Logo

लघुवित्तको ब्याजदर निर्धारणमा नयाँ नियम, अब बढीमा ३ प्रतिशत प्रिमियम थप गर्न पाइने

लघुवित्तको ब्याजदर निर्धारणमा नयाँ नियम, अब बढीमा ३ प्रतिशत प्रिमियम थप गर्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि कर्जामा ब्याजदर निर्धारणसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मिति २०८२ साउन १ गतेदेखि प्रवाह हुने कर्जामा आफ्नो आधारदरमा बढीमा ३ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न निर्देशन दिएको हो ।

नयाँ व्यवस्थाअनुसार लघुवित्तहरुले आफ्ना पछिल्ला तीन महिनाको औसत आधारदरमा आधारित भएर त्रैमासिक रूपमा ब्याजदर निर्धारण गर्नुपर्नेछ । यस्तै, कर्जा प्रवाह गर्दा त्यसको ब्याजदर वाणिज्य बैंकको पछिल्लो मासिक औसत आधारदरमा ९ प्रतिशत बिन्दु थप गर्दा प्राप्त हुने दरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्नेछ ।

साउन १ अघि प्रवाह भएका कर्जाको हकमा भने अधिकतम १५ प्रतिशत ब्याजदरसम्म लिन सकिने व्यवस्था गरिएको छ । साथै, लघुवित्त संस्थाले मासिक रूपमा आधारदर तयार गरी राष्ट्र बैंकमा १५ दिनभित्र पेश गर्नुका साथै आफ्नै वेबसाइटमा पनि प्रकाशन गर्नुपर्नेछ ।

कर्जा दिने बेलामा स्थिर वा परिवर्तनीय ब्याजदर मध्ये ऋणीले छनोट गर्न सक्ने व्यवस्था गरिएको छ । ब्याजदर परिवर्तन गर्नुपरेमा पछिल्ला तीन महिनाको औसत आधारदरमा भएको परिवर्तनको सीमा नघाई मात्र परिवर्तन गर्न पाइनेछ । राष्ट्र बैंकको यो निर्देशले लघुवित्त क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र ऋणीका हितलाई सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्