काठमाडौं । पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) स्थित आतंकवादीका नौं अखडामा हवाई हमला गरेको छ ।
भारतीय समयअनुसार बुधबार राति १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ’अपरेसन सिन्दुर’अन्तर्गत भारतले हवाई आक्रमण गरेको हो । जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो ।
भारतीय पत्रिका दैनिक भास्करले पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार भनेर बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ । समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ ।
पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (क्ष्क्एच्) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए । समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ– प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको निगरानी गरे । यसैबीच भारतीय सेनाले पाकिस्तानी सैन्य अखडामा आक्रमण नगरिएको, आतंककारी लुक्ने स्थानलाई मात्र निशाना बनाइएको बताएको छ ।
अर्कातर्फ स्रोतहरूले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार यो एक संयुक्त सैन्य अपरेसन थियो, जसमा भारतीय सेना र वायुसेनाले संयुक्त रूपमा सटिक स्ट्राइक हतियार प्रयोग गरेका थिए । समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ– भारतीय सेनाले पहलगाम आतंकवादी हमलाको लागि जैश–ए–मोहम्मद र लश्कर लुक्ने ठाउँलाई प्रहार गर्ने उद्देश्यले लक्ष्य छनोट गरेको थियो ।