Logo

सुरुङमार्ग तथा जलमार्गको अध्ययन गर्दै सरकार, चालु बर्षमै मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणकार्य सुरु

सुरुङमार्ग तथा जलमार्गको अध्ययन गर्दै सरकार, चालु बर्षमै मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणकार्य सुरु



काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले बार्षिक नीति तथा कार्यक्रममा ५ सुरुङमार्ग तथा जलमार्गको अध्ययन र रेलमार्गको कामलाई तीव्रता दिइने बताएकी छिन । उनले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५ वटा नयाँ सुरुङमार्ग तथा जलमार्गको अध्ययन र रेलमार्गको कामलाई तीव्रता दिइने घोषणा गरेकी हुन ।

संघीय संसद भवन नयाँ बानेश्वरमा संसदको दुबै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ५ वटा नयाँ सुरुङमार्गमा नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको कामलाई निरन्तरता दिँदै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा, कोशी राजमार्गको धुरान–मुलघाट, टोखा–छहरे, लामाबगर–लार्चे सडक खण्डमा सुरुङमार्गको अध्ययन र बीपी राजमार्गको खुर्कोट–चियाबारी सुरुङ मार्गको अध्ययन गरिने छ ।

सरकारले आगामी कार्यक्रममा नेपाली झण्डा राखेर पानीजहाज सञ्चालनको कानुनको तर्जुमा गरिने नीति अख्तियार गरिने भएको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले नेपालमा दर्ता हुने पानीजहाजलाई सुरक्षित वातावरणमैत्री र व्यवस्थित बनाई अन्तरराष्ट्रिय कानुन तथा प्रतिबद्धताअनुसार सञ्चालन गर्न आवश्यक व्यवस्थापन गरिने बताएकी छिन ।

आगामी कार्यक्रममा कालीगण्डकी–राम्दी–देवघाट ९५ किलोमिटर जलयान सञ्चालनको कार्य सुरु गरिने, कोशी–चतरा–दोलालघाट २ सय ३२ किलोमिटर र वराह क्षेत्र–तुम्लिङटार ६७ किलोमिटर, कर्णाली–खक्रौला–खिमडी ११५ किलोमिटर तथा खिमडी–मान्मा १४५ किलोमिटर जलमार्गको रुपमा विकास गर्न अध्ययन थाल्ने छ ।

त्यस्तै रेलमार्गलाई विस्तार गर्न सरकारले आगामी आव भित्र जयनगर–बिजलानगरसम्म १५२ किलोमिटर तथा भारतको बथनाहादेखि विराटनगरसम्म १८ किलोमिटर रेल सञ्चालन गर्ने भएको छ । त्यस्तै बिजलापुर बर्दिवास खण्डमा निर्माण कार्य सम्पन्न गर्ने गरि नीति तथा कार्यक्रममा समाबेश गरिएको छ ।

बर्दिबासदेखि निजगढसम्म ७० किलोमिटर खण्डमा ट्रयाक बेड र रेल पूर्वाधार निर्माण रेलका पुलहरु तथा अन्य पूर्वाधार निर्माणलाई निरन्तरता दिइने र मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणकार्य सुरु गरिने कार्यक्रममा उल्लेख छ ।

कार्यक्रममा काठमाडौं उपत्यकाको मेट्रो रेल, स्काई रेल सेवाको लागि डीपीआर तयार गरिने, काठमाडौं–केरुङ ७२ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन कार्य सम्पन्न गर्ने उल्लेख छ । काठमाडौं–रक्सौल १३६ किलोमिटर रेलमार्गको डीपीआर तयार गरिने नीति तथा कार्यक्रममा समाबेश गरेको राष्ट्रपति भण्डारीले जानकारी दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL