Logo

मोदीको तेस्रो कार्यकाल सुरु : ७२ सदस्यीय मन्त्रिपरिषद, धेरैजसो पुरानै अनुहार

मोदीको तेस्रो कार्यकाल सुरु : ७२ सदस्यीय मन्त्रिपरिषद, धेरैजसो पुरानै अनुहार



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आइतबार विशेष समारोहबीच मोदीले प्रधानमन्त्री पदको शपथ लिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित उनका मन्त्रिमण्डलका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइन् ।

laxmi

भारतमा चुनाव जितेर लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेमा मोदी दोस्रो नेता बनेका छन् । यसअघि उक्त कीर्तिमान भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको नाममा मात्रै थियो । यसअघि २०१४ र २०१९ को लोकसभा चुनाव जितेर मोदी लगातार १० वर्षदेखि प्रधानमन्त्री थिए । उनको दल भारतीय जनता पार्टी (भाजपा) ले अघिल्लो दुई वटा चुनावमा एक्लैले प्रस्ट बहुमत ल्याएको थियो । यस पटकको चुनावमा भने भाजपाले बहुमतभन्दा ३२ सिट कम पायो । तर, भाजपाले नेतृत्व गरेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले बहुमत सिट ल्याएकाले मोदी प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

भारतको ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । भाजपा नेतृत्वको एनडीएले २९३ सिट ल्याएको छ । एनडीएमा आबद्ध आन्ध्रप्रदेशको क्षेत्रीय दल तेलगु देशम पार्टी (टीडीपी) को १६ र बिहारको क्षेत्रीय दल जनता दल युनाइटेड (जदयु) को १२ सिटको समर्थन मोदीलाई प्रधानमन्त्री बनाउन निर्णायक भएको हो । निर्वाचनको परिणामपछि देखिएका आशंकालाई चिर्दै टीडीपीका नेता चन्द्रबाबु नायडू र जदयुका नेता नितिश कुमारले मोदीलाई समर्थन गरेका छन् ।

आइतबार गठित मोदी मन्त्रिपरिषद्मा राजनाथ सिंह, अमित शाह, जेपी नड्डा, शिवराज सिंह चौहान, निर्मला सीतारमण, एस जयशंकर, पीयूष गोयल प्रमुख अनुहार छन् । भाजपा अध्यक्ष नड्डा र मध्यप्रदेशका पूर्वमुख्यमन्त्री चौहान मोदीको तेस्रो क्याबिनेटका नयाँ सदस्य हुन् । हिमाचल प्रदेशका नड्डा राज्यसभा सदस्य छन् ।

मोदीको विश्वासपात्रका रूपमा चिनिने चौहानले भाजपालाई लोकसभा चुनावमा मध्यप्रदेशमा शतप्रतिशत नतिजा दिलाएका थिए । भाजपाले प्रदेशको २५ सिटमै ‘क्लिन स्विप’ गरेको छ । केही महिना अगाडि भएको प्रदेश चुनावमा पनि चौहानकै नेतृत्वमा भाजपाले त्यहाँ जित हासिल गरेको थियो । प्रदेश राजनीतिमा सफल मानिएका चौहानलाई मोदीले ३० सदस्य मन्त्रिपरिषद्मा स्थान दिएका छन् ।

धर्मेन्द्र प्रधान, जितनराम माझी, राजीव रञ्जन सिंह (ललन), सर्बानन्द सोनोवाल, डा. वीरेन्द्र कुमार, राममनोहर नायडू, प्रह्लाद जोशी, जुएल उराव, गिरिराज सिंहले मन्त्री पद पाएका छन् । त्यस्तै, अश्विनी वैष्णव, ज्योतिरादित्य सिंधिया, भूपेन्द्र यादव, गजेन्द्रसिंह शेखावत, अन्नपूर्णा देवी, किरेन रिजिजू, हरदीप सिंह पूरी, मनसुख मांडविया, जी किसन रेड्डी, चिराग पासवान र सीआर पाटिल मन्त्री बनेका छन् । त्यसबाहेक ५ जनालाई स्वतन्त्र प्रभार मन्त्री र ३६ जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिएको छ ।

कुल ७२ जनाले शपथ लिएका छन् । साँझ सवा ७ बजेबाट प्रारम्भ भएको शपथग्रहण समारोह राति १० बजेसम्म चलेको थियो । अघिल्लो कार्यकालमा रहेका प्रमुख मन्त्रीहरूलाई मोदीले दोहोर्‍याएका छन् । उनीहरूको मन्त्रालय तोकिएको छैन । तर, अर्थमन्त्री निर्मला सीतारमण बाहेक धेरैजसोको मन्त्रालय दोहोरिने सम्भावना छ । अर्थमा पीयूष गोयल आउने बताइएको छ ।

मोदीले आफ्नो तेस्रो शपथग्रहण कार्यक्रममा पनि विदेशी राष्ट्र-सरकार प्रमुखहरूलाई बोलाउने परम्परालाई निरन्तरता दिएका छन् । शपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ र सेसेल्सका उपराष्ट्रपति अहमद अफिफ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL