काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा महत्वाकांक्षी योजना घोषणा गरेका छन्, जसलाई उनले ‘गोल्डेन डोम’ नाम दिएका छन् । यस योजनाको लक्ष्य अमेरिकालाई मिसाइल आक्रमणबाट जोगाउन बलियो सुरक्षा ढाल निर्माण गर्नु हो।
यो केही हदसम्म इजरायलले ‘आइरन डोम’ नाम गरेको वायु रक्षा प्रणालीसँग मिल्दोजुल्दो छ। ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने, ‘सम्पन्न भएपछि गोल्डेन डोमले विश्वको जुनसुकै कुना वा अन्तरिक्षबाट प्रहार गर्ने मिसाइललाई रोक्न सक्नेछ।’
यो योजना अन्तर्गत हजारौं साना उपग्रह पृथ्वीको कक्षमा तैनाथ गरिने छ । स्याटेलाइटको यस नेटवर्कबाट आउने मिसाइलहरू पत्ता लगाउन सकिन्छ। यो तिनीहरूमा नजर राख्न र प्रक्षेपण पछि तुरुन्तै नष्ट गर्न सक्षम हुनेछन्।
ट्रम्पले आफ्नो कार्यकालको अन्त्यसम्ममा यो प्रणाली पूरा गर्ने लक्ष्य रहेको बताएका छन् । यसका लागि आगामी वर्षको बजेटमा २५ अर्ब डलर र कुल १७५ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । ओभल अफिसबाट बोल्दै ट्रम्पले यस्तो बताएका हुन् । यो प्रणालीको डिजाइनलाई अन्तिम रूप दिइएको छ र यसको नेतृत्व स्पेस अपरेशनका उपप्रमुख जनरल माइकल गुएटेलिनले गर्नेछन्।
सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजको मिसाइल डिफेन्स प्रोजेक्टका निर्देशक टम काराकोले यसलाई आवश्यक कदम भनेका छन्। उनले भने, ‘अन्तरिक्षमा युद्धको सम्भावनालाई ध्यानमा राख्दै गोल्डेन डोमले अमेरिकालाई कडा सुरक्षा दिन सक्छ।’ यद्यपि, युनियन अफ कन्सर्ड साइन्टिस्टका भौतिक शास्त्री लौरा ग्रेगोले यो प्रणाली जटिल र महँगो भएको र सजिलैसँग लक्षित गर्न नसकिने चेतावनी दिएका छन् ।
गोल्डेन डोमले हाइपरसोनिक मिसाइलहरू र फ्र्याक्शनल अर्बिटल बमबारर्डमेन्ट प्रणाली जस्ता नयाँ प्रकारका मिसाइलहरूसँग पनि सामना गर्नु पर्नेछ। लागतको बारेमा पनि अनिश्चितता रहेको छ ।
ट्रम्पले १७५ अर्ब डलरको अनुमान गरे पनि केही विज्ञहरूले यो खर्च १६१ देखि ५४२ अर्ब डलरसम्म हुन सक्ने बताएका छन् । र, यो पूरा हुन दशकौं लाग्न पनि सक्छ। सन् १९८३ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले पनि यस्तै हवाई रक्षा प्रणालीको सपना देखेका थिए तर सोभियत संघको पतनअघि त्यो पूरा हुन सकेको थिएन् ।
अमेरिकासँग अहिले छोटो र मध्यम दूरीका क्षेप्यास्त्रहरू रोक्ने प्रणाली छ तर लामो दूरीका क्षेप्यास्त्रहरूलाई ठूलो मात्रामा रोक्न भने उसका लागि अझै ठूलो चुनौती बनिरहेको छ ।