Logo

शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी, पेचिलो बन्दै सडक समस्या

शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी, पेचिलो बन्दै सडक समस्या



काठमाडौं । दशैंका लागि लामो रुटमा चल्ने सार्वजनिक बसको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खोल्ने तयारी गरिएको छ । सरकारी निकाय र यातायात व्यवसायीहरुबीच विभिन्न चरणमा भएका छलफलहरुबाट आगामी २० गते अर्थात शनिबादेखि अग्रिम टिकट बुकिङ खोल्ने निष्कर्श निस्किएको हो ।

laxmi

प्रत्येक बर्षको दशैंमा यातायात व्यवसायीहरुले दशैं मनाउन जन्मथलो जानेहरुका लागि भन्दै घटस्थापनाको १५ दिन अगावै अग्रिम टिकट बुकिङ खुलाउँछन् । सोही अनुसार यो बर्ष पनि गाडी कम र घर जाने मान्छे बढी भएपछि केहि कम दिनको ग्याप राखेर अग्रिम टिकट बुकिङ खुलाउन थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल बताउँछन् ।

उनका अनुसार यातायात व्यवसायीहरुसँग गाडी नै कम हुँदा चाँडै टिकट सकिने समस्या छ । यसरी चाँडै अग्रिम टिकट बुकिङ खुलाई चाँडै टिकट सकिए टिकटमै कालोबजारी हुने भएकाले कम दिनको ग्याप राखेर अग्रिम टिकट बुकिङ खुलाउनुपर्ने बाध्यता रहेको उनले बताए । जसका कारण घटस्थापनाको ८ दिन अघि मात्रै यसको बुकिङ खुलाउने पक्षमा पुगिएको उनी बताउँछन् । ‘यसपल्टको दशैंमा टिकटको माग धेरै र गाडीको आपुर्ति कम हुने सम्भावना छ, यसले कालोबजारी बढाउला कि भन्ने डर छ,’ उनले भने, ‘यसैका कारण हामीले १८ देखि २० गतेसम्ममा अग्रिम टिकट खुलाउने कि भन्ने छलफलमा छौं ।’

हाल सार्वजनिक सवारी व्यवसायीहरुले दशैंमा घर जाने यात्रुका लागि र स्वयं बसका लागि पनि बाटोको समस्या भने रहेको बताउँदै आएका छन् । मुग्लिन नारायणगढ सडक र पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर दाउन्ने सडकका कारण यसपल्ट यात्रुले दूःख पाउने सम्भावना रहेको व्यवसायीहरुले बताएका छन् ।

यस्ता सडकखण्डको मर्मत र सहजीकरणका लागि भने सडक विभागसँग विभिन्न चरणको छलफल भईरहको यातायात विभागका महानिर्देशक रिजालले बताए । ‘व्यवसायी साथीहरुले काठमाडौंबाट पश्चिमतर्फ गएका बसहरु सडककै कारण पुनः फर्किन नसक्ने अवथा रहेको बताउँदै आउनुभएको छ,’ उनले भने, ‘हामीले कम्तिमा दशैंकै लागि भएपनि यस्ता सडकहरुमा सहजीकरण गरिदिन सडक विभागसँग आग्रह गरेका छौं ।’

यता व्यवसायीहरु भने केहि व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खुलाईसकेको बताउँछन् । नेपाल यातायात व्यवसायी केन्द्रिय महासंघका महासचिव भरत नेपाल अरनिकोलगायतका यातायातले अग्रिम टिकट बुकिङ खुलाईसकेको बताउँछन् । तर सरकारी निकायसँगको छलफलमा भने शनिबारदेखि नै अग्रिम टिकट बुकिङ खुलाउने छलफल भएको उनले बताए ।

हाल देशभर लामो रुटका लागि भन्दै सामान्यतया ७ सय गाडीहरु गुड्छन् । तर, दशैंमा भने यात्रुको चापका कारण यो संख्या बढेर १५ सयसम्म पुग्ने व्यवसायीहरुको आँकलन छ । हाल यातायात क्षेत्रको दुई महासंघ यातायात व्यवसायी केन्द्रिय महासंघ र यातायात व्यवसायी राष्ट्रिय महासंघमा गरी ७ सय गाडीहरु संचालनमा छन् । जसमध्ये केन्द्रिय महासंघका ३ सय र राष्ट्रिय महासंघमा ४ सय गाडीहरु रहेको व्यवसायीहरु बताउँछन् । तर, यति गाडीले मात्रै नपुग्ने भएपछि व्यवसायीहरुले प्रदेशभित्रै चल्ने बसका लागि भने लामो रुटको रुट परमिट खोलिदिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL