काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि उठेका प्रश्नसँग सम्बन्धित फाइल सर्वोच्च अदालतले झिकाउने आदेश दिएको छ।
सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायधिश नित्यानन्द पाण्डेको संयुक्त इजलासले मन्त्रिपरिषद्को निर्णय सम्बन्धी सक्कल फाइल झिकाउन सरकारलाई आदेश दिएको हो।
अध्यक्ष ओझाको योग्यताको विषयमा अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते सर्वोच्चमा उमेरहद नपुग्ने भन्दै रिट दायर गरेकी थिइन्। त्यसको प्रारम्भिक सुनुवाइ चैत २० गते भएको थियो, जसमा विपक्षीलाई लिखित जवाफ पेस गर्न भनिएको थियो।
अर्थ मन्त्रालयको मापदण्ड अनुसार संस्थान वा नियामक निकायको पदाधिकारी बन्न ३५ वर्ष पुगेर ६५ वर्ष ननाघेको हुनुपर्ने भएपनि प्राधिकरणका अध्यक्ष ओझाको उमेर ३२ वर्ष मात्रै रहेको छ । जस अनुसार उनको उमेरहदमै समस्या रहेको कानूनविद्हरु बताउँछन् ।
यसअघि तोकिएको पेशी सरेको अन्तरिम आदेशमाथिको छलफल सोमबार भएको हो। छलफलपछि अदालतले मन्त्रिपरिषद्ले ओझालाई नियुक्त गर्ने क्रममा पेश गरिएको योग्यता सम्बन्धी फाइल झिकाउन आदेश दिएको हो। सरकारले फागुन १३ गते शरद ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।