काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५ हजार ६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । बुधबार सूचना जारी गर्दै प्राधिकरणले अर्धजलाशययुक्त (आरओर) र बहावमा आधारित आयोजना (पीआरओआर)लाई पीपीए प्रक्रिया अघि बढाउन आह्वान गरेको हो।
यस अन्तर्गत १ हजार ८ सय ५९ मेगावाट आरओआर र ३ हजार १ सय ७ मेगावाट पीआरओआर आयोजनाको पीपीए गरिनेछ। ग्रिड कनेक्सन एग्रिमेन्ट भएका तर पीपीए नभएका १० मेगावाटभन्दा माथिका आयोजनाहरूलाई ३० दिनभित्र विवरणसहित आवेदन दिन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले १२ चैत २०८१ मा बसेको संचालक समितिको बैठक अनुसार, सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट उत्पादन लक्ष्य राखिएको ऊर्जा विकास मार्गचित्र कार्यान्वयन गर्न पीपीए खुला गर्ने निर्णय गरेको हो।
हालसम्म १० हजार ३ सय १ मेगावाट क्षमताका आयोजनाहरूको पीपीए भइसकेको छ। तीमध्ये २ हजार ४ सय ६ मेगावाट उत्पादनमा छन्, ३ हजार ९ सय ६ मेगावाट निर्माणाधीन छन् भने ३ हजार ८ सय ९९ मेगावाट आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा छन्।