेशी लगानी प्रतिवद्धतामा ४ अर्ब ७० करोडको गिरावट आएको तथ्यांक छ । यस्तै यो बर्षको सोही अवधिमा भने विभागले ३ वटा परियोजनामध्ये २ अमेरिकी १ सिंगापुरका परियोजनामा लगानी प्रतिबद्धता आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL