Logo

दशैलाई भारतबाट ३० हजार खसीबोका ल्याइने

दशैलाई भारतबाट ३० हजार खसीबोका ल्याइने



काठमाडौं । नजिकिदै गरेको दशैका लागि भारतबाट ३० हजार ओटा खसीबोका ल्याइने भएको छ । बजारको मागलाई स्वदेशी खसीबोकाले मात्रै नधान्ने भएकाले व्यवसायीहरुले अपुग खसीबोका भारतबाट आयात गर्ने तयारी थालेका हुन् । चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष दीपक थापाले दशैका लागि झण्डै ४५ हजार खसीबोका चाहिने भएकाले सोहीअनुसार अपुग खसीबोका भारतबाट आयत गर्ने तयारी भइरहेको विजखबर डटकमलाई जानकारी दिनुभयो ।

‘अघिल्लो वर्ष हामीले झण्डै ३५ हजार खसीबोका आयात गरेका थियौं’ उहाँले भन्नुभयो ‘यसवर्ष करीब ३० हजार ओटाको हाराहारीमा आयात हुने देखिएको छ ।’ भारतका विभिन्न सहरबाट रक्सौल, सुनौलीलगायत नाका हुँदै नेपालमा खसीबोक ल्याइने छ । सदाझै यसपाली पनि बाबरी, बराइटालगायत करीक ५ जातका खसी आयात गरिने संघले जनाएको छ । यसरी आयात भएका खसीबोका काठमाडौंका साथै मोफसलका विविभन्न सहरमा समेत पुग्ने उहाँले जानकारी दिनुभयो ।

संघकाअनुसार अहिले पनि दैनिक उपभोगका लागि भारतबाट प्रतिदिन सरदर करीब १ हजार ओटा खसीबोका आयात हुँदै आएको छ । दशैंका लागि भने फुलपातीको एक साता अघिदेखि आयात शुरु हुने उहाँले बताउनु भयो ।

स्वदेशमा खपत हुने खसीबोका मध्ये ७० प्रतिशत आयातित नै हुने गरेको संघको भनाई छ । खासगरी सहर बजारमा खपत हुने खसीबोका बढी जसो आयातित हुने गरेको छ । भौगोलिक बनावट, बाढी पहिरोलगायतका कारण स्वदेशमा उत्पादन भएका खसीबोका संघलनमा समस्या हुने गरेको व्यवसायीहरु बताउँछन् । यद्यपी, ग्रामिण भेगको माग भने स्वदेशी उत्पादनले नै धान्ने गरेको उनीहरु बताउँछन् । यसवर्ष मुलुकका विभिन्न स्थानबाट दशैका लागि करीब १५ हजार खसीबोका संकलन हुने उहाँले बताउनु भयो ।
दशैकै लागि चीनबाट करीब ५ हजार भेडा च्यांग्रा आयात हुने संघले जनाएको छ । तर, सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोका कारण यसवर्ष उक्त नाकाबाट हुने आयात भने प्रभावित हुने उहाँले बताउनु भयो । अघिल्लो वर्ष चीनबाट ५ हजारको हाराहारीमा भेडा च्यांग्रा आयात भएका थिए । यसवर्ष पनि सोही संख्याको हाराहारीमा भेडा च्यांग्रा आयात हुने उहाँले बताउनु भयो ।

खाद्य संस्थानले साढे ३ हजार खसीबोका ल्याउने

दशैका लागि नेपाल खाद्य सस्थानले करीब ३ हजार ४ सय खसी बोका काठमाडौं ल्याउने भएको छ । अघिल्ला वर्षहरुमा झै यसवर्ष पनि संस्थानले राजधानीमा खसीबोका विक्रीका लागि ल्याउने भएको हो ।

सामान्य दिनभन्दा दशैमा खसीबोकाको माग उच्च हुने भएकाले खसीको मासुको मुल्य अत्याधिक बढाइने गरेको छ । बजारको माग धान्न र अस्वाभाविक मुल्य वृद्धिलाई रोक्न सस्थानले खसीबोका ल्याउने तयारी गरेको हो । संस्थानले बजार हस्तक्षेप गर्नकै लागि करीब ३ हजार ४ सय ओटा खसीबोका काठमाडौं ल्याउने भएको संस्थानका निमित्त नायब महाप्रबन्धक नवराज उपाध्यायले बताउनु भयो । यद्यपी, मागअनुसार खसीबोकाको सख्या बढ्न सक्ने उहाँले जानकारी दिनुभयो । उपत्यका भित्राइएको उक्त खसीबोका सर्व सुलभ मूल्यमा विक्री गर्ने उहाँले बताउनु भयो ।

अघिल्लो दशैमा पनि सस्थानले २ हजार ८ सय वटा खासीबोका विक्री गरेको थियो । संस्थानले आवरश्यक खसी–वोका प्राथमिक बजारबाट सिधै वा टेण्डर प्रक्रियावाट खरिद गर्ने व्यवस्था मिलाउने उहाँले जानकारी दिनुभयो । संस्थानले उक्त खसीबोका बजारभाउभन्दा सस्तो मुल्यमा बिक्री गर्ने छ ।

-बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL