काठमाडौं । एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा मागभन्दा १.४८ गुणा बढी आवेदन परेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले योजना व्यवस्थापक र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा संचालन गरेको सो स्किमअन्तर्गत १० रुपैयाँ अंकित दरका ५ करोड इकाई (५० करोड रुपैयाँ बराबर) २०८२ भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन गरिएको थियो । सो अवधिमा बीज पूँजीसहित ८२ हजार ८२८ जनाले ७४ करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको इकाई खरिदका लागि आवेदन दिएका हुन् ।
यस आधारमा पहिलो चरणमा माग गरिएको इकाईभन्दा १.४८ गुणा बढी आवेदन परेको कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डले स्किमको अधिकतम आकार बीज पूँजीसहित १ अर्ब बराबरका १० करोड इकाईसम्म स्वीकृति दिएकाले आवेदन दिनेको मागअनुसार इकाई बाँडफाँड हुने कम्पनीले जानकारी गराएको छ ।
एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित दोस्रो खुलामुखी योजना हो । कम्पनीले लगानीकर्ता, आवेदक, शुभेच्छुक, धितोपत्र बोर्ड, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थालगायत सम्पूर्ण सम्बन्धित निकायलाई धन्यवाद व्यक्त गरेको छ ।