काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रमुख व्यापारिक साझेदारहरूमाथि लगाइएको भन्सार शुल्कको असर न्यूनीकरण गर्न नाइकीले अमेरिकी बजारका लागि चीनमा हुने उत्पादनमा निर्भरता क्रमशः घटाउने निर्णय गरेको छ। कम्पनीले आगामी पहिलो त्रैमासिकको आम्दानी अनुमानभन्दा कम गिरावट हुने पूर्वानुमान गरेपछि यसको सेयर मूल्य कारोबारपछि ११ प्रतिशतले उकालो लागेको हो।
स्पोर्ट्स सामान निर्माता नाइकीले चौथो त्रैमासिकको नतिजा अपेक्षाभन्दा राम्रो देखाएपछि कम्पनीका कार्यकारीहरूले भन्सार शुल्कका कारण करिब १ अर्ब डलर बराबरको अतिरिक्त लागत थपिने बताएका छन्। प्रमुख वित्तीय अधिकृत म्याथ्यु फ्रेन्डका अनुसार हाल चीनबाट अमेरिका भित्रिने नाइकी जुत्ताको हिस्सा करिब १६ प्रतिशत रहेको छ, जुन सन् २०२६ को मे महिनासम्म घटाएर उच्च एकल अंकमा झार्ने लक्ष्य राखिएको छ।
फ्रेन्डले लगानीकर्तासँगको कुराकानीमा भने, “हामी उत्पादनको स्रोत देशहरूको मिश्रणलाई पुनः व्यवस्थापन गर्दै भन्सार शुल्कका कारण सिर्जित नयाँ लागत चुनौतीको सामना गर्नेछौं।” अमेरिका–चीन व्यापार युद्धको सबैभन्दा ठूलो असर उपभोक्ता सामान क्षेत्रमा परेको छ। नाइकीले संस्थागत खर्च कटौती र मूल्यवृद्धिको उपायमार्फत यसबाट हुने असर कम गर्ने योजना बनाएको जनाएको छ।
उनका अनुसार कम्पनीले लागत घटाउन आवश्यक निर्णयहरू मूल्याङ्कन गरिरहेको छ भने अमेरिकामा केही उत्पादनको मूल्य पहिल्यै बढाइसकेको छ।
मर्निङस्टार रिसर्चका विश्लेषक डेविड स्वार्ट्जका अनुसार, ‘भन्सार शुल्कको प्रभाव गम्भीर भए पनि खेलकुद सामग्री उद्योगका अन्य कम्पनीहरूले पनि मूल्य बढाउने भएकाले नाइकीले धेरै बजार हिस्सा गुमाउने छैन।’
प्रमुख कार्यकारी अधिकृत एलिएट हिलको रणनीति अनुसार खेलकुद केन्द्रित नवप्रवर्तन र लक्षित मार्केटिङमा केन्द्रित भएपछि सकारात्मक परिणाम देखिन थालेको छ। लामो समय कमजोर देखिएको रनिङ वर्गमा चौथो त्रैमासिकमा सुधार देखिएको छ।
द्रुत रूपमा बढिरहेको रनिङ बजारमा हिस्सा गुमाएपछि नाइकीले पेगासस र भोमेरो जस्ता जुत्तामा लगानी बढाएको छ भने एयर फोर्स १ जस्ता परम्परागत स्निकरको उत्पादन घटाएको छ।
सिटीकी विश्लेषक मोनिक पोलार्डले भनिन्, ‘नाइकीको रनिङ उत्पादक वर्ग बलियो बनेको छ। नयाँ रनिङ्ग जुत्ता र खेल सामग्रीहरूले क्लासिक स्निकरहरूको बिक्री घटेको असरलाई क्षतिपूर्ति गर्न सक्छ।’
गत वर्षको तुलनामा कम्पनीको मार्केटिङ खर्च १५ प्रतिशतले बढेको छ। कम्पनीले गत बिहीबार आफ्नो प्रायोजित खेलाडी फेथ किप्येगनलाई चार मिनेटभन्दा कम समयमा एक माइल दौडने प्रयास गराउँदै कार्यक्रम आयोजना गरेको थियो। पेरिस रंगशालाबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा उनले लक्ष्य पूरा गर्न नसके पनि नयाँ अपचारिक कीर्तिमान बनाएकी थिइन्।
नाइकीले पहिलो त्रैमासिकको आम्दानी ‘मिड–सिंगल डिजिट’ले घट्ने पूर्वानुमान गरेको छ, जुन विश्लेषकहरूले अनुमान गरेको ७.३ प्रतिशतको गिरावटभन्दा कम हो।
कम्पनीको चौथो त्रैमासिक बिक्री १२ प्रतिशतले घटेर ११.१० अर्ब डलर पुगेको छ, जुन विश्लेषकहरूले अनुमान गरेको १४.९ प्रतिशतको गिरावटभन्दा राम्रो हो।
चीन बजारमा भने कम्पनी अझै चुनौती झेलिरहेको छ। त्यहाँको कमजोर आर्थिक अवस्था र तीव्र प्रतिस्पर्धाका कारण सुधारमा समय लाग्ने कम्पनीले जनाएको छ। सन् २०२४ मेको अन्त्यसम्म नाइकीको कुल भण्डारण रकम ७.५ अर्ब डलरमा स्थिर रहेको छ। अनुवाद गरिएकाे