Logo

सडक विभाग र प्राधिकरणबीच बढ्यो टसल, तार अन्डरग्राउन्डको नाममा सडक खनेर अलपत्र पार्दा विभागले रोक्यो काम

सडक विभाग र प्राधिकरणबीच बढ्यो टसल, तार अन्डरग्राउन्डको नाममा सडक खनेर अलपत्र पार्दा विभागले रोक्यो काम



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा गरिरहेको तार भूमिगत गर्ने कार्य हाल रोकिएको छ । प्राधिकरणले सहायक र शाखा सडकहरुमा तार अन्डरग्राउन्ड गरेर करिव सम्पन्न गरेपनि मुख्य सडकहरुमा भने तार अन्डरग्राउन्डीङको काम अघि बढाउन सकेको छैन ।

तार भूमिगत गर्नका लागि सडक र फुटपाथहरु खनेर अलपत्र छोडेपछि यता सडक विभागले भने तार भूमिगत गर्न बाँकी स्थानमा सडक खन्न अनुमति नदिएको हो । प्राधिकरणले हालसम्म भित्री र सहायक सडकहरुमा विदुतीय तार भूमिगत गर्ने कार्य करिव करिव सम्पन्न गरिसकेको छ । यस्ता सडकमा ट्रान्समिसन बक्स राख्ने काम पनि करिव सकिएको छ । तर, सडक विभागले गोंगबु देखि चावहिल, एयरपोर्टदेखि माईतिघर, दरवारमार्ग, रत्नपार्क, जमललगायतका क्षेत्रमा भने काम गर्ने अनुमति नदिँदा हाल काम रोकिएको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई बताउँछन् । उनका अनुसार प्राधिकरणले हालसम्म काम गर्न पाएको भए काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने कार्य सम्पन्न भईसकेको हुन्थ्यो ।

उपत्यकाका हरेक स्थानका विद्युतीय तारहरुलाई भूमिगत गर्नेगरी अघि बढेको काममा सडक विभागले सहमति नदिँदा काम रोकिएको हो ।

नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा विजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए । सो कार्य शिलान्यास गर्नेबेला सडक विभागले सबै सडकमा प्राधिकरणलाई तार भूमिगत गर्न सहमति दिएपनि बीचमा मुख्य सडकहरुमा भने पहिलेको सहमतिले काम नगर्ने र पुनः सहमति लिनुपर्ने विभागको भनाई छ ।

यता प्राधिकरणले पनि उक्त आयोजना शिलान्यास गर्ने बेलामा सहमतिमा होरीजेन्टल मेसिनको प्रयोग गरी तार भूमिगत गर्ने, सडक खनेको १० दिनमै पुरेर सफा गरिदिने, चाँडै मर्मत गर्नेलगायतका कुराहरु राखेको थियो ।

हाल प्राधिकरणले आफैले गरेको सहमति अनुसार काम गर्न नसकेपछि र सडक अलपत्र पारिदिएपछि मुख्य सडक खन्न नदिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापा बताउँछन् । उनका अनुसार धेरै सडकहरु प्राधिकरणकै कारण बर्खामा हिलो र हिउँदमा धुलो हुने अवस्थामा पुगेका छन् । त्यसको दोष सिधै सडक विभागमा आउँछ । अर्थात यसरी सडक खनेर नपुरिकनै अलपत्र पारिदिँदा सम्बन्धीत सरोकारवालाहरुले विभागमाथि औंला उठाउँछन् । यस्तो हुने अवस्था पुनः नआओस भन्नका निम्ति प्राधिकरणसँग नयाँ शर्तसहित अनुमति दिने तयारी गरिएको उनको भनाई छ ।

काठमाडौंका मुख्य सडकहरुमा तार भूमिगत गर्नका पुरानै सर्तहरुसहित ब्लक बाई ब्लक गरेर खन्ने, एक ब्लक भूमिगत गरी सकेर सडक पुरीसकेपछि अर्काे ब्लक खन्ने, सडकमा फोहोर नगर्नेलगायतका बुँदाहरुमा सहमति जुटेपछि मात्रै मुख्य सडकमा तार भूमिगत गर्न दिने महानिर्देशक अर्जुनजंग थापा बताउँछन् ।

तर, यसअघि खनिसकिएका स्थानमा पनि तार, र सडक लथालिंग भएकाले पहिले त्यो सफा गर्न विभागले प्राधिकरणलाई हाल आग्रह गरिरहेको छ ।

प्राधिकरणले विजुलीका तारहरु पोलमा झुण्डीदा शहरी सौन्दर्यतामा खलल पुगेको भन्दै यस्ता तारहरु भूमिगत गर्ने कार्य अघि बढाएको थियो । काम अघि बढाएको २ बर्ष वितिसकेपछि मुख्य सडकमा तार भूमिगत गर्ने कार्यमा अड्चन आएको हो ।
प्राधिकरणले हाल काठमाडौंका कलंकी, रत्नपार्क, महाराजगंज, चावहिल, भक्तपुर र ललितपुर वितरण केन्द्र अन्तर्गतका स्थानमा पनि विद्युतीय तार भूमिगत गर्ने कार्य अघि बढाएको छ । यस्तै उपत्यका बाहिर भरतपुर र पोखरामासमेत तार भूमिगत गर्नका लागि टेण्डर प्रक्रिया अघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL