Logo

नेपाली सडकमा बढ्दै विद्युतीय सवारी : पूर्वाधारको अभावसँगै कर र उच्च ब्याजदरका कारण मागमा संकुचन

नेपाली सडकमा बढ्दै विद्युतीय सवारी : पूर्वाधारको अभावसँगै कर र उच्च ब्याजदरका कारण मागमा संकुचन



काठमाडौं । पछिल्ला केही महिनायता काठमाडौंका सडकमा विद्युतीय सवारीसाधन बढिरहेको देख्न सकिन्छ । गत बर्षकै तुलनामा पनि हाल सडकमा विद्युतीय सवारीसाधन बढिरहेकै छन् । त्यसमध्ये दुई पांग्रे र चार पांग्रेसँगै ३ पांग्रे सवारीसाधनको संख्या बढ्दै गएको छ ।

सरकारले डिजेल र पेट्रोल गाडीको आयातमा लगाएको प्रतिवन्धात्मक व्यवस्था र पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण धेरैजसो सवारी पारखीहरु यसतर्फ आकर्षित हुँदैछन् । विश्व नै विद्युतीय सवारी साधनउन्मुख भइरहेको सन्दर्भमा विश्वका धेरै देशहरुमा विद्युतीय सवारीसानको प्रयोग अनिवार्य गरिसकिएको छ ।

चीन, थाइल्याण्डलगायतका देशहरुका सडकमा गुड्ने सवारीसाधनमध्ये ५० प्रतिशत सवारीसाधन विद्युतीय छन् । यस्तो ट्रेन्ड आगामी दिनमा पनि नेपाल भित्रिने नेपालका लागि बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इन्कका प्रवन्ध निर्दशक यमुना श्रेष्ठले बताइन । उनका अनुसार पछिल्लो समय बैंकमा तरलता संकुचन, ब्याजदर वृद्धि र सरकारी नीतिका कारण विद्युतीय सवारीसाधनको प्रयोगमा केही कमी भने आएको छ । तर, आगामी दिनमा अझै नेपाली सडकमा विद्युतीय सवारीसाधनको संख्या बढ्ने उनी बताउँछिन् ।

यता भन्सार विभागको तथ्यांक हेर्दा पनि चालु आर्थिक बर्षको पहिलो ४ महिनामा तीनपांग्रे र चारपांग्रे गरी ४ हजार २ सय १३ थान विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । त्यसमध्ये १ हजार १८ थान विद्युतीय कारमात्रै आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।

यस्तै यस अवधिमा तीन पांग्रे सवारीसाधन पनि एसेम्बल गरिएका र नगरिएका गरेर ३ हजार १ सय ९५ थान आयात भएका छन् । खासगरी गुणस्तरिय विजुलीको पहुँच पुगेका सहरहरुमा हाल ३ पांग्रे विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । तराईका धेरैजसो शहरहरुमा पछिल्लो समय सार्वजनिक यातायातकै रुपमा विद्युतीइ तीन पांग्रे सवारीसाधनको प्रयोगकलाई बढावा दिईएको छ ।

नेपालमा उत्पादन हुने विजुलीको खपत बढाउन र विश्वको ट्रेन्ड पछ्याउन सरकारले विद्युतीय सवारीसाधनको आयात र प्रयोगमा धेरैजसो सहुलियत दिएको छ । जसका कारण व्यापारघाटा उच्च हुँदा पनि सरकराले विद्युतीय सवारीसाधनको आयातमा भने रोकावट गरेको छैन । जसका कारण ४ महिनामा मात्रै ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरका विद्युतीय तीन पांग्रे र चार पांग्रे सवारीसाधनहरु नेपाल भित्रिएका छन् ।

यस्तै यसै अवधिमा ५० करोड रुपैयाँ बराबरको ५ हजार ४ सय ३५ थान दुई पांग्रे विद्युतीय सवारीसाधन आयात गरिएको छ । विद्युतीय सवारीसाधनको आयातको तथ्यांकमात्रै हेर्दा पनि केही बर्षमा नेपाली सडकमा दुई पांग्रे र चार पांग्रेको हालिमुहाली नहोला भन्न सकिन्न । सरकारले सार्वजनिक यातायातलाई पनि विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्ने जमर्को गरेसँगै चालु आवको पहिलो ४ महिनामा मात्रै नेपालमा ४५ करोड ६७ लाख रुपैयाँ बराबरका ३७ थान विद्युतीय बस र ६ करोड ९३ लाख रुपैयाँ बराबरको २७ थान विद्युतीय माईक्रोबस आयात भएका छन् ।

यसरी आयात भएका विद्युतीय सवारी साधनमध्ये धेरैजसो सवारीसाधनहरु काठमाडौंकै सडकमा गुड्छन् भने काठमाडौंलगायत अन्य विकसित सहरी क्षेत्र पोखरा, विराटनगर, बुटवल, नेपालगंजलगायतका सहरका सडकहरुमा पनि छिटफुट विद्युतीय सवारीसाधनहरु देखिन थालेका छन् । दिनानुदिन विद्युतीय सवारीप्रयोग र संख्या बढ्दै गएपनि सरकारले भने यसतर्फ उचित ध्यान पुर्याउन नसकेको साईमेक्स इन्कका प्रवन्ध निर्दशक यमुना श्रेष्ठ बताउँछिन् ।

विद्युतीय सवारीसाधनको संख्या र प्रयोगकर्ता बढेसँगै सरकारले निजी क्षेत्रलाई विभिन्न स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउन दिनुपर्ने उनको बुझाई छ । ‘हुन त विद्युतीय सवारी विक्रेताहरुले नै प्रयोगकर्तालाई चार्जिङ सुविधाका लागि निशुल्क दिँदै आएका छन्,’ उनले भनिन्, ‘तर, सरकारले पनि विभिन्न सहरका विभिन्न स्थानमा तिर्व चार्जीङ स्टेशन राख्नका लागि निजी क्षेत्रलाई अनुमति दिनुपर्ने हो ।’

पछिल्लो समय भने बैंकको उच्च ब्याजदरका कारण विद्युतीय सवारीसाधनको व्यापारमा केही गिरावट आएको उनको भनाई छ । सरकारले विद्युतीय सवारीसाधनमा लादिदिएको करको भार उपभोक्ताले व्यहोर्नुपर्दा विद्युतीय सवारीसाधनको मूल्य स्वतः बढिरहेको छ । त्यसमाथि बढेको बैंकको ब्याजदरले ८० प्रतिशतसम्मको फाईनान्स सुविधालाई महंगो बनाएपछि विद्युतीय सवारीसाधनको मागमा संकुचन आएको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
MBL