Logo

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ निष्कासन : कसले दिन पाईन्छ आवेदन ?

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ निष्कासन : कसले दिन पाईन्छ आवेदन ?



काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १ सय दरका ३३ लाख ३२ हजार ५ सय कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ । जसमध्ये आयोजना अतिप्रभावित क्षेत्र फुङ्लिङ नगरपालिका–१, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा भिक्वाखोला गाउँपालिका–१ र २, मेरिङदेन गाउँपालिका–२ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका–१ मा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ४० प्रतिशत र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका बासिन्दाका लागि ६० प्रतिशत शेयर निष्कासन गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

त्यस्तै सर्वसाधारणका लागि ४९ करोड ९८ लाख ७५ हजार बराबरको सेयर ४९ लाख ९८ हजार ७ सय ५० कित्ता साधारण सेयरको १० प्रतिशत सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जसमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी माघ १८ गते हुनेछ भने ढिलोमा आगामी फागुन ४ मा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङको फक्ताङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्ये तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL