काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात कर (ट्यारिफ) लगाउने निर्णय गरेका छन् । यो नयाँ कर लगाएसँगै पहिलेदेखिको २५ प्रतिशत करसँग जोड्दा कुल ५० प्रतिशत पुग्ने बीबीसीले जनाएको छ ।
ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार, यो कर आदेश जारी भएको मितिबाट २१ दिनपछि लागु हुनेछ । प्रतिक्रियामा भारतको विदेश मन्त्रालयले यसलाई अनुचित र तर्कहीन भनेको छ ।
बुधबार ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भारतले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेल आयात गरिरहेकाले अमेरिकाले भारतबाट आउने सबै उत्पादनहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको बताएको छ ।
भारतले रुसबाट तेल आयात गर्नुको उद्देश्य एक अर्ब ४० करोड जनसंख्याको ऊर्जा सुरक्षा सुनिश्चित गर्नु रहेको स्पष्ट पारेको छ । भारतले अमेरिकी निर्णयलाई दुर्भाग्यपूर्ण भएको बताएको छ । अन्य धेरै देशले पनि आफ्नो राष्ट्रिय हितमा यस्तै कदम चालिरहेका भारतले बताएको छ ।
भारतले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने पनि प्रष्ट पारेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै कर वृद्धि गर्ने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘भारतलाई रुसी युद्ध मेसिनले युक्रेनमा कति मानिस मारेको छ भन्ने कुराको वास्ता छैन ।’