काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकिएको न्यूनतम चुक्ता पूँजी नपुर्याएका बीमा कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । बीमा ऐन २०७९ को दफा ३५ अनुसार प्रकाशित गरिएको अद्यावधिक विवरणअनुसार जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा लघुबीमा कम्पनीसमेत गरी ९ वटा कम्पनीहरुले पूँजीको न्यूनतम मापदण्ड पुरा गर्न सकेका छैनन् ।
जीवन बीमा कम्पनीतर्फ राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पूँजी तोकिएको मापदण्डभन्दा तल देखिएको छ । राष्ट्रिय जीवन बीमाको चुक्ता पूँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ भने एशियन लाइफको पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ ।
निर्जीवन बीमा कम्पनीहरूमध्ये नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडले पूँजी पुरा गरेका छैनन् । नेपाल इन्स्योरेन्सको पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ, युनाइटेड अजोडको पूँजी २ अर्ब १० करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सको पूँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार ६७ रुपैयाँ रहेको छ ।
पुनर्बीमा कम्पनीहरूमध्ये नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार १०० रुपैयाँ र हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको पूँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ । यी दुवै कम्पनीले हालसम्म पूँजीको न्यूनतम मापदण्ड पुरा गर्न सकेका छैनन् ।
लघुबीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको पूँजी मात्र ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमकहरुले तोकिएको समयसीमाभित्र चुक्ता पूँजी पुरा नगरे नियामकीय कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।