Logo

स्थानीय सरकारमाथि ९ ट्रिलियन ऋणको भारी, सरकारी खर्च कटौती गर्न चीन सरकारको निर्देशन

स्थानीय सरकारमाथि ९ ट्रिलियन ऋणको भारी, सरकारी खर्च कटौती गर्न चीन सरकारको निर्देशन



काठमाडौं । चीन सरकारले मदिरा र चुरोटमा हुने खर्च घटाउन आफ्ना अधिकारीहरूलाई निर्देशन दिएको छ । यसका साथै यात्रा, खाना र कार्यालय स्थलमा हुने खर्च कटौती गर्न पनि भनिएको छ ।

राष्ट्रपति सी जिनपिङ र कम्युनिष्ट पार्टीले सरकारी खर्च घटाउन यो निर्णय गरेको हो । महँगो खाना, रक्सी र चुरोट अब चीनमा कार्यालयहरूमा सेवा दिइने छैन। कार्यक्रममा कुनै भव्य फूल सजावट पनि अब हुने छैनन् ।

चीनको सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनको कम्युनिष्ट सरकारले अधिकारीहरूमा हुने खर्चमा कडाई र बचत गर्न निर्देशन गरेको छ। जसमा सरकारी श्रोतको सदुपयोग गर्न र अनावश्यक खर्च रोक्न अधिकारीहरुलाई आग्रह गरिएको छ । सरकारले अनावश्यक खर्चलाई लाजमर्दो र बचतलाई सम्मानजनक भनेको छ । हाल सालै चीनमा जग्गा बिक्रीबाट हुने नाफा घटेको छ भने स्थानीय सरकारहरूले ठूलो ऋणमा परेका छन ।

ब्लूमबर्गको रिपोर्टका अनुसार चीनका स्थानीय सरकारहरूको करिब ९ ट्रिलियन अमेरिकी डलर ऋणको भारी रहेको छ। यसअघि सन् २०२३ मा राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार र अधिकारीहरूको आसन विरुद्ध अभियान सुरु गरेका थिए। जसमा सरकारले कर्मचारीलाई खर्च कटौती गर्ने बानी विकास गर्न निर्देशन दिएको थियो ।

ब्लूमबर्गका अनुसार २०२४ मा बेइजिङले स्थानीय सरकारहरूको ऋणसँग सम्बन्धित जोखिमहरू कम गर्न अभियान सुरु गरेको थियो। जसले गर्दा पूर्व निर्धारित जोखिम कम हुन्छ र स्थानीय सरकारहरूले आर्थिक विकासमा मद्दत गर्न सक्छन् भन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्