सेयर बजार भनेकै सूचना र समस्यामा खेल्ने खेल हो : चन्द्रसिंह साउदको अन्तर्वार्ता


बिजखबर संवाददाता
5 April, 2021 11:44 am

chandra shing saud

पछिल्लो समय नेपाली सेयर बजारमा इन्साईटर ट्रेडिङ, सेयर कर्नरिङ, पम्प एण्ड डम्पजस्ता विषय उठिरहेका छन् । पैसा र सूचनामा पहुँच हुने व्यक्तिले खेल्दा साना तथा साधारण लगानीकर्ता फस्ने क्रम बढेको सम्बद्ध लगानीकर्ताहरुको गुनासो छ । पहुँचवाला लगानीकर्ताले जे गरेपनि नियामक निकाय धितोपत्र बोर्डदेखि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले कुनै कारबाही गरेन त्यतिकै छाडिदियो भन्ने सम्मको आरोप छ । नेपाली सेयर बजारको अहिलेको वास्तविक अवस्थाबारे नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग बिजखबरका रामराजा श्रेष्ठले गेरेको कुराकानीको सार :

Bajaj
Nabil_bank

पूँजीबजारमा ‘इन्साईडर ट्रेडिङ’ भयो, पहिले नै सूचना पाउनेहरुले बजार आफू अनुकुल बनाए भन्ने आरोप बढ्न थाल्यो नि ?

सेयर बजारका लगानीकर्ता सूचनाकै भरमा खेल्ने हुन् । तर, त्यस्तो सूचना आधिकारिक निकायबाट आएको सूचना हो वा होइन लगानीकर्ताले छुट्याउन सक्नुपर्छ । नेपालको पूँजीबजारको सन्दर्भमा कुरा गर्दा कुनै पनि सूचिकृत कम्पनीको सञ्चालक समितिले गरेको निर्णय सबैभन्दा पहिला नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेबसाईटमा आउँछ, त्यो आधिकारिक हो । त्यस पश्चातमात्रै लगानीकर्ताहरुमा सूचना पुग्छ । यदि कुनै सूचिकृत कम्पनीले त्यसो गरेनन् वा निर्णय गरेर लगानीकर्तालाई जानकारी गराउन ढिलाई गरे भने नेप्सेले कारबाही पनि गर्दै आएको छ ।

कुनै अनधिकृत व्यक्तिले सामाजिक सञ्जाल वा बाटोमा हिंड्दा कुन कम्पनीले के गर्दैछ, यस्तो हुँदैछ भन्ने अफवाह फैलाएको भरमा लगानीकर्ताहरु पछि लाग्नुहुन्न । लगानीका लागि सूचना एकदमै महत्वपूर्ण कुरा हो तर त्यो सूचना आधिकारिक हो वा होइन त्यो छुट्याउन सक्नुपर्छ । आधिकारिक कुरै नबुझी अरुले भनेको भरमा लगानी गर्ने अनि इन्साईडर ट्रेडिङ भयो, भनेको जस्तो भएन भनेर विरोध गर्नुको कुनै तुक छैन । हामीले पनि कुन व्यक्तिले बाटोमा के भन्यो, चिया पसलमा के भन्यो भनेर अनुसन्धान गर्दै हिंड्ने कुरा पनि भएन । नेप्सेले सूचिकृत कम्पनीलाई बजार प्रभाव पार्ने निर्णय गरेसँगै सम्बन्धित कम्पनीले नै त्यस्ता सूचना अपलोड गरिदिन मिल्छ । त्यहि सूचनाको भरमा लगानी गर्नुभयो र त्यस्ता सूचनामा गडबड हुँदा समस्यामा पर्नुभयो भने त्यसको जिम्मेवारी हामी लिन तयार छौं । तर कसैले भनेको भरमा वा चिया गफमा कुरा भएको आधारमा चाहिँ लगानी गर्नु हुँदैन ।

त्यसो हो भने नेपाली पूँजीबजारको वास्तविक अवस्था चाहिँ के हो ?

लगानीको लागि सूचनाको महत्वपूर्ण भूमिका रहन्छ । अहिले विश्व सेयर बजारनै सूचना, समस्या र पैसाबीचको खेलमा चलेको छ । विश्वव्यापी ट्रेण्डलाई हामीले पनि नकार्न सक्दैनौं । त्यसै कारण हामीले सूचनाको नियमन गर्ने प्रणालीको विकास गर्यौं । जसका लागि सूचिकृत कम्पनीले बजारलाई प्रभाव पार्ने निर्णय गर्ने बित्तिकै नेप्सेको वेबसाईटमा राख्ने व्यवस्था गर्यौ । त्यस्तो सूचना सिमित लगानीकर्ता होइन कि आम लगानीकर्ताको पहुँचमा पुर्याएका छौं । अर्को कुरा विश्वमा पूँजी बजारबाट धनी भएका व्यक्तिहरुको उदाहरण हेर्नुहुन्छ भने सबैले समस्याग्रस्त कम्पनीमा खेलेको देखिन्छ । नेपालमा पनि विगतमा धेरैजसो बैंक तथा वित्तीय संस्थाहरु समस्यामा आए । त्यस्ता कम्पनीको सेयर पैसा हुने ठूला ग्रूपहरुले प्रतिकित्ता ३५/४० रुपैयाँमा उठाए । अहिले ती कम्पनीको बजारमा सेयर मूल्य कति छ ? समस्याग्रस्त संस्थालाई टेकओभर गरेर त्यसलाई राम्रो बनाएर राम्रो आम्दानी गरेका धेरै उदाहरण छन् ।

तपाईकै भनाईमा लगानीकर्ताले नेप्सेमा अपलोड भएका सूचनालाई मात्रै आधिकारिक मान्नुपर्छ । तर यहाँ त कम्पनीका सञ्चालक, व्यवस्थापकहरुले निर्णय गर्नुअघि नै आपसी सहमति गरेर भित्री सूचनाका आधारमा कारोबार गरे भन्ने छ । यस्ता विषयमा चाहिँ नेप्सेले कारबाही गर्न सक्दैन ?

सूचिकृत कम्पनीले गरेको निर्णय नेप्सेमा अपलोड हुनुभन्दा पहिले नै भित्री रुपमा कारोबार गरेर चलखेल गरे यसमा नेप्से वा सेबोनले हेर्नुपर्छ भन्ने जनगुनासो एकदमै सहि हो । यससँगै मर्जर एक्विजिशनका विषय उठान गरेर पनि बजारमा प्रभाव पार्ने काम भयो, यसमा पनि नियामकले हेरेन भन्ने गुनासो छ । तर त्यसका लागि हामीसँग सप्रमाण सबै कुरा चाहिन्छ । तैपनि मिडियामा आएका आधारमा समेत सम्बन्धित कम्पनीलाई सोध्ने र नेप्सेमा भएको कारोबारको आधामा छानविन गर्दै आएका छौं । यदि जनगुनासो अनुसार गैर कानूनी काम भएको भेटिएका सेबोनमा थप कारबाहीका लागि पठाउने गरेका छौं ।

‘लगानीकर्ता आफैले छानेर सञ्चालक समितिमा पठाउने अनि त्यहिं सञ्चालकले राम्रो काम गरेनन् भनेर हामीले कारबाही गरिदिनुपर्ने ?’

अर्को कुरा हामीलाई अन्य मुलुकको जस्तो इन्साईडर ट्रेडिङमा छानविन गर्ने अधिकार छैन । यससम्बन्धी कानून सेबोनले बनाएर भर्खर अर्थमन्त्रालय समक्ष पेश गरेको छ । त्यो स्वीकृत भएर आएपछि नेप्से तथा सेबोनको क्षेत्राधिकार के हो ? इन्साईडर ट्रेडिङमा कसरी छानविन गरेर कारबाही गर्ने भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुनेछ । तर विद्यमान ऐन नियम भित्र रहेर हामीले विना प्रमाण इन्साईडर ट्रेडिङको छानविन तथा कारबाही गर्न सक्दैनौं । नेप्सेले नगरेको भन्न मिल्दैन । केही समय अघि मात्रै हामीले धेरै ओटा कम्पनीको कारोबार नै रोक्का गर्यौं । स्पष्टीकरण सोध्ने काम गरियो । अहिले केही मिडियाहरुले पनि अनावश्यक सूचनालाई हाईलाईट गरेर लगानीकर्तालाई गुमराहमा राख्ने काम गर्दै आएका छन् । यस्ता विषयमा मिडियाले पनि सुझबुझ तरिकाबाट लेखिदिनुपर्छ ।

कुनै कम्पनीले अघिल्लो दिन हकप्रद सेयर दिने भनेर सूचना निकाल्छ विरोध भएपछि गल्ती भयो भन्दै सच्याउँछ । लामो समयदेखि स्थिरजस्तै रहेको सेयर सर्किट लागेर बढ्छ, अनि त्यसको एकहप्तापछि त्यसैलाई सर्पोट गर्ने गरी बोनस र हकप्रदको निर्णय आउँछ । यहाँभन्दा बढी प्रमाण के चाहियो ?

सूचिकृत कम्पनीको आआफ्ना नियामक निकाय छन् । सूचिकृत कम्पनीले हकप्रद र बोनसको विषयमा गरेको निर्णय नेप्सेमा अपलोड हुन्छ । तर बैंक तथा वित्तीय संस्थाले हकप्रदको निर्णय गर्यो भने त्यसको नियामक राष्ट्र बैंकले स्वीकृति दिनुपर्छ । बीमा कम्पनीले गर्यो भने बीमा समितिको निर्णय चाहिन्छ । त्यस्ता प्रस्तावमा सम्बन्धित कम्पनीको नियामकले परिवर्तन गरिदिन सक्छ । यदि नियामकबाट परिवर्तन भएको खण्डमा हामीले सोधनी मात्रै गर्ने हो अरु केही पनि गर्न सक्दैनौं । तसर्थ हामीले सम्बन्धित कम्पनीका कम्पनी सचिवलाई बजारमा प्रभाव पर्ने निर्णय गर्दा सम्बन्धित नियामक निकायसँग पहिला नै छलफल गरेर सहमति लिएर मात्रै गर्नु भनेका छौं । त्यो पनि हाम्रो क्षेत्राधिकारभन्दा बाहिर गएर भनिरहेका छौं ।

अर्को कुरा कुनै पनि संस्थाको निर्णय गर्ने अधिकारी भनेको सञ्चालक समिति हो । सञ्चालक समिति भनेको तिनै लगानीकर्ताले चुनेर पठाएका हुन् । लगानीकर्ता आफैले छानेर सञ्चालक समितिमा पठाउने अनि त्यहिं सञ्चालकले राम्रो काम गरेनन् भनेर हामीले कारबाही गरिदिनुपर्ने ? सञ्चालक चुन्ने जस्ता निर्णय गर्न लगानीकर्ताहरु स्वतन्त्र हुनुहुन्छ नि । तसर्थ यस्ता विषयमा लगानीकर्ताहरु पनि सचेत हुनु जरुरी छ ।

पहिलो कुरा त लगानीकर्ताले विरोध गरेपछि मात्रै नियामकले छानविनको दायरामा ल्याउँछ । छानविनमा ल्याएपनि २÷४ दिन कारोबार रोक्का गरेर कुनै कारबाही नै नगरी फुकुवा गरिदिनुहुन्छ । यसले गर्दा इन्साईडर ट्रेडिङ लगायतका गलत क्रियाकलापले झन् बढी प्रश्रय पायो नि ?

त्यो तपाईको गलत बुझाई हो । हामीले गरेका छानविन तपाईलाई देखाउनै पर्छ भन्ने छ र ? हामीले गरेको कामकारबाहीको जानकारी हाम्रो पनि नियामक निकायलाई पठाउने हो । त्यो हामीले गर्दै आएका छौं । हामीले गरेको कामको पनि हाईलाईट गरिदिनुपर्यो नि । मिडियाले नराम्रो कामको मात्रै प्रचार गरिदिने त होइन नि । कुनै व्यक्तिलाई एउटा संस्थासँग रिस उठेको आधारमा केही अफवाह फैलायो भने त्यहिं सूचनाको पछि लागेर हिंड्न मिलेन । हामीजस्ता जिम्मेवार निकायमा बसेका व्यक्तिले जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । बजारको हल्ला आफ्नो ठाउँमा छ तर यदि कुनै व्यक्तिले भित्री सूचनाको आधारमा कारोबार गरेको रहेछ भने त्यस्ता कारोबारको रेकर्ड नेप्सेमा देखिन्छ नि । कुनै पनि कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढ्यो भने छानविन पनि गर्छौं । यस्ता विषयमा हामीले दैनिक रुपमा अध्ययन गरिरहेका हुन्छौं भने कतिपय अवस्थामा मिडियामा आएको समाचारको आधारमा पनि छानविन प्रक्रिया अघि बढाएका हुन्छौं ।

कुनै पनि कम्पनीको सेयर मूल्य नियामकले तय गर्ने होइन । यो माग र पूर्तिको अधारमा बजारले तय गर्ने हो । तर कुनै कम्पनीको सेयर मूल्य विना कारण हरेक दिन बढेर सर्किट लागेको छ, ठूलो परिमाणमा कारोबार भएको छ भने नेप्से आफैले अनुसन्धान गरेको हुन्छ ।

तपाईकै भनाईमा पूँजीबजार सूचना, समस्या र पैसाको आधारमा खेलिने खेल हो । त्यसो हो भने सोझासाझा र सामान्य पैसा हुने व्यक्तिले सेयर बजारमा लगानी नगर्ने ?

किन नगर्ने ? बुझाई उल्टो भयो । आजका दिनका दूरदराजका व्यक्तिहरु पूँजीबजारमा जोडिन आउनु भएको छ । कमाउने नकमाउने आफ्नो ठाउँमा छन् । विश्वमा कुनै पनि पेसा व्यवसायमा पैसा भएका व्यक्तिले नै कमाउने हुन् । किन पूँजीबजार मात्रै हेर्नुहुन्छ । घरजग्गादेखि सबै ठाउँमा पैसा हुने व्यक्तिले नै कमाउने हुन् । सेयरबजार पनि व्यापार हैन र ? तर अन्य पेशा व्यवसायको तुलनमा सेयर बजार समावेशी छ । उदाहरणका लागि आईपीओमा १० कित्ता सेयर खरिद गर्न एक हजार रुपैयाँ पर्छ । तर त्यहिं सेयर २२ हजारमा पनि बिक्री गरेर लगानीकर्ताले पैसा कमाएका छन् नि ।

‘पूँजीबजारले सबैलाई समान अधिकार दिने हो । तर कति कमाउने भन्ने विषय आफ्नो क्षमतामा भर पर्छ । हामीले सबैलाई समान अवसर दिने हो तर आर्थिक क्षमता बढाईदिने काम हाम्रो होइन ।’

भर्खरै मात्रै जुम्लाका नागरिकले ५ हजारको आईपीओ खरिद गरेर ३० हजारमा बिक्री गरेर साहुको ऋण तिर्ने, नयाँ लुगा लगाउनेदेखि नयाँ व्यवसाय गर्दै आएका समाचार आएका छन् । तसर्थ पूँजीबजारले सबैलाई समान अधिकार दिने हो । तर कति कमाउने भन्ने विषय आफ्नो क्षमतामा भर पर्छ । हामीले सबैलाई समान अवसर दिने हो तर आर्थिक क्षमता बढाईदिने काम हाम्रो होइन । अहिले सबैलाई सेयर बजारमा प्रवेश गर्न खुला छ । कसैलाई रोकतोक छैन । तसर्थ बढी पैसा हुनेले बढी लगानी गरेर सोही अनुरुप प्रतिफल लिन्छ भने कम हुनेले पनि आफ्नो क्षमता अनुरुप प्रतिफल पाउँछन् ।

नेप्से इन्डेक्स तथा कारोबारमा रेकर्ड ब्रेक गर्दा तपाईहरु खुसियाली मनाउँदै लड्डु नै बाँड्नुहुन्छ । तर बजारमा घटेर लगानीकर्ता मारमा पर्दा चुप लागेर बस्नुहुन्छ किन ?

हाम्रो निश्चित नियम छ । बजार बढ्दा होस् वा घट्दा लगानीकर्तालाई सुसूचित गराउँदै आईरहेका छौं । त्यसैका लागि सर्किट बे्रकको नियम बनाएका हौं । बजारले रेकर्ड ब्रेक गरिरहँदा हामीले निकालेको सुचनाले उक्साहट मात्रै होइन बजार धेरै बढ्यो अब सचेत हुनुहोस् है भनेर लगानीकर्तालाई अप्रत्यक्ष रुपमा गरेको संकेत पनि हो । कुनै समय दैनिक ५०/६० करोड रुपैयाँको सेयर कारोबार हुँदा खुसी बनाउने पूँजीबजारमा अहिले १० अर्ब रुपैयाँको कारोबार हुन थालेको छ ।

यसमा हामीलाई गर्व लाग्छ । हामीले प्रविधिमार्फत बजारको दायरा फराकिलो बनाएर यति ठूलो आकारमा कारोबार हुने अवस्था छ, बनायौ नि । विश्वमा कुनै पनि प्रविधि समस्यारहित हुँदैन । हामी कहाँ पनि केही समस्या आए । त्यसलाई सुधार गर्दै जाने हो । कुनै समय ब्रोकर अफिसमा नपुगी सेयर कारोबार गर्न सकिँदैनथ्यो । अहिले नेपालीले विश्वभरबाट नेपालमा सेयर कारोबार गर्न सक्छन् । त्यो अवस्था नेप्सेले ल्याएको होइन र ? यस्ता विषयमा मिडियाले पनि बोलिदिनुपर्छ । हुन त हाम्रो समाजनै नकारात्मकतातिर गईसक्यो । मिडियाका साथीहरुलाई पनि नराकात्मक विषय प्रचारप्रसार गरेर बढी पाठक तान्नु छ । तसर्थ हामीले नेप्सेमा इतिहास रच्दै अघि बढ्ने हो । जुन काम हामीले गर्दै आएका छौं ।

नेप्सेले चलाएको सिस्टममा सुरु देखि नै समस्या आइरहेको छ । अर्को कुरा बजार बढ्दा सिस्टममा प्रायःजसो समस्या आउँछ । यसमा कतै नेप्से र भेण्डर कम्पनीको नै संलग्ना त छैन भन्ने आरोप पनि छ नि ?

प्रविधिमा कहिलेकाँहीं समस्या आउँछ तर बजार बढ्दा समस्या देखाईयो भन्ने कुरामा मान्न म तयार छैन । विश्वमा कतै पनि समस्यारहित प्रविधि छैन । समस्या आउँछ समाधान गर्दै जाने हो । हामीकहाँ कसरी अनलाईन कारोबार भइरहेको छ भन्ने कुरा बुझ्नु जरुरी छ । नेप्सेसँग नट्स छ, ब्रोकरसँग टीएमएस छ । यसलाई जोड्न डेटा सेन्टर छ । र त्यसलाई चलाउन इन्टरनेट सेवाप्रदायक छन् । ह्याकरबाट जोगाउन फाइरवालहरुको व्यवस्था गरिएको हुन्छ । पेमेन्टका लागि क्लियरिङ हाउसदेखि सिडिएससीसम्मका सिस्टमहरु एकसाथ चल्नुपर्ने हुन्छ । यीमध्ये कुनै एउटामा समस्या आयो भने नेप्सेको अनलाईनमा समस्या आयो भनेर अनावश्यक हल्ला फैलाईन्छ ।

अर्को कुरा हाम्रो देशमा अन्यत्र जस्तो नियम कानून छ कि छैन यस विषयमा पनि ध्यान दिनु जरुरी छ । हाम्रो पूँजीबजार अझै विकास भैरहेको छैन । पेमेन्टदेखि ब्रोकरको टीएमएससम्मको सम्पूर्ण जिम्मेवारी नेप्सेले लिँदै आएको छ । हाम्रो लगानीकर्ता सक्षम नभईसकेको र सोही अनुरुप ब्रोकरहरु पनि समक्ष हुन नसकिरहेका कारण धेरै भार नेप्सेले बोक्दै आएको छ । हामीकहाँ वास्तविक लगानीकर्ता धेरै छैनन् । जतिछन् तीमध्ये अधिकांश पार्टटाईमको रुमपा काम गर्दै आएका छन् । अहिले केही म्युचुअल फण्ड र इन्भेष्टमेन्ट कम्पनीले मात्रै संस्थागत रुपमा लगानी गर्दै आएका छन् । नेप्सेले सबैको भार बोक्दै आएकोले विरोध बढी भएको हो । केही समय अघि नेपालमा निफ्राको सेयर कारोबारमा समस्या आउँदा ठूलो विरोध भएको थियो । तर त्यहिं दिन भारतको नेशलन स्टक एक्स्चेञ्जमा पनि तीन घण्टा समस्या आएको थियो नि । हामीले समस्यालाई सामान्य रुपमा लिएका छैनौं । समाधानका लागि पूर्वाधार तयार गरिरहेका छौं । उदाहरणका लागि लकडाउन अघि नेप्सेको अनलाईनमा ५ हजार पनि लगानीकर्ता आएनन्, सिस्मटले काम गरेन, लगानीकर्ताको विश्वास भएन भनेर मिडियाले लेखेको होइन र । तर कुल कारोबारको ९० प्रतिशत अनलाईनबाटै भइरहेको छ ।

हाम्रा ब्रोकर, लगानीकर्ताहरु साथीहरुले आफ्नो भुमिका निर्वाह गर्नुपर्ने अवस्था आएको छ । कतिपय लगानीकर्ता आफुले खरिद गरेको सेयर मूल्य घट्दा महिनौं दिनसम्म पनि पैसा नतिरी आफ्नो दायित्वबाट पन्छिनुहुन्छ । पैसा लिएर पनि लिएको छैन भन्दै सामाजिक सञ्जालमा हल्ला गर्नुहुन्छ । हामीले आफ्नो साधान र स्रोतले भ्याएसम्म लगानीकर्तालाई उत्कृष्ट सेवा दिँदै आएका छौं । यसका लागि ब्रोकर, भेण्डर कम्पनीदेखि लगानीकर्ता सबै सचेत हुनु जरुरी छ ।

अनलाईन प्रणाली कार्यान्वयनमा आएसँगै लगानीकर्ताले धेरै समस्या पनि भोग्दै आएका छन् । दैनिक ५०/६० करोडको कारोबार १० अर्ब पुगिसक्यो । यो अवस्थामा चुस्तदुरुस्त नयाँ प्रविधि किन भित्र्याउन नसकेको ?

हामीले लागू गरेको प्रविधि चाहिँ नेपालले बनाएको हो र ? मुम्बई स्टक एक्स्चेञ्जमा जुन प्रविधि छ नेप्सेमा पनि सोही प्रविधि छ । तर विश्वका विकसित मुलुकमा जुन प्रविधि वा प्रणाली छ त्यहि हामीले नेपालमा खोज्न मिल्छ ? अमेरिकामा क्यास लेस छ तर नेपालमा त्यसलाई कार्यान्वयनमा ल्याउन सम्भव छ ? आजको दिनमा नेपालको साधन स्रोत, प्रविधि र विदेशको साधान स्रोत प्रविधिलाई तुलना गर्न मिल्ने अवस्था छैन । नेपालमा विकास भएकै दूरसञ्चार पूँजी विकास मात्रै हो ।

हामीले विदेशको जस्तोभन्दा पनि उनीहरुले अङ्गालेको मोडालिटी हाम्रो सिस्टममा छ कि छैन भनेर हेर्ने हो । जुन सिस्टम हामीले कार्यान्वयनमा ल्याएका छौं । अहिले सर्भर डाउन हुनबाट रोक्नका लागि ३ देखि ४ तहको पूर्वाधार तयार गरिसकेका छौं । लकडाउन अघि हामीसँग एउटा मात्रै सर्भर थियो तर अहिले त्यस्ता सर्भर ६ ओटा राखिसक्यौं । तर पनि समस्या आउन त छाडेको छैन । अर्को कुरा प्रविधि एकदमै महंगो र खर्चिलो छ । लगानीकर्ता जसरी आबद्ध हुनुहुन्छ त्यहिं अनुसार प्रविधिको विकास गर्ने हो । नेपालमा ३ करोड जनसंख्या छ भनेर सोही अनुरुप उच्च खर्च गरेर प्रविधि बनाउने होइन ।

हामीसँग दोस्रो बजारमा कारोबार गर्न जति लगानीकर्ता केवाईसी अपडेट गरेर सूचिकृत हुनुहुन्छ त्यो संख्याको आधारमा प्रविधिको प्रयोग बढाउने हो । यो बर्ष त नीति तथा कार्यक्रममै व्यवस्था गरेर हार्डवेयर विकासको लागि ठूलो बजेट विनियोजन गरेका थियौं । यस विषयमा हाम्रो नियामक निकाय धितोपत्र बोर्डले पनि सोही अनुरुप सहयोग गर्दै आएको छ भने नेप्से सञ्चालक समिति पनि त्यतिकै लागि परेको छ । यो भनेको अहिलेको समस्या समाधानका लागि मात्रै होइन भोलिका दिनमा समेत नआओस् भनेर हो । अहिले ६६ भन्दा बढी देशमा बस्ने नेपालीले नेपाली सेयर बजारमा लगानी गर्दै आएका छन् । उहाँहरुले हाम्रो सिस्टम राम्रो भएको भन्दै बधाई पनि दिनु भएको छ । किन त्यसो भयो भने विदेशमा इन्टरनेट देखि अन्य प्रविधि एकदमै फास्ट छ । अब हाम्रो हुम्ला जुम्लामा राम्रोसँग इन्टरनेट नै चल्दैन भने कसरी अनलाईन कारोबार गर्न सकिन्छ । नेट नहुँदा पनि हाम्रो टीएमएस घुमिरहन्छ । के त्यो नेप्सेको गल्ती हो ? लगानीकर्ताको इन्टरनेटको क्वालिटी चाहिँ चाहिँदैन ?

अहिले ब्रोकरहरुले नेप्सेले हामीलाई एपीआई दिएन जसका कारण सेवा विस्तार गर्न सकेनौं । यसकारण अहिले देखिएको समस्यामा ब्रोकरको कुनै दोष छैन भन्दै आएका छन् नि ?

अहिलेको कानून अनुसार ब्रोकरलाई एपीआई दिन मिल्छ र ? ब्रोकर साथीहरुले आफ्नो ब्याकअपमा एपीआई पाउन गरेर माग अघि सार्नुभएको छ । तर नियमविना त दिन मिलेन नि । त्यसैका लागि एपीआई तथा आईटी नीति बनाएर स्वीकृतिका लागि धितोपत्र बोर्ड समक्ष पेश गरेका छौं ।

ब्रोकर साथीहरुले जतिसुकै गुनासो गरेपनि आफ्नो साधन र स्रोत बढाउनुपर्ने बाध्यता छ । आजका दिनमा २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले अहिले आएर काम गर्न सक्छ । यसअघि पनि नेप्सेले ब्रोकरलाई नयाँ व्यवस्था अनुरुप चल्न हार्डवयर, सफट्वेयर लगायतका प्रविधि खरिद गर्नु भनेको थियौं । तर उहाँहरु आफ्नो क्षमताले सक्दैन भनेर क्लाउडमा जानुभयो । अहिले कतिपय ठूला ब्रोकर साथीहरुले आफैले सिस्टम राख्दै आएका छन् भने लगानीकर्ताका लागि उत्कृष्ट सेवा दिँदै आएका छन् । ब्रोकर कम्पनी क्षमता वृद्धि, संस्थागत रुपमा विकास गर्न धितोपत्र बोर्डसँग पनि छलफल भैसकेको छ । यसै सन्दर्भमा मार्जिन ट्रेडिङका लागि चुक्ता पूँजी ५ करोड रुपैयाँ पुर्याएका हौं । ब्रोकरलाई विस्तारै काम दिँदै, लगानीको प्रतिफलसँगै संस्थागत रुपमा विकास गर्दै लैजान जरुरी छ । जसमार्फत लगानीकर्ताले पनि सहज रुपमा सेवा पाउनुपर्यो ।

नियामककै कर्मचारीहरु ब्रोकर कम्पनीमा सेयर होल्डरदेखि आफन्तमार्फत सेयर कारोबारमा संलग्न भएकोले जे गरेपनि कारबाही हुँदैन भन्ने आरोप पनि लागिरहेको छ नि ?

म अरुको जिम्मा लिन सक्दिन । तर मेरो कुनै पनि ब्रोकरमा लगानी छ र त्यसरी कारोबारमा संलग्न छु भने प्रमाण देखाउनुस म जस्तोसुकै कारबाही भोग्न तयार छु । मान्छेलाई आक्षेप लगाउन भन्न त जे पनि पाइयो नि । तर त्यसरी भनिरहँदा सप्रमाण दिन सक्छ भने हामीले आफ्ना कर्मचारी माथि कारबाही प्रक्रिया अघि बढाउन मिल्छ । अरुलाई आरोप चाहिँ लगाउने तर त्यसको कुनै प्रमाण भेटिएन भने कुरा उठाउनुको कुनै तुक हुँदैन । तसर्थ कसैले पनि नियामक निकाय कमजोर छन्, आफै गैरकानूनी कारोबारमा संलग्न छन् भनेर भन्नु भएन । नियमसंगत हुने काम त जसले पनि गर्न पाईहाल्छ ।

प्रतिक्रिया दिनुहोस्

connect_Ips