काठमाडौं । ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्याएको अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ‘एट्रेड’ मार्फत अब लगानीकर्ताले धितोपत्र कारोबारसँगै मार्जिन कारोबार सेवा समेत पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले हालै गरेको धितोपत्र व्यवसायी नियमावली २०६४ को छैठौँ संशोधनपछि २० करोड रुपैयाँ चुक्तापूँजी पुगेका सबै ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था गरेको छ। सोही व्यवस्था अन्तर्गत अरुण सेक्युरिटीज (ब्रोकर नम्बर ३) ले डीजीहबले सञ्चालनमा ल्याएको नयाँ टीएमएस प्रणाली एट्रेडमा आवद्ध हुँदै नयाँ सुविधा थप गरेको हो।
नेप्सेअन्तर्गतको पुरानो टीएमएसबाट कारोबार गर्दै आएको अरुण सेक्युरिटीजले अबदेखि डीजीहबको एट्रेडमार्फत कारोबार गराउने जानकारी दिएको छ। कम्पनीका अनुसार पुरानो टीएमएसमा मार्जिन कारोबार सुविधा नहुँदा सो सुविधा समेटिएको नयाँ टीएमएसमार्फत सेवा विस्तार गरिएको हो। कम्पनीले नेप्सेसँगको टीएमएस सम्झौता रद्द गरी आजदेखि आफ्ना करिब २ लाख ग्राहकलाई डीजीहबको अत्याधुनिक प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
एट्रेड टीएमएसमार्फत लगानीकर्ताले वेब, डेस्कटप तथा मोबाइल एपबाट कारोबार गर्न सक्नेछन्। यस प्रणालीमा लगानीकर्ताले सेयर बिक्री गरेलगत्तै सो बराबरको रकमबाट पुनः सेयर खरिद गर्न सक्ने सुविधा रहेको छ, जसका लागि ब्रोकरलाई जानकारी गराउनु पर्ने छैन। यस प्रणालीमार्फत पोर्टफोलियो लाईभ हेर्न सकिने, लाईभ डाटा प्राप्त गर्न सकिने र कारोबारका लागि आधा दर्जनभन्दा बढी फिचर प्रयोग गर्न सकिने सुविधा रहेको छ। प्रणालीको पारदर्शिता, सिस्टमको सुरक्षा तथा तथ्यांकको गोपनीयतालाई उच्च प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
नयाँ टीएमएसमा रहेको प्रमुख विशेषताहरूमा मोबाइल, वेब र डेस्कटप संस्करण उपलब्ध छन्। साथै, लगानीकर्ताले अर्डर बास्केट, मनपरेको सेयरमा अलर्ट राख्न सक्ने, रियल टाइम अलेर्ट पाउने, सजिलो र छिटो अर्डर राख्न सक्ने, मनपर्ने सेयरको मार्केट डेप्थ हेर्न सक्ने, लिंक एन्ड डक, मल्टी विन्डो तथा मल्टी एक्सचेन्ज जस्ता फिचर प्रयोग गर्न सक्नेछन्। कारोबारको लेखाजोखा हेर्नका लागि क्लाइन्ट लगइनको व्यवस्था पनि गरिएको छ। यससँगै अरुण सेक्युरिटीजका ग्राहकले अब अन्तर्राष्ट्रिय स्तरको सुविधासहित नयाँ टीएमएसमार्फत कारोबार गर्न पाउने भएका छन्।