Logo

अन्योलमा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती, ३ उम्मेदवार अन्तरवार्तामै अनुपस्थित

अन्योलमा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती, ३ उम्मेदवार अन्तरवार्तामै अनुपस्थित



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया अन्योलतातर्फ धकेलिएको छ । बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले सर्टलिस्टमा परेका ५ जनालाई आज (आईतबार)का लागि अन्तरवार्ता र प्रस्तुतिकरणमा बोलाएपनि २ जना मात्रै उपस्थित भएपछि नियुक्ती प्रक्रिया नै अन्यौलमा परेको हो ।

यसअघि लामो समयसम्म अन्यौलमा रहेको नियुक्ती प्रक्रियालाई अघि बढाउन छनोट समितिले ५ जनाको नाम सर्टलिस्टमा राख्दै आईतबार अन्तर्वार्ताका लागि बोलाएको थियो । तर अन्तर्वार्तामा बोलाएकामध्ये सन्तोष नारायण श्रेष्ठ र धितोपत्र बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै उपश्थित भएपछि अन्य ३ जना अनुपस्थित भएका थिए । छनोट समितिले कार्यपत्र प्रस्तुत भएपछि कम्तिमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, प्रस्तुतीकरणमै २ जना मात्रै उपस्थित भएपछि यसमा अन्योलता छाएको हो ।

सर्टलिस्टमा नाम परेकामध्ये नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, नेपाल बीमा समिति (हाल बीमा प्राधिकरण)का पूर्व अध्यक्ष चिरञ्जीवी चापागाँई र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी कार्यपत्र प्रस्तुतीकरणमा अनुपस्थित भएका हुन । स्रोतका अनुसार उनिहरुमध्ये नेप्सेका प्रमुख कार्यकारी अधिकृत कार्की जिल्लागत कार्यक्रमका लागि मुगु, दैलेखलगायतका जिल्लामा गएका छन् । उनी काज बिदामा भएकाले भोलीसम्म कार्यालयमा समेत उपस्थित हुनेछैनन् । त्यस्तै अधिकारी र चापागाइँले भने आफुहरु बिरामी परेको र प्रस्तुतीकरणमा उपस्थित नसक्ने भन्दै जानकारी दिएका छन् ।

बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । जसमध्ये अन्तिम ५ जनामा उनीहरुको नाम छनोट भएको थियो । यिनै ५ जनाबाट छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने थियो । जसमध्येबाट १ जना बोर्ड अध्यक्षमा नियुक्त हुने प्रावधान थियो । तर, छनोट समितिले बोलाएको प्रस्तुतीकरणमै ३ जना उपस्थित नभएपछि बोर्डको अध्यक्ष छनोट प्रक्रिया लम्बिएको छ ।

गत पुस २२ गते बोर्डका तत्कालिन अध्यक्ष रमेश हमाल कार्यकालका कारण बाहिरिएसँगै हालसम्म उक्त पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्