Logo

विद्युतिय सवारी साधन आयातमा उल्लेख्य वृद्धि, तर छैनन् पर्याप्त चार्जिङ स्टेशन

विद्युतिय सवारी साधन आयातमा उल्लेख्य वृद्धि, तर छैनन् पर्याप्त चार्जिङ स्टेशन



काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थमा भईरहने मुल्य वृद्घिका कारण आजित भएका सवारीधनीलाई विद्युतिय सवारीको बजार बिस्तारले नयाँ बिकल्प खोलिदिएको छ ।

laxmi

राज्यले विद्युतिय सवारीसाधन संचालनका लागि दिएको प्रोत्साहनका कारण यसको आयात बढ्दो छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पछिल्लो ६ महिनामा मात्रै नेपालले १ हजार १ सय ३ ओटा विद्युतिय सवारीसाधन आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १ हजार ५० ओटा सवारीसाधनले बढि हो ।

गत आर्थिक बर्षको यहि अवधिको तुलनामा यसको आयात उल्लेख्य भएको विभागको तथ्यांंकले देखाउँछ । यसरी आयात बढ्नुमा विद्युतिय सवारी आयातमा लगाईएको कर घट्नु प्रमुख कारण भएतापनि ग्राहकको रोजाईसँंगै बजारको लय बदलिनु पनि मुख्य कारण रहेको सम्बन्धित व्यवसायीहरु बताउँछन् ।

नेपालमा हाल विद्युतिय सवारीसाधन राष्ट्रप्रमुख देखि उच्च पदस्त व्यक्तिले पनि प्रयोग गर्ने गरेका छन् । जनतालाई विद्युतिय सवारी प्रयोग गर्नतिर आकर्षित गर्नका लागि स्वयं राष्ट्रपतिले नै यसको प्रयोग गरेको देखिन्छ ।

आव २०७७/७८ को बजेट भाषणमा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतिय सवारीको भन्सार महसुल ८० प्रतिशत पुर्याए पछी यसको आयात तथा बिक्री घटेको थियो । त्यसअघि भने उक्त महसुल १० प्रतिशत मात्र हुँदा आयातसँगै बिक्री राम्रै भैरहेको व्यवसायी बताउँछन ।

विद्युतिय सवारीको माग विश्वव्यापी रुपमा बढ्दै गईरहँदा नेपालमा उक्त सवारीको भन्सार महसुल घटाएदेखी फेरी बजारमा माग बढ्न थालेको नाडा एशोसिएसनका अध्यक्ष ध्रुव थापा बताउँछन् । उनका अनुसार विद्युतिय सवारीसाधनमा भन्सार महसुल घटाएपछि ब्यावसायीको ‘भन्सार दरमा पुनरावलोकन’ सम्बन्धी माग सम्बोधन भएको थियो । यसका कारण विद्युतिय सवारी आयातमा बृद्घि भएसँगै बजारमा माग बढ्दो रहेको छ ।

विभागको तथ्याङ्क अनुुसार चालु आबको पहिलो ६ महिनामा ३ अर्ब २४ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरका विद्युतिय सवारीसाधन आयात भएका छन् । जबकि गतबर्षको उक्त अवधिमा जम्मा १० करोड ५१ लाख ९० हजार रुपैयाँ बराबरका ५१ वटा मात्रै विद्युतिय गाडि आयात भएको देखिन्छन ।

छैनन् पर्याप्त चार्जिङ स्टेशन

पछिल्लो समय बढ्दै गएको विद्युतिय सवारी आयातले नेपाल निकट भविष्यमै विद्युतीय सवारीतर्फ मोडिने पक्का जस्तै देखिन्छ । तर, सम्बन्धित सरोकारवालाहरुले यसका लागि आवश्यक पूर्वाधार निर्माणमा उचित ध्यान नदिँदा भने सरकारकै घोषणा धरापमा पर्ने देखिन्छ ।

उर्जामन्त्री पम्फा भुसालदेखि उर्जा क्षेत्रका विज्ञहरुले पनि पछिल्लो समय नेपालमा उत्पादन भईरहेको विजुली खपत बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । यसैका लागि सरकारी नीतिमा विद्युतीय सवारीसाधनलाई विशेष प्रोत्साहन पनि दिईएको छ । तर, आयातित विद्युतीय सवारीसाधनको तथ्यांक हेर्दा त्यसलाई आवश्यक पर्ने चार्जिङ स्टेशनको पुर्तिको प्रश्न पनि उठ्न थालिसकेको छ ।

नेपाल विद्युत प्राधिकरणले आउदो बैसाख भित्र देशका विभिन्न ५० स्थानमा विद्युतिय सवारी चार्जिङ स्टेशन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसका लागि प्राधिकरणले ठेक्का सम्झौतासमेत गरिसकेको छ । लामो संघर्षपछि ठेक्का लगाईएको उक्त परियोजनाको काम भने अझै सुरु हुन सकेको देखिँदैन । तर, प्राधिकरण भने अबरोध नआए बैसाख भित्रै चार्जिङ स्टेसन निर्माण गरिसक्ने बताउँछ ।

२ बर्ष अघि नै देशभर ५० स्थानमा चार्जिङ स्टेशन बनाउने गरी आह्वान गरिएको बोलपत्रको ठेक्का सम्झौता यसै बर्ष मात्रै भएको थियो । तर, अब कुनै समस्या नआए देशभरका तोकिएका स्थानमा ५० ओटा चार्जिङ स्टेशन बनाईसक्ने प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई बताउँछन् ।

उनका अनुसार उक्त निर्माण कार्य ‘कन्ट्रयाक्ट सेड्युल’ अन्तर्गत प्राधिकरणले अगाडि बढाईसकेको छ । विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र चिनियाँ कम्पनी वाङवाङ डिजिटल इनर्जी कर्पाेरेसनबीच ठेक्का सम्झौता अनुरुप उक्त कार्य अगाडि बढेको प्राधिकरणले जानकारी दिएको छ । यद्यपि निजी क्षेत्रले आफ्नो आवश्यकता अनुरुप उपत्यकाका केहि स्थानमा चार्जिङ स्टेसन निर्माण गरेको नाडाका अध्यक्ष ध्रब थापाले बताए ।

उपत्यकाकै कुरा गर्दा पनि विद्युतिय सवारीसाधनको खपत अनुसारको चार्जिङ स्टेशन स्थापना भने हुन सकेको छैन । हालसम्म नेपालमा आएका विद्युतीय सवारीसाधनको करिव शतप्रतिशत नै उपत्यकामा खपत हुने गरेको नाडा अटोमोबाईल एसोसिएसनले जानकारी दिएको छ । अहिलेसम्म निजिक्षेत्रले आफ्नो आवश्यकता अनुसारका स्थानमा विद्युतिय सवारी चार्जिङ स्टेसन निर्माण गर्दै आएको नाडा अटोमोबाईल एसोसिएसन का अध्यक्ष धु्रब थापाले बताए ।

विद्युतिय सवारीको माग बढे सँगै आयात पनी बढेको छ तर, देशको राजधानीमै पर्याप्त चार्जिङ स्टेसन निर्माण भईनसकेको उनको भनाई छ । राजधानीमा केहि मात्रामा निजि पहलमै भएपनि चार्जिङ स्टेसन निर्माण भएका छन । तर राजधानी बाहिर ठाउँ ठाउँमा चार्जिङ स्टेसन नभैदिँदा विद्युतिय सवारीसाधनको प्रयोग काठमाडौंमै केन्द्रित हुनसक्ने देखिन्छ । हाल काठमाडौंका विभिन्न ३ स्थानमा सुन्दर यातायातले आफ्नो प्रयोगका लागि भन्दै चार्जिङ स्टेशन निर्माण गरेको छ ।

ट्रली बस बन्द भएको दशकपछि चल्न थाले विद्युतिय बस

काठमाडौंको सार्बजनिक सवारीमा ट्रली बस सेवा बन्द भएको दशकपछि मात्र विद्युतिय बस संचालनमा आएका छन । झण्डै साढे २ बर्ष पहिला देखी मात्रै काठमाण्डौमा विद्युतिय बस चल्न सुरु गरेका हुन । २०७६ भदौ २३ गतेदेखि सुन्दर यातायात प्रालीले २ वटा बस बाट उक्त सेवा सुरु गरेको थियो । तर, हालसम्म साझा यातायातले पनि ४० ओटा विद्युतीय बस ल्याउने प्रक्रिया अघि बढाएको छ । यता निजी क्षेत्रको सुन्दर यातायातले भने काठमाडौंमा ५ ओटा बस चलाईरहेको छ । यस्तै ललितपुर महानगरपालिकाले पनि आफ्नो नगरमा विद्युतीय बस संचालन गर्ने तयारी गरेको छ ।

इन्धनमार्फत बाहिरिने अर्बाै रकम नेपालमै बस्ने

हाल नेपालले पेट्रोलियम पदार्थको आयातमा बर्षेनी अर्बौ रुपैयाँ खर्च गर्दै आएको छ । चालू आर्थिक बर्ष २०७८÷७९ को पहिलो ६ महिनामा मात्र ४५ अर्ब ९० करोड १० लाख ९० हजार रुपैयाँको डिजेल र पेट्रोल आयात गरेको देखिन्छ । वैदेशिक व्यापारघाटामा सबैभन्दा बढि हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात नियन्त्रणकै लागि सरकारले विद्युतीय सवारीसाधनको आयातमा खुकुलो नीति लिएको छ । नेपालमा विद्युतीय सवारीसाधनको उल्ल्ेख्य आयातसँगै संचालन भएपछि बार्षिक पेट्रोलियम आयातमार्फत बाहिरिने अर्बाै रकम नेपालमै बस्ने बताईएको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारीका कारण बायु प्रदुषणको मात्रा बढाउन सहयोगी भुमिका रहेको सरकारी तथ्याङ्क रहेको छ । अब विद्युतिय गाडी सडकमा गुडेपछि हाल प्रयोग भईरहेको डिजेल पेट्रोलजन्य तेलको मात्रामा कमी आउने देखिन्छ । यसरी पेट्रोलीयम पदार्थको उपयोग घट्दा वायु प्रदुषण घट्ने सम्बन्धित सरोकारवालाहरु बताउँछन् । महानगरले विद्युतिय बस धुवाँ रहित हुने भएकाले वायु प्रदुषण घटाउन महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरेको छ । विद्युतिय सवारीले वायु प्रदुषण घटाउन अहम भुमिका खेल्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL