काठमाडौं । उत्पादनमूलक उद्योगलाई दिइने कर छुटको प्रावधानको दुरुपयोग गर्दै हिमालयन डिस्ट्रीलरीले आयकरमा कर छुट लिएको खुलासा भएको छ। महालेखापरीक्षकको ६२औं प्रतिवेदनले दिएको विवरण अनुसार, धितोपत्र बजारमा सूचीकृत उक्त कम्पनीले गैरकानुनी रूपमा कर छुट पाएको पाइएको हो।
आयकर ऐन, २०५८ को दफा ११(३छ) अनुसार, धितोपत्र बजारमा सूचीकृत उत्पादनमूलक उद्योगलाई १५ प्रतिशत कर छुट हुने व्यवस्था छ। तर, औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २४ अनुसार, रक्सी, वाइन, साइडर लगायतका मदिराजन्य उद्योगहरूलाई यस्तो कर छुट दिन नपाइने स्पष्ट प्रावधान छ।
तर महालेखापरीक्षकको प्रतिवेदनअनुसार, एक मदिरा उद्योगले २०७९/८० सम्मका चार आर्थिक वर्षमा करयोग्य आय ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढी देखाउँदै २५.५ प्रतिशत कर दर अनुसार कर गणना गरेको थियो। यसमा ४.५ प्रतिशत छुट गरी २३ करोड ८ लाख ९८ हजार बराबरको कर छुट लिईएको देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयले यो कर छुट कानुनअनुसार नपाउने भएपनि दिइएकाले छानबिन गर्नुपर्ने ठहर गरेको छ। साथै, छुट दिइएको रकमको असुली गर्नुपर्ने र जिम्मेवार निकायको स्पष्टोक्ति मागिनुपर्ने सुझावसमेत प्रतिवेदनमा उल्लेख छ।