Logo

नयाँ बर्षबाट सञ्चालनमा आउला त विमानस्थलको मल्टिस्टोरी पार्किङ ?

नयाँ बर्षबाट सञ्चालनमा आउला त विमानस्थलको मल्टिस्टोरी पार्किङ ?


रक्षा रेग्मी
0
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलमा निर्माणाधिन मल्टिस्टोरी पार्किङ आगामी बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । नयाँ बर्षदेखि पार्किङ सञ्चालनमा ल्याउने उद्देश्यसहित तयारी तीव्र बनाइएको हो ।

हाल अराइभलबाट पार्किङसम्म पुग्ने लिंकरोड केही काम बाहेक अन्य पुरा भएको विमानस्थल स्रोतले जानकारी दिएको छ । ‘पार्किङ निर्माणको काम सम्पन्न भइसकेको छ, लिंक रोडको केही काम मात्र बाँकी हो,’ उक्त स्रोतको भने ।

लिंकको निर्माण पहिलै गरिएपनि साँघुरो भएको भन्दै त्यसलाई पुनर्निर्माण गरिएको थियो । जसले गर्दा निर्माण शुरु गरेको लामो समय वितिसक्दा पनि पार्किङ सञ्चालनमा ढिलाई भएको हो । साथै निर्माता कम्पनीले पनि भुकम्प तथा नाकाबन्दीको बाहाना देखाउदै ढिलाई भएको बताउदै आएको छ ।

त्यस्तै विमानस्थले पनि पार्किङ सञ्चालिका निर्देशिका तयार गरिरहेको जानकारी दिएको छ । जसमा १२ ओटा बुँदा समावेश गरिएको छ । जसमा ट्राफिक व्यवस्थापन, खानेपानी, भाडा, ट्रलीको व्यवस्थापनलगायतका बारेमा उल्लेख गरिएको स्रोतले जानकारी दिएको छ । साथै हाल त्यसबारे विमानस्थल र निर्माता कम्पनीबीच छलफल जारी रहेको समेत उनले बताए ।

विमानस्थलले ३० बर्षको बुट प्रणालीमा निर्माता कम्पनी रसुवा केडी भेन्चरलाई जिम्मा दिइएको हो । सम्झौता अनुसार ३० बर्षपछी कम्पनीले सो पार्किङ त्रिभुवन विमानस्थललाई फिर्ता गर्नेछ ।

निर्माता कम्पनीले सो जग्गा प्रयोग गरेबापत मासिक भाडा र राजस्व विमानस्थललाई बुझाउनुपर्ने प्रावधान छ । मल्टिस्टोरी पार्किङ दुई तलाको छ ।

पार्किङ सञ्चालनमा आएसँगै विमानस्थलमा जाने र त्यहाँबाट बाहिरिने बाटो फरक हुने छ । गोल्डेनगेटबाट विमानस्थल भित्रने तथा पार्किङ हुँदै बाहिरिन सकिने छ । कन्भेयरबेल्टबाट ब्यागेज निकालेपछी सुरुङ हुँदै लिफ्टमार्फत पार्किङसम्म पुग्न सकिने छ ।

पार्किङ विमानस्थल छिर्ने गोल्डेन गेटको साइडको खाली ठाँउमा निर्माण गरिएको छ । विमानस्थलको व्यवस्थापन गर्ने तथा अन्तरराष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले सुविधासम्पन्न कार पार्किङ निर्माण गरिएको हो ।

पार्किङमा विमानस्थलको अराइभलबाट सिधै जान मिल्ने भएकोले विमानस्थलको अगाडी हुने भिडभाड कम गर्नुका साथै व्यवस्थित गर्न सकिन्छ ।

पार्किङमा ५ सय ५० ओटा गाडी अट्ने छ । त्यस्तै पार्किङको वरिपरी रेष्टुरेन्ट, पसल तथा स्पा हाउसहरु पनि स्थापना गरिने छ । पसलमा नेपाली संस्कृति तथा परम्परा झल्कने सामग्रीहरु समेत उपलब्ध गराइने छ । सो मल्टिस्टारीमा सञ्चालन गरिने रेष्टुरेन्टहरुले दिने सेवा पनि अन्तरराष्ट्रिय स्तरको हुने विमानस्थलको दाबी छ ।

त्यस्तै सो पार्किङमा सपिङ सेन्टर पनि स्थापना गरिने छ । विदेशबाट आएकाहरुलाई किनमेलका लागि अन्त धाउन नपरोस भन्ने उद्देश्यका साथ सपिङ सेन्टर सञ्चालन गर्न लागिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL