काठमाडौं । गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो १० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ।
कम्पनीले ५० करोड रुपैयाँको जारी पूँजीको २० प्रतिशत हिस्सा अर्थात् १० लाख कित्ता सेयर रु.१०० अंकित दरमा निष्कासन गर्ने तयारी गरेको हो।
यस प्रयोजनका लागि गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच दुईपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौतामा गर्जाङ उपत्यकाका अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि क्रिया अघि बढाउने छ ।
गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले रामेछाप जिल्लामा रहेको २.८३ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चके खोला जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ।