Logo

सेयर लगानीकर्ताबाट सरकारलाई हालसम्मकै धेरै पुँजीगत लाभकर प्राप्त, कुन महिनामा कति ?

सेयर लगानीकर्ताबाट सरकारलाई हालसम्मकै धेरै पुँजीगत लाभकर प्राप्त, कुन महिनामा कति ?



काठमाडौं । गत आर्थिक वर्षमा सेयर लगानीकर्ताबाट सरकारले हालसम्मकै उच्च पुँजीगत लाभकर प्राप्त गरेको छ । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सेयर कारोबारबाट १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको हो । सरकारले सेयर बजारबाट पाएको यो लाभकर हालसम्मकै उच्च हो ।

अघिल्ला आर्थिक वर्ष २०८०/८१ मा भने सरकारले ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर पाएको थियो । सेयर बजारमा सुधार, कारोबार वृद्धिका कारण सरकारले धेरै पुँजीगत लाभकर प्राप्त गरेको हो । यसले सरकारको आम्दानी त बढ्यो नै लगानीकर्ताको आम्दानी पनि बढेको संकेत गर्छ ।

आर्थिक वर्ष २०८१/८२ मा सेयर कारोबार रकम ३ गुणाले बढेर २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब रुपैयाँको मात्रै सेयर कारोबार भएको थियो । सेयर कारोबार रकम बढेसँगै सरकारले पाउने पुँजीगत लाभकर पनि बढेको हो ।

सेयर लगानीकर्ताहरूले हरेक कारोबारमा नाफा भएमा सरकारलाई कर तिर्नुपर्छ । १ वर्षभन्दा कम अवधिमा भएको नाफामा लगानीकर्ताले ७.५ प्रतिशत तथा सो अवधिभन्दा धेरै समयबाट भएको नाफामा ५ प्रतिशत पुँजीगत लाभकर तिर्छन् । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने गर्छ ।

गत वर्ष सबैभन्दा धेरै पुँजीगत लाभकर साउन महिनामा उठेको छ । यस महिना पुँजीगत लाभकरबापत सरकारलाई ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ आम्दानी प्राप्त भएको थियो । त्यस्तै भदै महिनामा सरकारले २ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको थियो । असोज र कात्तिकमा भने पुँजीगत लाभकर घटेको थियो । त्यस्तै, मंसिर, माघ, फागुन वैशाख, जेठ र असारमा पुँजीगत लाभकरमार्फत सरकारलाई १ अर्बभन्दा धेरै आम्दानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्