Logo

तेलको मूल्य घटेको ९ दिनपछि काठमाडौंमा गाडीभाडा घट्यो, अब पहिलेभन्दा ५.९० प्रतिशत कम

तेलको मूल्य घटेको ९ दिनपछि काठमाडौंमा गाडीभाडा घट्यो, अब पहिलेभन्दा ५.९० प्रतिशत कम



काठमाडौं । बागमति प्रदेश सरकारले काठमाडौं उपत्यकामा र प्रदेशभरी चल्ने सार्वजनिक सवारीसाधनको भाडादर घटाएको छ । बागमति प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले तेलको मूल्य घटेको ९ दिनपछि अर्थात बिहीबार सार्वजनिक यातायातको भाडा घटाउने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादरमा ५.९० प्रतिशतले घटाएर यसको विवरण कानुन मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले बताए । उनका अनुसार काठमाडौं बाहिर चल्ने यात्रुबाहक सार्वजनिक सवारीसाधनको भाडादर ४.१८ प्रतिशतले र ढुवानीका सामग्रीको भाडादर ५.६९ प्रतिशतले घटाईएको हो ।
यसको विवरण कानुन मन्त्रालयमा पठाईसकिएकाले आज रातिसम्म यसको सूचना प्रकाशन हुने र भोलीदेखि नै लागु हुने उनले बताए । नेपाल आयल निगमले अघिल्लो हप्ताको मंगलबार अर्थात जेठ २ गते डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाले घटाएर १ सय ५५ रुपैयाँ पुर्याएको थियो ।

सोही अनुसार प्रदेश सरकारले तेलको मूल्य घटेसँगै त्यसको करिव ९ दिनपछि मात्रै भाडादर घटाएको हो । तेलको मूल्य र गाडी भाडादर विश्लेषण गर्दा भाडादर समायोजन हुने यसपल्ट केहि समय लागेको प्रवक्ता पाठक बताउँछन् । अबका दिनमा भने तेलको मूल्य घटबढ भएको २४ घण्टाभित्रै गाडीभाडा पनि समायोजन हुने प्रणाली विकास गरिएको उनको भनाई छ ।

हालसम्म काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनहरुले ५ किलोमिटरसम्मको भाडादर २० रुपैयाँ १० किलोमिटरसम्मको २७, १५ किलोमिटरसम्मको ३२ रुपैयाँ लिँदै आएका छन् । यस्तै २० किलोमिटरसम्मको भाडा ३५ र २० किलोमिटरभन्दा माथिको गाडीभाडा ४० रुपैयाँ लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL