काठमाडौँ । दक्षिण कोरियामा भएको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव राख्ने लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डिपिके) का नेता ली जे-म्युङले जित हासिल गरेका छन् । उनले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपि ) का किम मुन सुलाई पराजित गरेका हुन् ।
मतगणनामा लीले ४९.३१ प्रतिशत मतका साथ अगाडि छन् भने किमले ४१.३० प्रतिशत मत प्राप्त गरेका छन् । विजय पछि लीले मतदाताहरूलाई धन्यवाद दिदै आफ्नो जिम्मेवारी कहिल्यै नबिर्सने र देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार गर्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्ने बताएका छन् ।
साथै, किम मुनले हार स्वीकार गर्दै जनताको निर्णयलाई विनम्रतापूर्वक स्वीकार गर्ने र ली जे-म्युङलाई विजयको लागि बधाई दिएका छन् । राष्ट्रपति चुनावमा कुल मतदाता ७८.३ प्रतिशत थियो, जुन १९९७ पछिको सबैभन्दा बढी हो । जबकि २०२२ को राष्ट्रपति चुनावमा मतदान ७७.१ प्रतिशत थियो। दक्षिण कोरियामा १९८७ को चुनावमा सबैभन्दा बढी ८९.२ प्रतिशत मतदान भएको थियो ।
यद्यपि दक्षिण कोरियामा २०२७ मा चुनाव हुने भनिएको थियो, तर मार्शल ल लागू भएका कारण गत वर्ष डिसेम्बरमा पिपिपि पार्टीका युन सुक योललाई राष्ट्रपति पदबाट महाभियोग लगाएर हटाइए पछि निर्वाचन भएको हो ।