काठमाडौं । सहयोगी विकास बैंक र महिन्द्राबीच लगानी सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र महागणपति अटो सेल्स प्रालिको प्रबन्ध सञ्चालक दिपेन्द्रकुमार दासले शनिबार हस्ताक्षर गरेका हुन् ।
संझौता अनुसार अटो सेल्सले बिक्री गर्ने दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले लगानी गर्नेछ । बैंकले मोटरसाइकलमा मूल्यको ६० प्रतिशतसम्म लगानी गर्नेछ ।
बैंकले लगानी गरेबापत कम्पनीले प्रति मोटरसाइकल २ देखि ४ हजार रूपैयाँसम्म कमिशन दिनेछ । सो संझौता असार ३१ सम्म रहनेछ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि थप गर्न सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले केही समय अघिमात्र मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सर्भिसेस सेवा सुरुवात गरेको थियो । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरू प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रिजालले बताएका छन ।
५० करोड ९६ लाख रुपैयाँ सेयर पूँजी रहेको बैंकले हालसम्म ३ अर्ब ४२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।