Logo

बीमामा हुलाक टिकट अनिवार्य गर्न ऐन परिमार्जन गरिँदै, रु. ५ करोडभन्दा बढी राजस्व उठाइने

बीमामा हुलाक टिकट अनिवार्य गर्न ऐन परिमार्जन गरिँदै, रु. ५ करोडभन्दा बढी राजस्व उठाइने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

सरकारले बीमामा हुलाक टिकट अनिवार्य गर्नका लागि ऐन नै संसोधनको तयारी गरेको छ । हाल ऐन संसोधनका लागि हुलाक सेवा विभागबाट सुचना तथा संचार मन्त्रालयमा पठाइएको हुलाक सेवा विभागका अधिकृत शिरिष उपाध्यायले बताए । ‘हाल हामीले बीमा पोलिसी तथा रसिदमा १० र २० रुपैयाँको टिकट अनिवार्य गर्न लागेका छौं,’ उनले भने, ‘मौजुदा ऐन अनुसार उक्त टिकटलाई अनिवार्य गर्न नमिल्ने भएकाले ऐन नै परिमार्जन गर्न लागिएको हो ।’

मौजुदा ऐन अनुसार बीमामा १ र २ रुपैयाँको टिकट टास्न पाइन्छ । तर, बीमा समितिले हुलाक सेवा विभागको अनुरोधमा २०७१ भदौ ४ गतेदेखि सम्बन्धित बीमा कम्पनीलाई अनिवार्य रुपमा १० र २० रुपैयाँको हुलाक टिकट टास्न सर्कुलर जारी गरेको थियो । समितिले जारी गरेको सर्कुलर र ऐनबीच मेला नखाँदा परिमार्जन गर्न लागिएको विभागले जानकारी दिएको छ ।

समितिले नगद भुक्तानी रसिदमा १० रुपैयाँ र १ लाख रुपैयाभन्दा बढी रकम भएको बीमा पोलिसी जारी गर्दा पोलिसीमा २० रुपैयाँको हुलाक टिकट टास्नका लागि सम्बन्धित बीमा कम्पनीलाई सर्कुलर जारी गरेको थियो । तर, ऐन वाधक बनेका कारण हाल उक्त व्यवस्था लागु भएको छैन । एने परिमार्जन भएर आउने वित्तिकै उक्त व्यवस्था लागु हुने विभागले जानकारी दिएको छ । नयाँ व्यवस्था लागु भएपछि एउटा बीमा पोलिसीमा ३० रुपैयाँको हुलाक टिकट अनिवार्य टास्नु पर्ने छ ।

केही समय अघि बीमा समितिले हुलाक सेवा विभागको अनुरोधमा बीमामा अनिवार्य ३० रुपैयाँको टिकट टास्नु सर्कुलर जारी गरेको भन्दै बीमा कम्पनीहरुले विरोध गरेका थिए । हाल ऐन नै संसोधन गरी नयाँ व्यवस्था लागु गरेर बीमा व्यवसायमा थप व्यवभार थुपार्न लागेको सम्बन्धित बीमा कम्पनीहरु बताउँछन् । सरकाले राजस्व उठाउने खेलमा बीमा पोलिसीमा बढी रकमको हुलाक टिकट टास्नु पर्ने व्यवस्था गर्दा बीमा कम्पनीका साथै बीमा गर्ने व्यक्तिलाई समेत मर्का पर्ने एक बीमा कम्पनीले बताएको छ । सरकारले ३० रुपैयाँको हुलाक टिकट अनिवार्य गरेर कर माथी कर थुपारेको उनीहरुको आरोप छ ।

बीमा समितिका अनुसार उसले जिवन र निर्जिवन बीमा गरी वार्षिक १८ लाखको हाराहारीमा बीमा पोलीसी जारी गर्दै आएको छ । यही तथ्याङकलाई आधार मान्ने हो भने पनि वार्षिक साढे ५ करोड रुपैयाँ बरावरको हुलाक टिकट बीमामा मात्रै लागु हुने छ । जसले बीमा कम्पनीका साथै बीमा गर्ने व्यक्तिलाई समेत ठूलो आर्थिक भार पर्न जानेछ । हाल वार्षिक २ करोड रुपैयाँ मात्र हुलाक टिकट विक्री भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL