Logo

प्राधिकरणद्धारा ६ लाख ३५ हजार गुनासो सम्बोधन, छुटफुट भए पुनरावेदन दिन सकिने

प्राधिकरणद्धारा ६ लाख ३५ हजार गुनासो सम्बोधन, छुटफुट भए पुनरावेदन दिन सकिने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ लाख ३४ हजार ९७३ गुनासोहरुको छिनोफानो गरिएको छ । लाभग्राहीमा समावेश गरियोस् भनी दर्ता भएका तथा विभिन्न चरणका सर्वेक्षणबाट संकलन गरिएका सम्पूर्ण गुनासोहरु फस्र्योट गरेको प्राधिकरणले जानकारी दिएको हो ।

ती सबै गुनासो सम्बोधनपछि कूल १ लाख ६ हजार ४६५ पुनर्निर्माण लाभग्राही र ६७ हजार ६८१ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिएका छन । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणमा गुनासो सम्बोधन कार्य निकै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘लाभग्राही हुन नसकेका कुनै गुनासोकर्तालाई अझै लाभग्राहीमा पर्नुपर्छ भन्ने लागेमा पुनरावेदन समितिमा निवदेन दिन सक्नु हुनेछ ।’

प्राधिकरणले गरेको सुरुवाती सर्वेक्षणबाट किटान गरेको लाभग्राही सूचीमा नाम नपरेको भन्दै गुनासा आउन थालेपछि पहिलो चरणमा अति प्रभावित १४ जिल्लामा २०७४ असार मसान्तसम्ममा गुनासो दर्ता खुल्ला गरिएको थियो । ती गुनासोको केन्द्रमा विश्लेषण गरी लाभग्राही एवं गैरलाभग्राही कायम गरिएको हो ।

२०७३ फागुनमा बसेको प्राधिकरण निर्देशक समिति बैठकले गैरलाभग्राहीहरुको पनि एकपटक स्थलगत परीक्षण गर्नु पर्ने निर्णय गरेपछि २०७४ साउनदेखि २०७४ कार्तिक २१ सम्म अति प्रभावित १४ जिल्लामा ३३२ इञ्जिनियर तथा सोही संख्यामा समाजिक परिचालकसहितको टोली खटाई छुट तथा पुनः जाँच सर्वेक्षण २०७४ संचालन गरिएको थियो ।

उक्त सर्वेक्षण अन्तरगत १ लाख २९ हजार ४१० गुनासोकर्ताको सर्वेक्षण सम्पन्न भएको थियो । संघीय संसदको निर्वाचनका कारण २०७४ कात्तिक अन्तिममा सर्वेक्षण स्थगित भयो र निर्वाचनपछि स्थानीय तहका जनप्रतिनिधिहरुको आग्रहमा पुनः २०७४ मंसिर मसान्तसम्म अन्तिम पटक गुनासो दर्ता गर्ने समयसीमा निर्धारण गरेको थियो । उक्त समयभित्र भूकम्प प्रभावित १८ जिल्लासमेत गरी थप १ लाख २ हजार गुनासो दर्ता भएका थिए ।

प्राधिकरणले २०७२ माघदेखि २०७४ बैशाखसम्म ३ चरणमा भूकम्प पीडितहरुको पहिचानका लागि भूकम्प प्रभावित आवास लगत संकलन कार्यक्रम संचालन गरेको थियो । यसअन्तर्गत अति प्रभावित १४ जिल्लामा ८ लाख ६६ हजार ६० र कम प्रभावित १८ जिल्लामा १ लाख ७१ हजार २३१ गरी कुल १० लाख ३७ हजार २९१ घरपरिवारको सर्वेक्षण गरिएको थियो ।

उक्त सर्वेक्षणबाट प्राधिकरणले ७ लाख २६ हजार ७३८ पुनर्निर्माण लाभग्राही र १९ हजार ८६६ प्रवलीकरण लाभग्राही पहिचान गरिएको थियो । गुनासो सम्बोधन पछि कूल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख ३१ हजार ९९४ पुगेको छ । त्यसैगरी, प्रवलीकरण लाभग्राहीको संख्या ७७ हजार २६४ पुगेको छ ।

तीमध्ये, ७ लाख ८२ हजार ६९५ पुनर्निर्माण लाभग्राहीले सम्झौता गरिसकेका छन् । जसमध्ये ७ लाख ७६ हजार ८९८ ले पहिलो किस्ता लिइसकेका छन भने कूल प्रवलीकरण लाभग्राहीमध्ये ४६ हजार ११९ ले सम्झौता गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL