Logo

जेनजी प्रदर्शनले सेयर ब्रोकर सेवा बन्द, सुरक्षाकाे पूर्ण प्रत्याभूति नभएसम्म कार्यालयहरू नखुल्ने

जेनजी प्रदर्शनले सेयर ब्रोकर सेवा बन्द, सुरक्षाकाे पूर्ण प्रत्याभूति नभएसम्म कार्यालयहरू नखुल्ने



काठमाडौं । काठमाडौं रिङरोडभित्रका सेयर ब्रोकर कार्यालयहरु आज संचालनमा नरहेको पाइएको छ । जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका कारण स्थानीय सरकारले लगाएको कर्फ्युले यहाँका ब्रोकर कार्यालयहरु संचालनमा ल्याउन नसकिएको स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान)ले जानकारी दिएको छ ।

उपत्यकामा जारी कफ्यु आदेशका कारण रिङरोडभित्र रहेका धितोपत्र दलाल व्यवसायीहरूको कार्यालयसम्म पुगेर सेवा सञ्चालन गर्न नसकिने भएकाले सेवाहरू तत्काल प्रभावबाट रोकिएको एशोसिएसनले जनाएको छ । सुरक्षाको ठोस प्रत्याभूति नभएसम्म सेवा सञ्चालन गर्न असम्भव रहेको विज्ञप्तिमा उल्लेख छ ।

लगानीकर्ता, नियामक निकाय, बजार सञ्चालक तथा राफसाफ निकायलाई जानकारी गराउँदै एस्बानले सेवाबन्दीका कारण पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

साथै, उत्पन्न परिस्थितिको समाधानका लागि राज्य संयन्त्र र मातहतका निकायलाई अग्रसर भई सामान्य स्थिति कायम गर्न एस्बानले अपिल गरेको छ ।

आन्दोलनका क्रममा भएको घटनाले मुलुकलाई स्तब्ध पारेको भन्दै एस्बानले गहिरो दुःख प्रकट गरेको छ । प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै एस्बानले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

एस्बानले प्रदर्शनका क्रममा सुरक्षाप्रति संवेदनशील रहन सरकार, प्रहरी र प्रशासनलाई संयमित भई जनधनको सुरक्षा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्