काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याज आय पहिचान प्रक्रियालाई एकरूपता र पारदर्शी बनाउन नयाँ मार्गदर्शन जारी गरेको छ। ब्याज आय पहिचान सम्बन्धी मार्गदर्शन, २०२५ नाम दिईएको मार्गदर्शन एनएफआरएस ९ को अपेक्षित क्रेडिट हानि दिशानिर्देशलाई आधार बनाएर वित्तीय सम्पत्तिको ब्याज आय गणनालाई व्यवस्थित गर्नेगरी ल्याईएको हो ।
मार्गदर्शनअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले २०८१/८२ आर्थिक वर्षको शुरुदेखि नै त्रैमासिक आधारमा ब्याज आयको रेकर्ड राख्नुपर्नेछ। वित्तीय सम्पत्तिहरूलाई स्टेज १, स्टेज २ र स्टेज ३ मा वर्गीकरण गरी प्रत्येक त्रैमासको अन्त्यमा तिनको अवस्था अनुसार ब्याज आय गणना गर्नुपर्ने छ। स्टेज १ मा पास श्रेणीका सम्पत्ति, स्टेज २ मा वाचलिस्ट र पुनर्संरचित तर कार्यसम्पादन गर्ने सम्पत्ति, र स्टेज ३ मा गैर–कार्यसम्पादन गर्ने सम्पत्तिहरू समावेश हुन्छन्।
मार्गदर्शनले एनएफआरएस ९ को पूर्ण कार्यान्वयनका लागि क्रान्तिकारी योजना प्रस्तुत गरेको छ। पहिलो र दोस्रो वर्ष अर्थात् २०८१/८२ र २०८२/८३ मा स्टेज ३ सम्पत्तिका लागि नगद आधार दृष्टिकोण अपनाइनेछ। यसमा ब्याज आयलाई प्राप्य ब्याजको परिवर्तनसँग समायोजन गरिनेछ। तेस्रो वर्ष २०८३/८४ देखि भने प्रभावकारी ब्याजदर वा डिम्ड प्रभावकारी ब्याजदरमा आधारित गणना लागू हुनेछ। पुराना टर्म लोनहरूका लागि डिम्ड प्रभावकारी ब्याजदर प्रयोग गरिनेछ, जसमा एकीकृत शुल्क समावेश गरिने छैन।
२०८३ असारसम्म बुक भएका टर्म लोनहरूलाई पुराना टर्म लोन मानिनेछ। यस्ता लोनहरूमा स्टेज १ र २ का लागि डिम्ड प्रभावकारी ब्याजदर लागू हुन्छ भने स्टेज ३ का लागि परिशोधित लागतमा आधारित गणना गरिनेछ। अन्य वित्तीय सम्पत्तिका लागि भने प्रभावकारी ब्याजदर प्रयोग गरिनेछ, जसमा छुट, प्रिमियम र अन्य एकीकृत लागतहरू समावेश हुनेछन्।
बैंकहरूले प्रत्येक ऋण खाता वा वित्तीय सम्पत्तिको ब्याज आयको विस्तृत रेकर्ड राख्नुपर्ने छ। यो रेकर्ड नियामक र लेखापरीक्षकहरूलाई आवश्यक परेमा प्रस्तुत गर्नुपर्नेछ। ब्याज सस्पेन्स, प्राप्य ब्याज र वास्तविक ब्याज प्राप्तिको हिसाब प्रत्येक त्रैमासमा मिलान गर्नुपर्ने छ।
मार्गदर्शनले ब्याज आय गणनालाई सरल बनाउन उदाहरणहरू समेत प्रदान गरेको छ। यी उदाहरणहरूमा कुपन दर १० प्रतिशत र प्रभावकारी ब्याजदर ८ प्रतिशत मानेर गणना प्रस्तुत गरिएको छ।