Logo

कर्मकाण्डी अनलाईन कारोबार र व्यापार युद्धको असर नेप्सेमा, के होला भविष्य ?

कर्मकाण्डी अनलाईन कारोबार र व्यापार युद्धको असर नेप्सेमा, के होला भविष्य ?



काठमाडौं । धेरै लगानीकर्ताको आशा थियो नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले अनलाईन कारोबार संचालनमा ल्याएसँगै सेयरको मूल्य दैनिक रुपमा आकासिँदै जानेछ । दुई तिहाई बहुमतको सरकार र अनलाईन ट्रेडिङका कारण बजार उच्च बढ्ने भन्दै प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अघि धेरै लगानीकर्ताले सेयरमा लगानी बढाएका थिए ।

तत्कालिन नेकपा एमाले तथा नेकपा माओवादीले आफ्नो सरकारले आएसँगै सेयर बजार विस्तारका लागि सहयोग गर्ने प्रतिवद्धता तथा पूँजी बजारप्रतिको उनीहरुको आश्वासनका कारण लगानीकर्ताहरु हौसिएर सेयर बजारमा केन्द्रित भएका थिए । तर, ठ्याक्कै त्यसको विपरित नेकपाको दुई तिहाई बहुमतको सरकार आएसँगै विभिन्न बहानामा सेयर बजारलाई पिल्साउने काम भयो । कहिले पूँजीगत लाभकर, कहिले सम्पती शुद्धिकरणजस्ता विषयले लगानीकर्तामा त्रास फैलियो भने लगानीकर्ताको प्रतिक्षामा रहेको अनलाईन कारोबार पनि कर्मकाण्डीमा बन्न पुग्यो ।

नेप्सेले अनलाईन कारोबार आएसँगै लगानीकर्ताले केहीसमय राम्रोसँग कारोबार नै गर्न पाएनन् । जसले गर्दा लगानीकर्ताको आक्रोश उच्च हुन पुग्यो भने लगानीकर्ता आबद्ध संघसंस्थाले नेप्से घेराउ गर्ने कार्यक्रमसमेत बताए । बजारमा अनलाईन करोबारको प्रभाव देखिन ६ महिनादेखि १ बर्षलाग्ने भएकाले पनि डिम्याटको जस्तो तत्काल बजारमा प्रभाव नपर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । डिम्याट कार्यान्वयनमा आउँदा सेयर सप्लाई रोकिने हुनाले कारोबार खुल्ने वितिकै मूल्य उच्च हुन जाँन्छ । तर, अनलाई कारोबारमा साविकको झै कारोबार हुने हुँदा पूर्ण स्वचालित अनलाईन कारोबार र सो सम्बन्धी नियमावली नबनेसम्म अनलाईन कारोबारको प्रभाव बजारमा देखिने छैन । अनलाईन कारोबारले बजार क्रमिक रुपमा सेयरको माग बढ्दै जाने भएकोले दिर्घकालिन रुपमा समग्र बजारलाई फाईद भएपनि तत्कालका लागि डिम्याटको जस्तो उछाल आउदैन ।

पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार युद्ध तथा डलर मूल्य उच्च रुपमा बढ्दा पुग्दा त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिन थालेको छ । डलर मूल्यका कारण देशको आयात उच्च भई देशको भुक्तान सन्तुलनमा असर गर्ने र डलरको संचितीमा समेत गिरावट आउने हुँदा त्यसको अप्रत्यक्ष असर सेयर बजारमा देखिएको हो ।

अझै पनि क्रस बोर्डर ट्रेडिङ, गैर आवासीय नेपाली (एनआरएन)लाई सेयर कारोबार खला तथा पूर्ण स्वचालित अनलाईन कारोबारजस्ता आधारभुत पक्षहरुमा सुधार तथा कार्यान्वयनमा नआएसम्म बजार नबढ्ने सम्बद्ध लगानीकर्ताको भनाई रहेको छ । उच्च व्याजदर, क्रेडिट क्रञ्च तथा दैनिकजसो सेयर बजारमा आएको गिरावटको कारण मार्जिन कलको दबाबका कारण लगानीकर्ताहरको मनोविज्ञानमा नकारात्मक असर पारेको छ । जसले गर्दा नयाँ सरकार गठन र अनलाईन कारोबार संचालनमा आउनुभन्दा अघि बजार बढ्ने आशामा सेयर बजारमा छिरेका लगानीकर्ताहरु पनि अहिले पछुताउन थालेका छन् ।

नेप्सेमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यताका कारणले गर्दा पनि बजार गिरावट आईरहेको छ । अझै पनि सेयर बजारमा ६० देखि ७० प्रतिशत हिस्था बैंक तथा वित्तीय संस्थाको रहेको छ । नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजनाका कारण बैंकहरुले आफ्नो चुक्तापूँजीमा ४ गुणासम्म वृद्धि गर्नुपर्यो भने ख र ग बर्षका वित्तीय संस्थाले सोभन्दा बढी गुणाले पूँजी वृद्धि गरे । पूँजी वृद्धिको प्रभावकै कारण यस अघि लगानीकर्तालाई शतप्रतिशत बोनस सेयर वितरण गरेको स्टाण्डर्ड चाटर्ड बैंकले यो पटक १७ प्रतिशत नगद लाभांस मात्र वितरण गर्ने प्रस्ताव गरेको छ ।

पूँजी वृद्धिका कारण बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवसायलाई एग्रेसिभ रुपमा विस्तार गर्दा त्यसको असर सेयर बजारलाई असर पार्ने प्रति सेयर आम्दानीलगायतका क्षेत्रमा देखिएको छ ।

यसैगरी देशको भुक्तान सन्तुलमा नकारात्मक हुँदै जानु, चालू खाता घाटा उच्च र बजारमा देखिएको बढ्दो मुद्रास्फितीका कारण पनि सेयर बजारमा ठूलो प्रभाव परेको छ । शोधनान्तर घाटा बढेर साढे ३५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने चालू खाता घाटा बढेर ८२ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले मुद्रास्फिती ४ दशमलव ७ प्रतिशतको हाराहारीमा रहेको तथ्याङ्क सार्वजनिक गरेपनि अमेरिकी डलरको मूल्य वृद्धिका कारण बजारमा उच्च रुपमा बढ्न पुगेको छ ।

बढ्दो मुद्रास्फिती, उच्च ब्याजदर, क्रेडिट क्रञ्चको समस्या तथा उच्च व्यापारघाटाका कारण सेयर बजारमा नकारात्मक प्रभाव पारेको छ । चालू आर्थिक बर्षका पहिलो ३ महिनामा देशमा भित्र्ने रेमिटान्सको वृद्धिदर ३७ प्रतिशत रहेपनि आयातमा भएको वृद्धिका कारण सकारात्मक प्रभाव पार्न सकेको छैन । देशको विग्रदो आर्थिक अवस्था र लगानीकर्ताले सहज रुपमा लगानी गर्न पैसा नपाएका कारण नेप्से परिसुचक अझै ओरालो सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL